कथा : मसरूम पिज्जा

~गरिमा लुइँटेल~Garima Luitel

मनको चिहानमा कति भेटिन्छन् यादका कङ्कालहरू। जलेको मनसँग कहिले जल्न नसकेका ढुसी परेका अनि माकुराले जालो बुनेका सपना र रहरहरूको अस्तु मनभरी सँगालेर बाँच्दै छिन् सविता। कहाँबाट सुरु गरुँ म उनको कहानी, त्यो कहानी जसको आरम्भमै अन्त्य थियो। कति पटक जीवनमा कति कुराहरूको सुरुवात नै अन्त्य हुने रहेछ अनि अन्त्य मात्रै अर्को सुरुवात।

सविता रुझेको शरीरबाट तप्प तप्प पानी चुहाउँदै सधैं दुक्लै बनेर आउने अनामनगरको उही पुरानो रेस्टुराँमा एक्लै छिरिन् आज। नियालिन् एक छेऊको चियरलाई। कोही व्यस्त थियो चुरोट फुक्न मै। बेवास्ता गरेर बसिन् अर्को कुनामा। न्याप्किनले भिजेको मुहार पुछ्दै वेटरलाई इसारा गरिन्, बोलाइन्। झस्किइन् तब, जब मुस्काउँदै उही पुरानै वेटरले सोध्यो, आज एक्लै? दाइ आउनु भएन? सविताले त्यसको उत्तर दिन चाहिनन् सायद, नसुने झँै गरेर भनिन,् एउटा मसरूम पिज्जा। वेटर अर्डर लिएर गयो।

छेऊको टेबलमा भर्खरै कसैले सकिन लागेको चुरोटको ठुटो एस्ट्रेमा झोसेर गएको छ। ‘साँच्चै यादहरूको तुवाँलो पनि त्यही चुरोटको धुवाँ जस्तै किन सधैं मनभरी फुङ्ग उडिराख्छ होला?’ यस्तै केही सोचिन् अनि त्यही कुर्सीतिर सरिन्। हो त्यो त्यही कुर्सी थियो– जहाँ उनी पहिलो भेटमा निमेशसँग बसेकी थिइन्। नाप्दै थिइन् त्यो कुर्सीमा दुई बनेर आएका दिनहरू र आज एक्लै अन्तिम अलबिदा छोडेर जाने दिनको दूरीलाई।

मौसम उही बर्षातको थियो, उनले लगाएको रातो सर्ट उही, झुप्प भिजेको कपाल उस्तै अब त कुर्सी पनि उही। सविता अतित सम्झेर मुसुक्क मुस्काइन्। त्यो मुस्कान उनको मुहारमा केही समयको पाहुना मात्रै भयो। पुनः निराश भइन् यो सम्झेर कि यसपाली त्योे कुर्सीमा उनी एक्लै थिइन्।
०००

महिनौँ दिन देखिको फेसबुक च्याट पछि एकदिन अनायासै निमेशले भेट्ने प्रस्ताव राखेको थियो। खोई मनको कुन तरङ्गले तानेर उनले त्यो प्रस्ताव स्वीकारेकी थिइन् कुन्नी ! जे होस् त्यही दिन पछि उनको जीवनले अर्को छुट्टै अध्याय तय गरेको रहेछ। कुन तोडले साउने झरीमा रुझ्दै पुगेकी थिइन् भर्चुअल मित्रतालाई वास्ताविकतासँग जोड्न उनी अनामनगर ! खैर एउटा नौलो चमक थियो उनको मुहारभरी सायद मनभरी पनि । औपचारिकता निर्वाह गर्दै के खान्छौ भनेर निमेशले गरेको प्रश्नको उत्तरमा हँस्यौली पाराले सविताले भनेकी थिइन् “तिम्रो मुस्कानको घुट्को पिएर झ्याप हुने रहर छ ।” त्यो रमाइलो ठट्टा कालान्तरमा उन्को जीवनको वास्तविकता बन्ने छ भन्ने कुराको अड्कलसम्म लगाएकी थिइनन् सविताले।
०००

टेबलमा अर्डर बमोजिमको एउटा पिज्जा आइपुग्यो स्मल साइजको। सविताले छोटो मुस्कान दिएर वेटरलाई बिदा दिइन्। उसको मुस्कानमा अब नआउनु है भन्ने कुराको भाव प्र्रष्टैै झल्किन्थ्यो। पिज्जा पनि उनको मन जस्तै डढेको रहेछ ! फरक यति हो पिज्जा डेढेर अलिअलि कालो देखिन्थ्यो उनको मन कहिल्यै कालो बनेन। नकारात्मक चिजमा पनि सकारात्मक चिजको खोजी गरेर स्वीकार्ने बानी जो थियो उनको।
०००

झरीले लत्पताएको गाजललाई साथमा रहेको सलले मिलाउन खोज्दै थिइन् सविता। निमेश उसको हरेक कृयाकलापलाई लुकेर नियाल्दै थियो। वेटर दुईवटा प्लेट लिएर टेबलमा आयो। दुबै प्लेटमा एक एक वटा स्मल साइज मसरूम पिज्जा। मनमनै खिन्न भइन् सविता कारण उनलाई मसरूम अनि पिज्जा कहिलै मन नपरेको चिज थियो। पहिलो भेट सवितालाई पनि इम्प्रेसन जमाउनु थियो, सँगै भोकले पनि आकुल भएकी थिइन्। खिस्स मुस्काइन् अनि खान सुरु गरिन् कहिलै मन नपरेको पिज्जा पनि। दिन ढल्दो थियो। खाजा खाइसकेर दुबै सँगै निस्किए।
त्यसपछिका दिनहरूले उनीहरूको मित्रतालाई झाङ्गिने नयाँ नयाँ बहाना दिन थाल्यो।

निमेशको बिहान सवितालाई मिस्कल दिएर सुरु हुन्थ्यो। सविताको निन्द्रा निमेशको मिस्कल रुपी अलार्मले मात्र खुल्थ्यो। अब दुबै निकै मिल्ने साथी भइसकेका थिए। सविता दिनभरीका हरेक घटनाहरू निमेशलाई बेलीबिस्तार लाएर सुनाउँथिन्। निमेश उस्तै चनाखो साथ सुनी दिन्थ्यो। सुख दुःखका कुराहरू दुबैले एकअर्कालाई बिना हिचकिचाहट सुनाउन थाले। दुबै एक असल मित्रको नमुना बनेका थिए।

भनिन्छ, एउटा केटा र एउटी केटी कहिल्यै पनि साथी मात्रै रहन सक्दैनन्। समय फेरिएपछि यही भनाइलाई चरितार्थ पार्दै आफैलाई पत्तै नदिई निमेशलाई प्रेम गर्न थालिछिन् सविताले। निमेशका हरेक शब्दहरूले सविताको मन छोएर भाग्न थाल्यो। कहिलेदेखि आफ्ना हरेक सपनाहरूमा निमेशलाई समावेश गर्न थालिछिन् उनले। यो कुराको खबर खुद सवितालाई नै थिएन। निमेशले झन् सुइँको पाउने कुरै भएन।

रात दिन सविता निमेशको कल्पनामा हराउन थालिन्। ससाना हँसीमजाकमा पनि सविता मनमनै खुसी हुने सिलसिला बढ्दै गयो। मनमै लड्डु फुटाउँदै बस्नु त चुलो नबाली दुध तात्छ भनेर ढुक्क हुनु जस्तै थियो। सान्दर्भिक समय कुर्नु थियो उनलाई। समय आएपछि बेलीबिस्तार लाएर सुनाइदिइन् आफ्नो मनका हरेक भावनाहरूलाई । निमेश अकमकिएर भनेको थियो, “सविता तिम्रो आकांक्षा किन यसरी बढेको हो? हामी त साथी मात्रै हैन र?” मनमा झिनो आशाको त्यान्द्रोलाई जीवन्त पार्दै प्रति उत्तरमा सविताले भन्ने गर्थिन्, “हिमालयन जाभामा सँगै कफी खाने रहरलाई पारपाचुके दिएर तिमीलाई हरेक बिहान बेड टि सर्भ गर्ने सपनाहरुसँग सम्बन्ध गाँस्नुलाई तिमी आकांक्षा बढेको सोच्छौ कि घटेको त्यो तिम्रो कुरा हो निमेश।”

सविताका यस्तै यस्तै वाक्यहरुले निमेशलाई हरेक पटक निशब्द बनाउने गरेको थियो। केही समय सवितालाई बेवास्ता गरे पनि सायद आफ्नै मनसँग सम्झौता गरेर स्वीकारेको थियो निमेशले सविताको प्रस्तावलाई पछि। ऊ आफैले बनाउन थालेको थियो सुन्दर भविष्यको नक्सा एकएक गर्दै।

जवानीको ओठमा लाली चढ्ने बेला भर्खरै सुरु भएको थियो। सविताका आमाबाबु निक्कै चिन्तित थिए उनको भविष्यको बारेमा। घरमा उनको बिहेको कुरो चल्न थाल्यो– ‘केटो सरकारी जागिरे अझ अफिसर नै रैछ, सुखसँग राख्छ ।’ सविताकी आमा यस्तै सोच्दै थिइन्। यता सविता कल्पनाको अर्कै संसारमा बेफिक्री डुल्दै थिइन्। आमाले एक्कासी बिहेको कुरा सविताको अघि राख्दा उनी छाँगाबाट खसे झैँ भएकी थिइन्। यता निमेशले ‘कहिले साथ छोड्दिन’ भनेर दिएको बाचाले उनलाइ बलियो बन्ने ऊर्जा दियो। आमाबाबुको हरेक दिनको ढिपीले विक्षिप्त बनाएको बेला निमेश प्रतिको अन्धो विश्वासले उनलाई परिवार सामु आफ्नो प्रेमको बारे खुलस्त पार्न करै लगायो। केही समय बिहेको तगारोबाट पन्छिने त्यो भन्दा उत्कृष्ट उपाय अरु केही भेटिनन् सविताले।

जब आमाले को के भनेर केरकार गर्न थालिन् तब सवितालाई घरको कुरा निमेशलाई सुनाउने आवश्यकता बोध भयो। उनी निक्कै उत्ताउली बनेकी थिइन् त्यो खबर निमेशलाई सुनाउन। घरी सोच्दै थिइन् ‘सिरियस भएर जान्छु, ऊ आत्तिन्छ अनि हाँस्दै सुनाउँछु, आमाले भेट्न खोज्नु भएको छ भनेर।’ घरी फेरि ‘हैन भेट्ने बित्तिकै अँगालो हाल्छु अनि मुस्कान मिसाएर भन्छु– निमेश, आमाले तिमीलाई बोलाउनु भएको छ।’ आफैसँग बात मार्दै अनामनगरको उही रेस्टुराँमा समय अगावै पुगेकी थिइन् सविता। उता समयले अर्कै खेल खेल्दैथियो सायद, निमेशको मनमा अर्कै खिचडी पाक्दै थियो। सविता बिहेको कुरा सुनाउन ब्याकुल थिइन् भने निमेश सम्बन्ध अघि बढ्न नसक्ने कुरा सुनाउन।

निमेश तोकिएको समय भन्दा निक्कै ढिलो आइपुग्यो। यसपाली सविताको मनमा क्रोध भन्दा ज्यादा प्रेम मिसिएको थियो। खुसीले मन भरिएको थियो। छचल्किदै थियो उनको नयनभरी। निमेश नजिक आयो अनि सँगै जिन्दगीको यात्रा तय गर्न नसक्ने कुरा सुनायो। भन्दै थियो “म उस्लाई छोड्न सक्दिन अब” त्यतिन्जेल सविताको आँखामा छचल्केको खुसीलाई आँसुले ओगटी सकेको थियो। कहानीमा निमेशको “ऊ” पात्र को प्रवेश त्यस्बेला भयो जस् बेला सविताको मनलाई अन्तिम सहारा निमेश मात्रै बाँकी छ भन्ने भ्रमले ओगटेको थियो। उस्को जीवनमा दोस्रो पात्र जिवित थियो भने सविताको अस्तित्वको अर्थ के थियो त? जुनबेला सवितालाई सबै भन्दा ज्यादा निमेशको साथको आवश्यकता थियो त्यही बेला निमेश हच्कियो आफूले दिएका सारा बाचाहरुलाई भुलेर। ऊ भित्र पुरानो प्रेमको अस्तु जल्नै बाँकी थ्यो भन्ने कुरामा कहिल्यै ध्यान दिन चाहिनन् सविताले। एक मन सविताप्रतिको प्रेमको भ्रूणलाई हुर्काउन खोज्दै थियो ऊ, अर्को मनमा पुरानो प्रेमको अस्तुले बल्न खोजेको प्रेमको दियोलाई निभाउन खोज्दै थियो।

अन्ततः निमेशले जल्न बाँकी अस्तुलाई मनभरी संगाली सवितालाई सम्बन्ध अन्त्य गर्ने निर्णय सुनायो। खुसीको खबर सुनाउन तम्सेकी सविताको परेली आँसुको दहमा चुर्लुम्मै डुबे। एकातिर परिवारको केरकार अर्कोतिर निमेशको घात ! सविता बिल्कुलै एक्ली बनेकी थिइन्। तब केबल आँसुका थोपा, निमेशले पूरा गर्न नसकेका बाचा अनि मनभित्र अमुर्त बनेका यादहरू मात्रै थिए सविताको साथमा।
०००

जिन्दगीमा कति यस्ता कुराहरु गरीन्छ जुन आफूलाई सहि लाग्छ तर आफू अलाबा अरुले त्यस्लाई गलतको पगरी भिराइ दिन्छ। हुन त प्रेम कसैको बशमा हुने कुरा त होइन तर आज लाग्छ सविताले निमेशलाई प्रेम गर्नु नै ऊ आफूले कहिल्यै नस्वीकारेको सबै भन्दा ठूलो गल्ती थियो अनि प्रेम गरीरहनु या नगर्न नसक्नु नै ऊ आफैले आफूलाई दिएको सजाय। निमेशलाई पत्तै नदिई उस्को जीवनबाट एकाएक टाढिनु उस्को बाध्यता या रहर जे भए पनि सायद उस्ले बिना कुनै गुनासो निमेशलाई दिएको माफी नै निमेशको सजाय थियो।

अचेल सविता तिनै गल्ली, रेस्टुराँ, अनि पार्कहरु चाहार्ने गर्छिन् जहाँ उनीहरुका पाइलाहरु कछुवाको चाल भन्दा धिमा गतिमा चल्थे कुनै बेला। नजरमा नजर मिसाएर बोलेको बखत दुबैलाई लाग्थ्यो त्यो पवन, वालमा झुन्डीएको घडी, फुरफुर हावाले हल्लाएको पात अनि अरु यस्तै चलिरहेका जीवनिर्जिव बस्तुहरु टक्क अडिउन्, चलुन् त केबल दुई धड्कन एक बनेर। सायद सविता छुट्टाउन खोज्दै छिन्, ती विगतहरुले उनलाई खुसी ज्यादा दियो या पीडा। कसैले सही भनेका रैछन्, अक्सर तिनैले रुवाउँछन् जस्ले हाँस्दा तिमी सुन्दर देखिन्छौ भनिदिन्छन्।
०००

सविता मगाएको स्मल साइज पिज्जाको अन्तिम टुक्रा चपाउन लाग्दै थिइन्। मैले अड्कल काँटे कुनै दिन अति वितृष्णा जाग्ने मसरूम पिज्जाको पनि पारखी बनेकी सविताले एक दिन सजिलै पिउनेछिन् निमेशले दिएका घात र चोटहरूलाई पनि। लाग्छ अन्त्यमा उनी निमेश भन्दा ज्यादा खुसी बन्नेछिन् किनकि उनले अरुको खुसी खोसेर आफ्ना खुसीहरुका जन्त जाने निर्णय कहिल्यै लिइनन्।
०००

पिज्जाको पैसा तिरेर उनी आफ्नो बाटो लागिन्। भित्र भने स्टेरियोमा बच्चु कैलाश गुन्जिँदै थिए–

“कहीँ गएर अल्मलिएर भुलेर बसुँला
कहिलेकाहीँ सम्झना आए रोएर टारुँला।
टाढा टाढा जानु छ साथी एकफेर हाँसी देऊ
छुटी सकेको मायालाई साथी एकफेर गाँसी देऊ।”

(स्रोत : Pahilopost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

1 Response to कथा : मसरूम पिज्जा

  1. निश्चिन्त says:

    ”मनको चिहानमा कत्ति भेटिन्छन् यादका कंकालहरु” पहिलो हरफ नै कति सुन्दर,कति बेजोड! कसैको लेखाइमा यस्तो जादु हुन्छ पत्थर पनि हिरा बन्छ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.