~संजीवन महर्जन~
के देश घाउ हो ?
के देश पीडा हो ?
होइन भने,
किन दुख्ने देश छातीमा ?
देश त मुस्कुराउनु पर्छ
रुमानी सपना जस्तै
अबोध बालकको खुसी जस्तै
तन्नेरी आँखाले साँचेको
सुदूर भविष्य जस्तै
आल्हादित मनले बाँचेको
आकाश छुने रहर जस्तै
एक मुठ्ठी माटो होइन देश
एक अञ्जुली पानी होइन देश
इतिहास होइन,
भूगोल होइन देश
संस्कृतिको विस्तार
र, धरोहरको निरन्तरता हो देश
पूर्खाको नासो
सन्ततीलाई हस्तान्तरण हो देश
खुसीको अविरल वाग्मती बगाउनुपर्छ
माटोलाई देश बनाउन
स्नेहको अटुट नाता जोगाउनुपर्छ
पानीलाई देश बनाउन
घर बिग्रेको छ भनेर
छिमेकीलाई सराप्नु हुन्न
संभावनाको उज्यालो छलेर
आँखामा देश रुनु हुन्न
प्रकाशित: भाद्र ३, २०७२
(स्रोत : Kantipur – Saptahik)