एउटा अनादी (भ्रमपुर्ण) अन्त्यक्रममा
पाषाण हुदैं गएको सम्वेदना
सहरका वस्तीहरुमा
अनौपचारीक-अनौपचारीक सम्वन्धहरु,
दशाब्दीयौं अघिदेखी
भियतनाम, नागाशाकी वा च्याम्बर हाउसहरुमा
हार्दै आएको उचाई बोकेर
कुनै फोहोरी रोगले ग्रस्त शरिरमा
जाबो प्राण छ खङ्ग्रङ्ग
मान्छेको ।
विसेक नहुने घाउहरु पाकेर
लच्याप्रै देशहरुको सिमान्त,
विकासको उचाई (भ्रमपुर्ण)को सिमान्त,
परालको कुन्यु खोतलेपछि
वाफिएर आउने ढुसीको गन्ध झैं,
अहम्,
न मरेको बेला,
न परेको बेला काम आउँछ
मान्छेको ।
माकुराको जालो मस्तिष्क
जेलिएर झिङ्गासंग अलमलिदैं झैं
कठोर र हिंस्रक प्रतिक्षा जीजीविषाको,
अविश्रान्त
समयका पाईलाहरु पछ्याईरहेछ हतार-हतार,
पहाड वगेर हरेक वर्षबाढीले गहीरिएको डण्डरे खोला जस्तो मानवियता
मान्छेको ।
मृतसागर-सगरमाथा,
सगरमाथा-मृतसागर,
चेतनाको एउटा शुन्यान्तर यात्रामा
ताराहरु गिलासमा चोपेर
आकाश पिएको सपना
र
सपनाहरुले खुजमुज्ज बाटोको मधुर उज्यालोमा
मर्नुभन्दा केहिदिन अगाडि मोडिन्छन् दर्शनहरु
मान्छेको ।
कठै !
झयाल ढोका अनि भित्ता र पर्खालहरुले छोपेर
कैयौंचोटी पशु बनेको,
अनि
कैयौंचोटी मासु बनेको
विश्वजनीन यात्रा
मान्छेको ।
(स्रोत : Satakosahitya)