कथा : एक टुक्रा माया

~मिङ लिवाङ~Ming Liwang

निस्सासिएर मस्त निद्राबाट मालती ह्वात्त ब्युँझिई। पसीनाले उसको शरीर लुथ्रुक्क भिजेको थियो। आफूले लगाएको टिशर्टको बाहुलाले अनुहारका पसीना पुछेपछि हत्केलाले तरऽऽऽऽ चुहुदै गरेको घाँटीको पसीना पुछी। प्रायः सातवर्षपछि यसरी अँध्यारो कोठामा ऊ एक्लै सुतिरहेकी थिई। त्यसैले होला अँध्यारोमा कसैले घाँटी निमोठिदिएको जस्तै महसुस भयो उसलाई। उसको सास अझै स्वाँस्वाँ गर्दै चलिरहेको थियो। पलङ्को छेउमा भएको टेबलमा राखेको पानीको गिलास टिपेर उसले पानी स्वाट्ट पारी। पलङ्गमा अझ बस्नु असहनीय हुँदा ऊ पलङ्बाट उठी र खिड़की खोली। खिड़की खोलिनेबित्तिक्कै बाहिरको चिसो हावा पातलो पर्दालाई ठेल्दै भित्र पस्यो । हावाले उसको केशलाई हुरूरूरू उड़ाइदियो अनि हावासितै भित्र पसेको बाहिरको धमिलो प्रकाशले कोठालाई पहिलेभन्दा अलिकति बेसी प्रकाशमय बनायो। खिड़कीको दाहिने देब्रे दुवैपट्टिका पल्लालाई आफ्ना दुवै हातले अड़ाइराखेर केही बेरसम्म आँखा चिम्म गरेर उसले हावाको शीतलता उपभोग गरिरही।

केही बेर त्यसरी नै उभिरहेपछि उसको शरीरको उष्णता शनैः शनैः कम हुँदै गयो र ऊ बिस्तार सामान्य भई। सामान्य भएपछि आँखा खोली, बाहिर अँध्यारो थियो , टाढ़ा दोबाटोमा अवस्थित स्ट्रिटलाइटको सोडियम बल्बबाट निस्केको प्रकाश हुस्सेलाई चिर्दै धमिलो भएर कोठामा आइपुगेको थियो। कतै कतै एकदुईवटा घरमा बल्बको पहेँलो प्रकाश पिलपिलाइरहेका थिए। समय अड़कल लगाउने कोशिश गरी उसले सायद मध्यरात होला, तर ठिम्याउन सकिन। बेला बेला टाढ़ा कतै कुकुर रोएको अवाजबाहेक बाहिर चकमन्न छ – मनभित्रको एकाकीलाई अझ विषादपूर्ण बनाउने। अगस्टको महीना थियो पानीझरीको – बेला-बेला पारी क्षितिजमा बिजुली चम्किंदा झिलिक्क भएर एक क्षणको निम्ति डाँड़ाकाँड़ा जम्मै उज्यालो हुन्थ्यो , सायद पानी पर्छ होला। उसले आकासतिर हेरी , आकास बादलले ड्याम्म भरिएको छ केही देखिन्न। खिड़की बन्द गरे फेरि निस्सासिने डरले खिड़कीलाई त्यतिकै खुल्लै राखेर ऊ सोफामा ग्वाम्म बसी। शीतल हावाले शारीरिक उष्णतालाई कम गरिदिए तापनि मनको छटपटाहटलाई साम्य गराउन सकेको थिएन र उसलाई छटपट-छटपट लागिरह्यो। निकै वर्षपछि आज उसलाई सिगरेटको तलतल लाग्यो – सिगरेट खाऊँ-खाऊँ लाग्यो। पहिले पहिले यस्तो बेचैनी र मानसिक अस्थिरतामा उसले स्वार्र-स्वार्र सिगरेटको सर्काे तान्थी, कहिलेकाहिँ त रीसको झोंकमा एकैपल्ट दुइवटा सिगरेट सल्काएर तान्नेगर्थी। सिगरेटको धुवाँ दिमागमा पुग्दा उसलाई सञ्चो लाग्थ्यो। त्यो एउटा उमेर थियो निश्चिन्तता र निसङ्कोचको, जे गरे राम्रै गरे जस्तो लाग्थ्यो अनि कसैलाई आफ्नो क्रियाको जवाब दिनपर्ने बाध्यता पनि थिएन। समयसित सबै मेटिदै जान्छ अनि मेटिने निरन्तरतामा यहाँसम्म मेटिइ कि आफ्नो अस्तित्त्व नै मेटिसक्न लागेको पनि उसले चाल पाइन। मेटिने र त्याग्ने जिम्मा किन जहिले पनि आइमाईको भागमा पर्छ ? सहने र सास्ति पाउने काम के नारीको मात्र हो ? आँखाबाट निद्रा कोशौं टाढ़ा भागिसकेको छ। अब सायद सुत्नु सक्दैन होली…..र सोफामा टाउको अड़ाई। उसलाई जस्तै स्थितिमा पनि रूनु मन लाग्दैन…..डटेर सामना गर्नु मन लाग्छ उसलाई……विगत सम्झेर वर्तमान बिगार्नु त उसलाई झन् पटक्क राम्रो लाग्दैन….जे बित्यो त्यो सकियो जस्तो लाग्छ उसलाई। तर यस घड़ी किन हो उसलाई हिज अस्ति अनि त्योभन्दा उता उसले सम्झनाको भकारीबाट उहिलेनै फ्याँकिसकेका दिनहरू सम्झनु मन लाग्दैछ।

आजभन्दा पाँचदिनअघि ठूलो सुटकेश बोकेर ऊ एक्लै माइत आइपुग्दा आमाले आत्तिंदै सोधेकी थिइन् -’’ हन यो त एक्लै पो आई ! नातिनी पनि ल्याएन रहेछ ! ऐ ! के भयो ? जुवाइँसित झगड़ा गरेर आइस् कि क्या हो ?’’

’’ केही भएको छैन , पछि कुरा गरौंला ,-’’ बरण्डामा भएको कुर्सीमा थचक्क बस्दै उच्चाट स्वरमा भनी उसले -’’…..मेरो रूम त सफा गरिदिएकोछौ होइन !?’’

’’ तेरो खबर पाउने बित्तिक्कै सफा गराइदिएकीछु नि ! तर के भयो , भन् त……किन एक्लै आइस् !’’

’’ भने नि केही भएको छैन…..पछि कुरा गरौंला !’’

’’ औ बाउचैँ ! हेर त तिम्रो छोरीलाई के भयो !’’

बूढ़ो कर्नेल लट्ठी टेक्दै घरभित्रबाट निस्के। छोरीलाई केही सोध्न परेन, अनुभवी आँखाले एकै नजरमा सबै बुझे -’’ अब छोरीले भरै भन्छु भनेपछि भयो त भरै कुरा गर्नु….अहिले आराम गर्नुदेऊ , खाजासाजा देऊ…।’’ अनि मालतीतिर फर्केर भने -’’ जा मालु , नुहाइ-धुवाइ गरेर खाजा खा , भरै कुरा गरौंला।’’

मालती गएपछि कर्नेल बूढ़ोले भने -’’ तिमी कुरा नबुझी धेर कचकच गर्छौ…..छोरी पढ़ेलेखेकी समझदार टाठो छ…राम्रो नराम्रो छुटाउन सक्छ……कुरा केही भए भरै बसेर आरामले कुरा गरौंला….त्यसै पनि आजसम्म मैले हाम्रो एउटी छोरीलाई छोरा जस्तै गरेर पालें , कुनै कुरोमा छेकाबार लगाइन….जे गर्नु छ पुरै स्वतन्त्रता दिएँ…..मलाई पक्का विश्वास छ उसको फसेला गलत हुने छैन……फेरि भएन केही भइहाले मैले यति चल-अचल सम्पति थुपारिदिएको छु कि मेरी छोरी र नातिनीले जिन्दगीभरि बसी-बसी खाँदा पनि पुग्छ।’’ बूढ़ोको कुरो सुनेर आमाले प्रतिक्रिया गरिनन् , यति नै भनिन् -’’ सम्झाउनुको साटो छोरीलाई अझ बिगार है !’’

मालती आफ्नो कोठामा पुग्दा अघि नै उसको सुटकेश र ब्याग काम गर्ने केटोले त्यहाँ पुर्‍याइसकेको थियो। कोठालाई नियालेर हेरी उसले….झण्डै दस महीनापछि आएकी ऊ। गएको दशैंमा छोरी र मनिन्द्रसित ऊ आएकी थिई। कोठा अझै त्यस्तै छ – एक छेउ ठूलो ओछ्यान , सामुन्ने एउटा ठूलो खुला रेक , कुनामा काठका दुईवटा ठूलाठूला आलमारी , एउटा लामो सोफा , ड्रेसिङ्ग टेबल…..जस्तो पहिले छोड़ेर गएकी थिई अहिले पनि त्यस्तै। पहिले ऊ यहाँ हुँदा महीनामा एकपल्ट कोठाका जम्मै चीजबीज सारफेर गर्थी – यताका चीज उता अनि उताका चीज यता। ’ मलाई सधैं एकनासको कोठामा बसिरहँदा अटसपटस लाग्छ र चीजबीज सारिरहन्छु……चीजबीज सार्दा कोठा नयाँ भएको लाग्छ मलाई ,’-ऊ भन्थी। बिहेपछि पनि माइत आउँदा सबैभन्दा पहिले कोठाका चीजबीज सार्थी तर आज उसलाई ती चीजबीज सार्न त्यस्तो जाँगर चलेन। शरीर नथाके पनि मन कतै भित्र गलेको छ , थाकेको छ। आफूसित भएको डुप्लिकेट चाबीले आलमारी खोलेर आफ्ना ससाना चीजबीज त्यहाँ राखी अनि…….भित्रको सेल्फ खोली। त्योभित्र एउटा सानो डेकोरेटिभ घड़ी छ……रङ्गीन। घड़ीको अनुहारमा केही लेखिएको छ…………..समयको प्रवाहसित ती शब्द पनि धमिलिदै, मेटिदै गइरहेको छ…..’ फ्रम समवन हू लभ्स् यू भेरी मच्’। कुनै आत्मीय साथीले दिएको अमूल्य कोसेली त्यो घड़ी…..जसको सबै काँटा अचल छन्….एउटा समयमा आइपुगेर अगाड़ि बड़नु छोड़ेको छ , सायद त्यसको निम्ति समय त्यहीं थामिएको होला – मन खुसी हुँदा समय त्यहीं थामियोस् जस्तो लाग्छ अनि दुःखको समय सबैलाई चाँड़ै बितोस् त्यस्तै लाग्छ तर समयले कसैको कुरा मान्दैन , ऊ आफ्नै गतिमा अगाड़ि बढ़दै जान्छ कसैलाई नपर्खी कसैको पर्वाह नगरी। मालतीले घड़ीलाई उचाली , सुम्सुमाई अनि फेरि त्यहीं राखी। कति याद अमेट हुन्छ , समयले पनि त्यसलाई मेटाउन सक्दैन , छातीको कुनै कुनामा भुङ्ग्रो जस्तै सुसुप्त लुकिरहन्छ।

’’ ऐ ! मालती! नुहाइस् ? संगीताले खाजा तताइदिदै छ…..छिटो नुहाइहाल्।’’- आमाको चिच्याइले ऊ झसङ्ग भई। हतार-हतार तौलिया र फेर्ने लुगा लिएर बाथरूममा पसी ऊ।

बाथरूममा पसेर उसले शावरलाई पुरै खोली अनि…..निकै बेरसम्म पानीले आफ्नो शरीरलाई भिजाई निथ्रुक्क…..मानौ शरीरको उष्मालाई मात्र नभएर पानीले ऊ आफ्नो मानसिक उष्मालाई पनि चिस्याउन चाहन्छे। …..अनि शावरमुनि उभिएर उसले आफ्नो शरीरका सम्पूर्ण अङ्गलाई दली-दली पखाली…..कुनाकाप्चा खुब दली , जोड़ले दली…..विक्षिप्त पाराले…..सायद यहाँ मनिन्द्रले छोएको होला अनि यहाँ अनिरूद्धले मुसारेको होला…..सबै स्पर्शलाई पानीसित बगाउन चाहन्थी ऊ….सधैं सधैंका निम्ति!
’डवाङ्ग’……हावाको वेगले खिड़कीका दुवै पल्ला चौखुटमा ठोक्किएको अवाजले मालती तर्सिएर होशमा आई। हावाको गति अलि तीव्र भएछ…..मध्य- रातको बेला हावाको वेगको कारण उत्पन्न सुँइऽऽऽऽऽ आवाजले वातावरणलाई अझ भयावह बनाइरहेको थियो….अब सायद पानी पर्दैन होला। बंगालको खाड़ीमा निम्न चाप हुँदा पहाड़मा आँधी-बेहरी आउँछ….पानीभन्दा बेसी हावा चल्छ…..आज पनि त्यस्तै छ। कसैमाथि भएको क्रियाले किन अरू कसैलाई असर परेको होला…….मालतीको जीवनमा घटेको घटनाले मनिन्द्रलाई रन्कायो अनि मनिन्द्रको रन्काइले मालतीलाई यस्तो दोधारमा उभ्याइदिएको छ जहाँ उभिएर उसले आफ्नो सात वर्ष लामो विवाहित जीवनको विरूद्ध फसेला लिनु बाध्य भइरहेकी छ। हावाको वेगले खिड़की निरन्तर डवाङ्ग-डवाङ्ग डवाङ्ग-डवाङ्ग हुँदा ऊ उभिई र खिड़की बन्द गरी। बिहानको अझै पत्तो थिएन…..रात आफ्नो पूर्ण यौवनमा छ…..जाड़ो लागेको झैं अलि-अलि उसको जीउ काम्यो र उसले शाल टिपेर ओढ़ी। निद्रा आँखाबाट टाढ़ा भए पनि ऊ पलडमा गई र ढल्की। आफ्नो बिहेलाई सफल बनाउन गत सात वर्ष उसले आफ्नो जीवनबाट आफ्ना सपना , आफ्ना रहर र आफ्ना सम्पूर्ण बानीबेहोरालाई निमिट्यान्न गरेकी छ। एउटी आदर्श स्वास्नी , बुहारी र आमा हुने क्रममा उसले आफ्नो व्यक्तित्त्व नै लोप हुने संघारमा पर्‍याई। तर आइमाईको जीवन वर्तमानले मात्र बन्दैन रहेछ। त्यसदिन मनिन्द्रले उसको शरीरका एक-एक भाग छुँदै, औंलाउँदै चीत्कार र धिक्कार गरेको काण्डले ऊ अझै मनमनै एकतमासको आन्तरिक वेदनाले आघात हुन्छे। मनिन्द्रले उसको शरीरलाई औंलाउँदै भनेको थियेा -’ अनिरूद्धले यहाँ छोएको होला…….यहाँ मुसारेको होला…..यहाँ माया गरेको होला…..छि ! मलाई त तिम्रो शरीर देखेर घिन लाग्छ….तिम्रो यो जुठो शरीर !…छि !’ भनेर पक्की भित्तामा डवाङ्ग प्रहार गरेको थियो – त्यो प्रहारमा उसको वेवशीपन , उसको आक्रोश , उसको घृणा प्रतिविम्बित भइरहेको थियो। आइमाईको शरीर कुनै पुरूषले स्पर्श गर्दा , भोग्दा किन जूठो हुन्छ ? किन अशुद्ध हुन्छ ? उसले आजसम्म बुझ्न सकेकी छैन। के नारीको शरीरमाथि स्वयं नारीको कुनै हक छैन ? आफूले चाहे जसरी प्रयोग गर्ने अधिकार पनि छैन ? बिहे अघिको उसको र अनिरूद्धको सम्बन्धलाई ऊ कहिले भूल ठहराउन सक्दिन। त्यो सम्बन्धका निम्ति आज उसलाई आत्मग्लानि छैन अनि अपराधबोध पनि छैन। बिहेको बेला उसले आफ्नो वृतान्त अतीत भन्न चाहेकी थिई । तर आफ्नो उदारता देखाउँदै मनिन्द्रले त्यसबेला भनेको थियो ’ जुन दिनदेखि मैले मालतीलाई चिनें त्यही दिन यताकी मालतीलाई मात्र म सधैं जान्न चाहन्छु। सम्झ त्यसदिन उता मेरो निम्ति मालती नै थिइन…थिई भने मलाई त्यो मालतीसित सरोकार छैन……।’ त्यसदिन मालतीको खुसी दोब्बर भएको थियो।

अहिले हावाको वेगसित वर्षाको झरी पनि तीव्र भएको छ…….पानीका ठूला-ठूला थोप्ला बजारिएर झरेको अवाज स्पष्ट सुनिंदैछ……..छानाका च्यादरहरू उडेर दोबरिंदा उत्पन्न भइरहेको कर्‍याङ-कुरूङ शोरले आँधी-बेहरी ठूलै चलिरहेको अनुमान छ……..आँधी-बेहरी त उसको मनभित्र पनि चलिरहेको छ…थाम्न नसकिने….रोक्न नसकिने। मनिन्द्रसित भएको मुखामुखमा मनिन्द्रले भनेको थियो -’ नारी शरीरको पवित्रता र गरिमा पनि नबुझ्ने तिमी..नारी कहलाउने हक छैन तिम्रो…।’

xxxxxxxxxxxx

आधुनिक विचारधाराकी मालतीलाई नौकरी गर्नपर्ने त्यस्तो आवश्यकता छैन…..बाबुको सम्पतिमा अयस गरेर बस्न सक्छे ऊ। तर आफूले अर्जन गरेको शिक्षाको सदुपयोग गर्न चाहन्छे अनि संसार हेर्न चाहन्छे……बुझ्न चाहन्छे……चाख्न चाहन्छे। त्यसैकारण कलकत्ताको एउटा नामी कम्पनीमा काम पाउँदा उसले त्यो मौका गुमाउन चाहिन। पद निम्न र वेतन कम नै भए पनि मौका पाउँदा एकपल्ट घरबाट निस्केर परदेशको अनुभव बटुल्ने निर्णय लिई , त्यसै पनि उसलाई आफ्नो प्रतिभा र आत्मविश्वासमाथि भरोसा छ।

मध्य कलकत्ताको व्यस्त बजारमा उसको कम्पनीको कार्यालय छ….तर निवास भने उसले त्यहाँबाट बसको सफरमा झण्डै एक घण्टा लाग्ने बेलघरियामा पाएकी छ। लोकल बसको सफर पीड़ादायक छ….शारीरिकभन्दा मानसिक। शरीरबाट ह्वास्स पसीनाको दुर्गन्ध आउने लोग्ने मान्छेको माझमा प्रायः जसो उभिएर सफर गर्नपर्ने बाध्यता छ। यस्ता कतिजना लोग्ने मान्छे सज्जन भए पनि धेरजसो मौकाको फायदा उठाउने खालका हुन्छन्। जरूरी नहुँदा पनि आफ्ना शरीरलाई जबरदस्ती नारी शरीरसित टसाउँछन्…..घस्राउँछन्……कतिले त नजानेझैं गरी आफ्ना यौनाङ्गलाई धरि शरीरमै दलिदिन्छन्। यस्तो स्पर्शले उसलाई पोल्छ…..उसको मनलाई पोल्छ…..उसको स्वाभिमानलाई पोल्छ। तर चाहेर पनि ऊ सधैं ट्याक्सीमा सफर गर्न सक्दिन अनि एउटा निजी वाहन किन्ने अहिले उसको ल्याकत भएको छैन र लोकल बसमा सफर गर्न ऊ बाध्य छे।

कार्यालयका जम्मै सह-कर्मचारी सहयोगी छन्….सबैसित झ्यामिनु उसलाई त्यस्तो अप्ठयारो परेन…तर एक्ली त्यो पनि पहाड़की युवती ठानेर हो क्या रे कार्यालय अधीक्षक मिस्टर कमलेशले भने मौका पाउँदा उसको शरीर स्पर्श गर्दै ’ व्यक्तिगत र अफिसियल कतै केही प्रोब्लेम भए नहिचकिचाई मलाई भन्नु ल..!’ भन्दा उसले उसको त्यो व्यवहारमा निःस्वार्थ सहयोगको गन्धभन्दा कुटिलताको दुर्गन्ध बेसी पाउँथी – यति छुट्याउने विवेक त उसित छ।

’’ हेल्लो म्याडम ! म अनिरूद्ध….पीआरओ….भर्खरै सरूवा भएर यहाँ आएको।’’

’’ हेल्लो ! म मालती !’’ यो थियो अनिरूद्धसित उसको पहिलो भेट – सुन्दर , युवा अनिरूद्ध – उसको कम्पनीको जन-सम्पर्क अधिकारी।

पहिलो भेटको निकै दिनपछि ,एकदिन रेष्टुराँमा खाजा खाँदै गर्दा अनिरूद्धले भन्यो -’’ बसमा सफर गर्नु तिमीलाई अप्ठयारो लाग्छ भने म घरबाट आउँदा तिम्रो घरमा निस्किन्छु , तिमीलाई आपत्ति छैन भने तिमी मसित मेरो बाइकमा आउने-जाने गर !’’
मालतीलाई त्यति जाबो कुराको किन आपत्ति हुनु…..उसलाई अनिरूद्धको प्रस्ताव राम्रो लाग्यो…अर्को दिनदेखि ऊ अनिरूद्धको बाइकमा कार्यालय धाउन थाली। बाइकमा हावाले अस्तव्यस्त पारिदिएको केश लिएर कार्यालय पुग्दा मिस्टर कमलेशले कटाक्ष दिन्थ्यो -’’ अन्त मालती ! रातभरि मज्जा गर्‍यौ कि क्या हो…..केश कोर्ने फुर्सत पनि नपाएको जस्तै छ नि !’’

विवाहित अधबैंसे पुरूषहरूको मानसिकता उसलाई राम्ररी थाहा छ….नारीले अरू पुरूषसित सम्बन्ध गाँसे यिनीहरूको नजरमा त्यो नारी पातर्नी हुन्छ अनि……त्यही नारीले यिनै पुरूषसित हातेमालो गरे त्यही नारी चरित्रवान बन्छ…..संसारका जम्मै राम्री नारी जति आफ्नो पेवा ठान्छन् यीहरू….मिस्टर कमलेश जस्ता पुरूषलाई गालीले असर पार्दैन, गाली गरे उल्टै अझ खुसी हुन्छ तर यस्तालाई तह लगाउन ऊ राम्ररी जान्दछे र भन्छे -’’ सर ! दस मीनेटमा के मज्जा ! मज्जा त रातभरिमै त आउँछ……।’’ यो सुनेर मिस्टर कमलेशको मनभित्रबाट निस्केको सुस्केरा उसले सुन्न नसके पनि महसुस गर्नसक्छे, धूवाँ नदेखे पनि मिस्टर कमलेशको मन डढ़ेको उसले अड़कल लगाउन सक्छे। साँच्चै परिस्थितिले मानिसलाई निर्लज्ज र ठाड़े बनाउँछ।
समयको प्रवाह थामिदैंन……रातपछि दिन अनि फेरि दिनपछि रात….यो प्रवाह चलिरहन्छ…….आफ्नै गतिमा। सम्बन्ध बनिन्छ अनि समयसित सम्बन्धमा पनि न्यानोपन बड़्दै जान्छ…..सम्बन्धको सीमा विस्तार हुँदै जान्छ। त्यो दिन बिहान ऊ तयार हुन अलिक अबेर भएको थियो…..अनिरूद्ध बाइक लिएर समयमै आइपुग्यो……मालती बाथरूममा पसेर तयार हुँदै गर्दा अनिरूद्धले भन्यो -’’ मालती तिमी बित्थैमा यो कोठाको किराया तिरेर किन पैसा खर्च गर्छौ ! ……सल्टलेकमा म बसेको फ्लेट मेरो अंकलको हो….अंकल आफ्नो परिवारसित विदेशमा बस्छन्…..अझ पाँच-दस वर्ष यता आउने छाँट छैन….फ्लेट ठूलो छ , डवाङ्ग-डवाङ्गती खाली छ…..बरू तिमी त्यहीं आएर बस…..एउटा कोठामा तिमी बस्नु….हुन्छ ?’’
बाटामा आउँदै गर्दा अनिरूद्धले अघिको कुरा फेरि कोट्यायो -’ मैले अघि भनेको विषयमा तिमी के भन्छौ ?’’

’’ के ?’’ नबुझे जस्तै सोधी उसले।

’’ तिमी मेरो फ्लेटमै मूभ गर…एउटा कोठामा तिमी बस्नु….!’’

’’ मलाई सोच्नुदेउ !’’

’’ के सोच्नुपर्‍यो ! यसो छुट्टीको दिन सँगै दिन बिताउने मौका त पाउँछौ अनि सँगै अफिस आउनु-जानु पनि सजिलो हुन्छ।’’

’’ मैले भनें नि मलाई सोच्नुदेउ !’’

अनिरूद्धको फ्लेटमा ऊ सरेपछि उसलाई थुप्रै कुरो सजिलो भयो….यसै पनि किरायाको त्यो सानो कोठाभन्दा यो ठूलो फ्लेटको उसले ओगटेको कोठा निकै ठूलो छ। त्यसदिन अनिरूद्धको जन्मदिन थियो। उसलाई अनिरूद्धले ट्रिट दिएको थियो…..मल्टीप्लेक्समा सिनेमा हेरेपछि राम्रो रेष्टुराँमा खाना खाइवरी दुवै फ्लेटमा फर्किंदा रातीको झण्डै एघाह्र बजेको थियो। फ्लेटमा आइपुग्नेबित्तिक्कै मालती बाथरूम पसेर नुहाई। मिहिन स्लिपिङ ड्रेस लगाएर तौलियाले आफ्नो भिजेको केश पुछ्दै ऊ अनिरूद्ध भएको कोठामा आई। अनिरूद्धले फ्लोरमा एउटा मेट ओछ्याएर दुईवटा गिलासमा वाइन खनायो….अनि मालतीलाई मेटमा बस्नु उसले इशारा गर्‍यो। मालतीको छेउमा बस्दै उसले एउटा गिलास उसलाई दिंदै भन्यो -’’ फोर द रोड…..मेरो बर्थडेको यो अन्तिम बेश….फोर आवर ब्यूटिफूल रिलेसनशिप…!’’ अनि गिलासको वाइन सुरूप्प-सुरूप्प तान्यो।

’’ मालती ?’’

’’ हूँ !’’

’’ आज मज्जा आयो है !’’

’’ अँ !’’

’’ तिमीलाई हाम्रो यो सम्बन्धका निम्ति अपसोच त छैन होला नि ?’’

’’ सोच्नु हुँदैन अनि !……..धेरै सोचे मान्छे पागल हुन्छ….लाइफ् इज टू लिभ !’’- भन्दै मालतीले आफ्नो टाउको अनिरूद्धको छातीमा राखी। अनिरूद्धको औंला मालतीको भिजेको केशमा निकै बेरसम्म लड़ीबड़ी गरेपछि विस्तार तल झर्दै गाला सुम्सुमाउन पुग्यो….मालतीलाई अनिरूद्धको स्पर्शले बिस्तार-बिस्तार उन्मादित पारिरहेको थियो।

दुवैले त्यो रात त्यही मेटमा बिताए।

’ कुकुरी काँ ’ भालेको डाकले मालती झल्याँस्स ब्युँझिई । भुकभुके बिहानको कलिलो उज्यालोले परिपक्व रातको अँध्यारोलाई धपाउने अन्तिम प्रयास गरिरहेको छ। भित्तामा टाउको अड़ाएको कारणले उसको घाँटी कटक्क दुखिरहेको थियो र आफ्नो घाँटीलाई दाहिने-देब्रे तल-माथि घुमाएर हातले पछाड़िपट्टि बिस्तार दली र टाउको तन्काएर उसले खिड़कीबाट बाहिर हेर्ने कोशिश गरी……अहिले आँधी-बेहरी अलिक कम भएछ। उफानबाट सबै थोक फेरि तल झर्नपर्ने सायद प्राकृतिक नियम होला…..त्यसैकारण उदारताको चुलीमा रहेको मनिन्द्रको उप्रतिको माया पनि यस घड़ी तल झर्ने प्रक्रियामा छ र पहिले सबै थोक पाउने मालतीको मायामा अहिले खोट देख्दैछ….धोखा देख्दैछ….छल देख्दैछ। माया त अथाह हुन्छ…सीमाहीन….जति बाँड़्यो त्यति बड़्ने…जति दियो अझ त्यति थपिने। माया बन्धन होइन…..माया तगारो होइन……माया त उन्मुक्तता हुनुपर्छ….भरोसा र विश्वास हुनुपर्छ। कसको रहर हुँदैन कि कसैले उसलाई विश्वासको सगरसम्म माया गरोस्। तर मनिन्द्रको आक्रोशले उसको मनमा मालतीका निम्ति एक टुक्रा माया नरहेको प्रमाण गर्दा अभिमानी मालतीले तिरस्कृत महसुस गरेकी छ। यही तिरस्कारमा छटपटिंदै रातभरि अनिंदो रहेकी मालतीलाई यसबेला झपझप निन्द्राले चेप्यो र पातलो शालले शरीर छोप्दै केही पलका निम्ति सबै बिर्सेर ऊ कोल्टे परेर निदाउने कोशिश गर्नथाली।

XXXXXX

उसलाई रातभरि निद्रा लागेन…..अघिदेखि चलिरहेको आँधी-बेहरीले उसको मनको सन्तापलाई अझ वृद्धि गरिरहेको छ। आफ्नो कोठाको बाहिर अँध्यारो बार्दलीमा ऊ बसिरहेको छ। हावाको झोक्कासित बेलाबेला वर्षाको पानीले उसलाई रूझाउँदै भाग्छ। उसको एउटा हातमा ब्राण्डी छ अनि अर्कोमा सिगरेट। बाहिरभन्दा अझ वेगले उसको मनभित्र चलिरहेको आँधी-बेहरीलाई ब्राण्डीको मात र सिगरेटको धूवाँसित उड़ाउन चाहन्छ ऊ। आजभन्दा अघि मनिन्द्रले यस्तो मानसिक वेदना कहिले पाएको थिएन…..आज ऊ मनभित्रबाट तड़पिएको छ…..डढ़ेको छ…..आक्रोशित पनि छ। त्यसदिन बेलुकी मालतीको इमेल नपढ़ेको भए उसले अनिरूद्ध र मालतीको सम्बन्धबारे कहिले चाल पाउने थिएन। पढ़्दा-पढ़्दै केही काम परेर मालतीले खुल्लै छाड़ेर गएको कम्प्यूटरमा उसको कुनै पुरानो अन्तरङ्ग मित्रले पठाएको त्यो इमेल पढ़ेपछि कसैले अग्लो पहाड़बाट तल फ्याँकिदिएको जस्तै लागेको थियो उसलाई…..त्यो क्षण सम्झिंदा अहिले पनि ऊ दाह्रा किट्छ।

’ तिमीलाई आफ्नो करतुतको निम्ति अलिकता पनि लाज लाग्दैन ? ……आफूले गरेको त्यो कुकृत्यको निम्ति अलिकता पनि ग्लानि छैन ?’ त्यो राति ब्राण्डीको जोशमा उसले मालतीलाई इमेलको वृतान्त बताउँदै आफ्नो जम्मै रोष खनाएको थियो। सायद ऊ चाहन्थ्यो मालतीले ’ मलाई माफ गरिदिनुहोस् मैले ठूलो भूल गरेछु…..अनिरूद्ध जस्ता मान्छेसित सम्बन्ध गाँसेर मैले ठूलो पाप गरेकी रहेछु। ,’ भनोस् । हुनसक्छ यो उसको पौरूषेय अहम् थियो अथवा लोग्ने हुनुको अभिमान।

’’ किन ग्लानि हुनु ?…….मैले के पाप गरें ? के अपराध गरें र अपराधबोध हुनु….?’’

’’ यत्रो ठूलो भूल गरेर पनि तिमीलाई अलिकता लाज लाग्दैन ?’’

’’ मैले के भूल गरें ? लौ भन ! ….अनिरूद्ध मेरो त्यसबेलाको वर्तमान थियो…..मेरो जीवनमा तिमी आउनुअघिको कुरा हो यो….त्यसबेला म तिमीप्रति कटिबद्ध थिइन…..वचनबद्ध थिइन र त्यसबेला मैले जे गरें म त्यसलाई कदाचित् आफ्नो भूल मान्दै मान्दिनँ।’’

मालतीको शरीरतिर औंल्याउँदै मनिन्द्रले भन्यो -’’ अनिरूद्धले यहाँ छोएको होला…….यहाँ मुसारेको होला…..यहाँ माया गरेको होला…छि ! मलाई त तिम्रो शरीर देखेर घिन लाग्छ….तिम्रो यो जुठो शरीर !…छि !’’ अनि उसले पक्की भित्तामा डवाङ्ग प्रहार गर्‍यो – त्यो प्रहारमा उसको वेवशीपन , उसको आक्रोश , उसको घृणा प्रतिविम्बित भइरहेको थियो।

’’ नारी शरीरलाई कुनै पुरूषले छुँदा , भोग्दा किन जुठो हुन्छ ? म तिम्रो यो कुरा बुझ्दिनँ !’’- सात वर्षको आफ्नो त्याग र मायाको साटोमा मालतीले यही पाएकी छ – लाञ्छ्ना र दोष।

’’ तिमीले मलाई यो कुरा बताउनु पनि त सक्थ्यौ ? किन मदेखि तिमीले यो कुरा लुकायौ ?’’ मनिन्द्रको अवाजमा आक्रोश छ…..अहम् छ।

’’ मैले तिमीलाई भन्न खोजेकी थिएँ…..तर तिमीले ’ जुन दिनदेखि मैले मालतीलाई चिनें त्यही दिन यताकी मालतीलाई मात्र म सधैं जान्न चाहन्छु ‘ भनेको थियौ।“

’’ यत्रो ठूलो कुरा तिमीले मदेखि लुकायौ ?…….ठूलो छल गर्‍यौ मलाई…….धोखा दियौ……!’’

’’ मैले कसैलाई धोखा दिइनँ…तिमीसित बिहे गरेपछि म हाम्रो सम्बन्ध प्रति इमान्दार छु…..वफादार छु…..वचनबद्ध छु……अनिरूद्ध मेरो विगत हो तर तिमी मेरो वर्तमान…….मेरो मनमा मेरो आत्मामा यसबेला तिमी छौ ,मात्र तिमी…….तर म अनिरूद्धलाई मेरो जीवनको भूल मान्दिनँ….अहिले म तिमीलाई माया गर्छु , म तिमीसित छु बस यही सत्य हो।’’-आँसुलाई आँखाबाट बाहिर निस्किनु नदिनु कोशिश गर्दै मालतीले भनी।

’’ सम्बन्धको कुरा तिमी जस्तीलाई के थाहा….नारी शरीरको पवित्रता र गरिमा पनि नबुझ्ने तिमी…..नारी कहलाउने हक छैन तिम्रो…,-’’ अनि मनिन्द्रको मनबाट जम्मै कटुता शब्दको रूपमा बाहिर निस्कियो -’’ तिमीलाई कसैले छोएको…..भोगेको मेरो निम्ति असह्य हो..म सहन गर्नु सक्दिनँ..!’’

’’ मलाई थाहा थिएन हाम्रो मायाको आधार यति कमजोर छ भनेर….हाम्रो सम्बन्धको घड़ेरी यति फितुलो हावाले हल्लाउँछ भनेर मैले सोचेको थिइनँ….यस घड़ी मेरो मनमा तिमी छौ ,मात्र तिमी……यो कुरालाई अझ कुनै अर्को तरिकाले म प्रमाण गर्न सक्दिनँ। रह्यो सहने कुरा…..म मेरो अतीतलाई मेटाउन सक्दिनँ जे छ त्यो सधैं रहन्छ जबसम्म म छु…..त्यसैकारण त्यसलाई तिमीले सहनैपर्छ।’’

’’ कसरी सहनु ? तिमी भन म कसरी सहनु ? …..जसलाई म माया गर्छु उसलाई पहिले कसैले भोगेको थियो भन्ने कुरा म कसरी सहनु ?’’

’’ कसरी सहनु यो तिम्रो समस्या हो। सहनु सक्दैनौ भने ठीकै छ……भोलि म तिमीदेखि टाढ़ा जान्छु…..म तिम्रो छेउ नहुँदा…..तिम्रो साथ नहुँदा सायद तिमीले मेरो अतीतबाट मुक्ति पाउनेछौ।’’

अनि अर्को दिन बिहान छोरीलाई स्कूल पठाएपछि सुटकेश र ब्यागमा आफ्ना चीजबीज हालेर मालती माइत लागी।

(स्रोत : साहित्य संग्रहालय )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.