सत्य कथा : म पापी बन्न चाहन्छु

~मीरा मन थापा~Mira Thapa Man

म गरिब हुँ भनेर मेरो कर्तब्यनिस्ट बा को स्वाभिमानमा लात हान्न चाहन्न ,मेरा बा ले २२ ठाउँ टालेको बाहिरैबाट अस्थिपन्जर छर्लंगै देखिने पोलिस्टरको शर्टमा कयौँ हिउँद बर्खा पछाडी हुत्याउदै आएका थिए ।
तर मलाई नयाँनाना र मिठोपापा सधै दिएका थिए मेरी आमाले एउटा तारामंडल देखिने टयार्लिंगको सारीमा धेरै दशैं तिहार बिताएकी थिइन त्यही सारीको थोत्रे फेर टाउकोमा बाँधी दिनरात एक गरेर मेला पातमा तर्तरी पसिनाका धारा बगाउदै कामगरे पनी हामीलाई कहिले बाहिर काम गर्न पठाईनन् ।

बचेखुचेंको समयमा बा आमाले हामीलाई राम्रो सस्कार दिएका थिए गरीब दुखि र असहायको सेवा गर्नुपर्छ भनेर सिकाएका थिए । बासँघारीमा फालिएको २ बर्षे अबोध बालक होश समाल्दा बाबुआमा हुदाहुदै पनी टुहुरा बनेका मेरा बा ले कालो अक्षर चिन्ने मौका नपाए पनी आफ्ना छोराछोरीलाई आफुले ज्याला मजदुरी गरेर भए पनी राम्रै सस्कार र शिक्षा दिन खोजेकै हुन ,नपढ्नु त हाम्रो गल्ति थियो यसमा बा को के दोष?.

****

पढाई सकियो पास पनी भइयो बा आमाको दुखको कमाई खेर गएन खुसियाली मनाइयो केहि दिनपछि यो खुसि आफसेआफ सेलाउँदै गयो मैले कर्तब्य भुलेको भान हुनथाल्यो ,घरमा खुसियाली मनाउदै बस्नलाई त हैन यो पढाई केहि त गर्नुपर्छ सोचे ! अनि निस्किए हातमा सर्टिफिकेट बोकेर धेरै ठाउँ धाए धेरैसँग हात जोडे धेरैको पाउ मोले आमाको पुरानो दुइमुखे थैली रित्याएर उन्को पसिना बेचेर धेरै लाई स्याउ सुन्तला कोच्याएँ मैले ,तर अह: केहि लागेन लुरुक्क परेर भिजेको मुसा जस्तोगरी हरेक साँझ घर फर्कन्थे ,निराशा पोतिएको निन्याउरो अनुहार लिएर ।

त्यति पाउ मैले मेरा बा आमाको मोल्न पाएकोभए सायद आधा पाप काटिन्थ्यो होला ! त्यति स्याउ सुन्तला खुवाउन पाएको भए फेरी तरकारी रोप्ने काम गर्ने बल भरिन्थ्यो होला । उफ !हारे मैले सबैसके भएको एकजोर हात्तीछाप पनि फटाएँ आमाको थैलीपनी फटाएँ अनि उनिहररूको सपना र आशा पनी दिनदिनै फटाउँदै थिए के गर्ने के नगर्ने केहि सोच्न सकेको थिइन मैले ।

फाल्गुनको महिना थियो घरै अगाडीको शिरिसको बोटबाट फुलहरू भुइँभरि पोखिएका थिए गर्मि अनि बेरोजगारीले थाकेको मन मस्तिष्क लिएर म त्यही गएर भुइँमा फालिए । शीतल पवन एकनाशले बहिरहेको थियो सिरिषका फुलहरू मेरो कपाल भरि झरिरहेका थिए म टोलाएर माथि हेर्दै सोच्थे सायद यसरी झर्नु नै पो जीन्दगी हो कि ……..!

घरको एक कुनामा बा ले धेरै पहिले २०० मा किनेर ल्याएको सेकेन्ड हेन्ड रेडियोको मधुर आवाज मेरो काममा गुन्जिरहेको थियो .त्यति ध्यान जान भने सकेको थिएन त्यतातिर। म टोलाईनै रहेकी थिए एकनाश …….अचानक सिरिषको सानोहाँगा मेरो टाउको फुटाउँला जस्तै गरी खस्यो म झसंग भए,उठेर घरतिर मोडिदै मात्र के थिए इजरायलको लागी २०० जनाको मागभै आएकोछ अन्तरबार्ता धमाधम चलिरहेकोछ भन्दै चिच्याई हाम्रो थोत्रे रेडियो भित्रकि एउटी सुरिलो स्वर भएकी केटि ।

p; मेरालागी यो खबर के खोज्छस कानो आँखो भने झैँ भयो मनमनै सोचे अब मेरा बा आमाको सपना साकार पार्ने बाटो यही हो ।साँझको खाना खाईसकेपछि मैले सबै जनालाई एक ठाउँमा बोलाएँ अनि रेडियोमा सुनेको कुरा भने र आफु पनी जाने सोच बनाएको कुरा गरे सबै जना लाटा ले पापा हेरे झैँ ट्वाल्ल …… बिस्तारै सम्झाए हरेक कुरा मेरो अल्प पढाईले यहाँ केहि नहुने रहेछ अगाडी पढ्नको लागी पैसा पनी त छैन ,अब यहि मात्र एउटा बाटो हो म के गरौ ? भने पछि सोचेर अगाडी बढ्ने सल्लाह पाए अनि लागे म काठमाण्डौं तिर नभन्दै २ महिना पछि जाने पक्का भयो दुख सुख ऋणपान गरी म उँडे एउटा मिठो सपना बोकेर सपनाको नगरी इजरायलतिर .(माथि भन्न खोजेको कुरा के भने म गरिबीको कारण भन्दा पनी बेरोजगारीको कारणले बिदेशिएकी थिए . …)|

_____संसारकै होचा मान्छे फल्ने ठाउँ हाम्रो नेपाल त्यहिँ फलेको एक होंचो नेपाली काँधमा आफु भन्दा ठुलो झोला बोकेर एजेन्सी (एफ्रात) को पछिपछि काम गर्ने ठाउँसम्म जाँदा हातीको छेउमा मुसा जस्तै भएको कुरा नभनौ होला ,डरत्राशले भयभित यी फुस्रा गाला रातो लाली लगाए भन्दा कम थिएनन ,,घाँटी सुकेर बोली नै नआउने भएकी यो बबुरीको अनुहार साच्चै नै हेर्न लाएक बनेको थियो त्यो बेला ।

काम गर्ने ठाउँमा पुग्यौँ,गाउँमा आमाले फलाउने ढिंडे खोर्सानी मात्र देखेकी यो बिचरीले यहाँ त आफ्नो टाउका जत्रा ढिंडे खुर्शानी जस्तै कुन्नि के जाति पकाउदै रहेछन गाइको खोले जस्तै मगमग बास्ना आएको थियो बाहिर बाटै बान्ता आउला जस्तै भएको थियो मलाई त्यो मिठो गन्ध मेरा नाकका पोरामा यति मज्जाले बस्यो कि आज ६ बर्ष भैसक्यो त्यसको गन्ध हराएको छैन खान त परै राखौ ,,चामलमा जन्मी चामल मै हुर्केको चामल खाई चामल नै कुन्नि के जाति गर्ने मुसो डल्ले खोर्सानी(गाम्बा ) को खोले र लेखेम (पाउरोटि)को भकारीमा पसे पछि जम्मा ४२ केजीको संरचना स्वात्तै घटेर ३५ केजीमा पुग्दा खित्का छोडेर हाँस्न मन लाग्थ्यो मलाई । कयौं रात नहाँसेको पनी कहाँ हो र ।

गाउँका मास्टर बा ले स्कुलजाने लुगा सिलाउन जाँदा तेरो कम्मर त २७ को रहेछ नानी भन्थे त्यसकी मा ले खुर्सानीको खोले र पाउरोटी खुवाएर जम्मा २४ को कम्मरमा झारिदिदा यो ज्याँन मोटाएर फुट्ला जस्तो भएको थियो २ पट्टी पिन्सियो बिना जांगे अडिनै छोड्नेगरी मोटाएको बेला १२ घण्टा मेशिन जस्तो काम गर्नु पर्दाको कथा के सुनाउ र सम्झना साथ आँखाबाट कुन्नि के के चुहिएला जस्तो हुन्छ । २ मिनेट शौचालय जाँदा बेल (घन्टी)बज्थ्यो काम केहि नभएर शौचालयमा आराम गर्न गएको भन्ने भान हुन्थ्यो कि कुन्नि खाली बोतलका बिर्का र धाराका टुटी घोट्न लगाउने ब्रिटिशनी बजुको के कुरा गर्नु उ बेलामा नेपालमा ब्रिटिशले साशन गरेको कथा सुनाउदै म माथि शासन चलाउनु त तिनको दैनिकी थियो ।

दिनभर बर्खामा जोतेको गोरु जस्तो लथ्रक्क थाकेको ज्यानले १ बर्ष अगाडी पकाएर आइसमा राखेको मोटा चामलको भात ओभनमा तताएर तरकारी बिना नै खानुको मज्जा बेग्लै हुन्थ्यो घाँटी बाट तल झार्न नसक्नु त मेरो दुर्भाग्य थियो खाना त दिएकै हो नी । मर्नु र बाच्नुको दोभानमा टक्क अडिएको थिए म मुटुले काम गर्ने छोडिसकेको थियो स्वाश ठप्प हुन थालेको थियो पुरै शरिर तातो भुंग्रो बन्दै थियो १ महिना ओछ्यान मै लडायो दबाई औसधि त त्यस्तै हो पेट भरि खाना पाएको भए सायद बाच्ने आशा पलाउथियो होला फालिए एक निरिह पशु झैँ बनेर अपार्टको एक कुनामा ।
न कोही साथी न कोही आफन्त न तातोपानि न चिसो साथी ,भगवानलाई पनि मन नपरेको मान्छे म त नभए उठाई हाल्थे नी त्यही बेला । अह त्यसो भएन बिरामी भएर लड्नु पर्दाको पीडा अनि साहुको ऋणको पीडा सबैले मलाई खाउला झैँ गरी हेर्थे म ओछ्यान मै डराउथे र अर्को पाटो फर्कन्थे धेरै बेर लगाएर ,बा आमाको सपना त फिलिंगो बनी उडिरहेको थियो आकाशमा म ट्वाल्ल परेर हेरिरहेको हुन्थे , अभागी को एक सहारा बनेर आइन एक अभागी साथी मेरो जिवनमा आमाको ममता बा को कर्तब्य साथीको सहयोग सबै बोकेर हो उन्को सहारामा मैले फेरी बिस्तारै अर्को जन्म पाए यदी उनि नआएकी भए सायद यो ज्यान मकाई सक्ने थियो होला अहिले सम्म हरेक रात बा आमाको सपना अनि आफ्नो सपना र कर्तब्य उडेको देख्दा मन पागल भै सकेको थिए कन्ट्रोल गर्न चाहन्थे शरिर काटेर रगत बगाउथे जस बाट केहि राहत महसुस गर्थे जब उनि मेरो जिबनमा आमा बनेर आइन मैले बाच्ने हिम्मत जुटाउन पुगे धन्य भगवान म बाँचे ।

****

काम त गर्नुपर्यो अब साहुले बा को झुप्रोघरमा धावा बोल्ने बेला भएको थियो । अलि आराम भएको थियो ज्यानलाई कामको खोजिमा निस्के म| काम पाएँ पहिले भन्दा अलि सजिलै थियो ठुलो बजारको बिचमा या भनौ चौबाटोमा आउने जाने सबै सँग भेटघाट हुने ठाउँ, बिस्तारै बिराम पनी ठिक हुदैगयो साथीभाईहरू सँग पनी चिनजान हुदैथियो रमाइलो गरी बित्नथाले दिनहरू चौबाटोमा भएको कारण ले सबैलाई सहयोग गर्न पाएकोमा दङ्ग थिए कसैका बाजे बजु भुइँ भरि पोखिन्थे ओछ्यान मै तिरिरिंग मोबाइलको घन्टी बज्थियो लौ न शारिका मलाई सहयोग चाहियो ,म त्यहाँ पुग्थे आखा मिच्दै फेरी घन्टी बज्थ्यो तिरिंग तिरिंग लौ न शारिका मलाई नेपाल फोन गर्नु पर्यो कार्ड चाहियो .हस हुन्छ फेरी बज्थ्यो घन्टी लौ न मलाई आपद पर्यो त्यहाँ पर गएर फलानो सँग यस्तो काम गरेर आइदेउ न हस !

कसैलाई जग्गा किन्नु पर्यो घर बनाउनु पर्यो लौ न शारिका पैसा चाहियो ..हस ! कसैलाई आज छुट्टि मनाउने ठाउँ छैन पार् मा अलपत्र परेकाछन भोक भोकै शारिकाले उठाएर ल्याई साहुबाट लुकाएर कोठामा राखी खाना बनाई खुवाई जसले जे फर्माइस गर्छ त्यो पुराई कसैलाई घरमा खाना छैन पोको पारेर घर फर्कन लागेकी छोरी झैँ कोशेली संगै पठाई .फेरी फोन बज्थ्यो फलानाले त खानाखानै पाउदैन रे त्यसको लागी खाना बनायो लग्यो लुकाएर खुवायो अनि फर्कियो कसैको काम छैन रे बिचरा अपार्टमा खान पैसा छैन रे दिई शरिकाले २ पैसा सारा गरी के गरिन र हरेकदिन एक न एक सेवा गरी नै रही किन की दुख र भोकमारी लाई नजिकबाट देखेकी थिई उसले अनुभब गरेको थिई त्यही दुख पाएको मान्छेले त बुज्छनी सबैको दुख आफनै सम्झने त्यहीहो जसको बेस (आधार )दुखेको थियो .

कुनै एकदिन शारिकाले एक्लै खाना खाईन आफ्नो भागबाट छुटाएर कसै न कसैलाई खुवाएकै हुन्थि त्यो थिई शारिका मात्र शारिका तर एकदिन शरिकाले गल्ति गरी पार्कमा यता न् उता भएर एक्लै छटपटाई रहेकी साथीलाई भेटेर माया गरी काम गर्ने घरमा ल्याएर खाना बनाएर खुवाई आराम गर्न दिई हरेक हप्ता उसलाई यसरी नै आश्रय दिन थाली तर एकदिन ती साथीले मेरो सहयोगको बदलामा चोरीको श्रीपेच शिरमा पहिराएर गईन धन्य भए सहयोगको फल पाएर ।

एउटा भाई थियो नेपालबाट भर्खर आएको मैले जस्तै बिहान १ टुक्रा र बेलुका १ टुक्रा पाउरोरीको भरमा उसले काम गर्नु पर्दथ्यो । एकदिन बाहिर निस्केको बेला हाम्रो भेटभयो दुखसुखका कुरा भए घर-परिवार र काम का कुरा अनि यसै शिलशिलामा उनले खाना खान नपाउने बताए पछि मैले खाना ल्याएर खुवाए खुसि भए भोलि देखि मैले उन्को लागी खाना बनाउने बचन दिए समय मिलाएर निस्कन्थे उनि अनि हामी २ जना बाटोमै बस्थ्यौ उनि खाना खान्थे रहर लाग्ने गरी धेरै दिनको भोको झैँ मलाई उनले यसरी खाएको देख्दा धेरै खुसि लाग्थ्यो आत्म सन्तुस्टी मिल्थ्यो मलाई एवंरीतले दिनहरु बित्दैथिए एकदिन बिहानै अचानक मोबाइल बज्यो >तिनै भाई बोल्दै थिए मेरो बाजे त सकिए अब म यहाँ बाट जानुपर्छ ,भन्दैथिए यहाँको सहयोगको लागी धेरै धन्यबाद यहाँको ऋणी रहनेछु जिबनभर जाँदा जाँदै एउटा कुरा भन्न मन लागेको थियो केहि दिन देखि भन्नै सकेको छैन……

मैले भने भनन के हो त्यस्तो कुरा उनि अप्ठ्यारो मान्दै मान्दै भन्न थाले >शारिका ! मेरो नजिकै एक जना दिदिले काम गर्नुहुन्छ भर्खर नेपा बाट आउनु भएको उहाँ लाई त खान नै दिदैन रे मालिकले सक्नु हुन्छ भने सहयोग गर्नु न है मैले ठुलो आशा राखेकोछु तपाई माथि मैले पनी हिजो मात्र भेटेको त्यो दिदि लाई बिचरा कती रूनुभयो भने । मैले ठिकै छ नी मैले सक्ने सहयोग गरिहाल्छु नी भने र उहाँ को नम्बर लिएर फोन गरे चिनजान गरे फोन मै रुनु भयो उहा मलाई आमा बा भेटे जस्तो भयो भन्नु भयो म पनी खुसि भए आमा समान दिदी पाएर ,।

शर्मिला (नाम परिबर्तन ) दिदी म जस्तै भएकी थिइन घरको सम्झना कामको बोझ भाषाको समस्या अनि खानपिनको राम्रो व्यवस्था नभएकोले उनि दिनदिनै कमजोर बन्दै गएकी थिइन भोलि बाट खाना ल्याइदिने बाचा गरे मैले सान्तवना दिए अरु त के नै गर्न सक्थें र हुने सम्म सक्ने सम्म सहयोग गर्ने बचन दिए यसै अनुरुप भोलि पल्ट देखि म हरेक दिन उसको लागी खाना बनाएर लिएर जना थाले मलाई भेट्दा भगवान हौ मेरो लागी तिमी भन्दै अँगालो हालेर नरोएको कुनै दिन थिएन म सम्झाउने गर्थे उनि लाई सब ठिक हुन्छ चिन्ता नगर्नुस भन्दै ।

मेरो सानो सहयोगले उनि कती खुसि थिइन यो देख्दा म पनी खुसि हुन्थे बा आमाको शिक्षा र सस्कारलाई भित्रभित्रै सम्मान गर्थे आज कोही मेरो कारणले खुसिछ तर यसको श्रेय बा आमा लाई जान्थ्यो किनकि मलाई दुखिको आशु पुछ्नुपर्छ भन्नेकुरा बा आमाले नासिकाउँदा हुन त आज कसैको अँगालो हालेर रूने साथी कहाँ बन्थें होला र ?अरु जस्तै स्वार्थी बनेर सुनेको नसुनै देखेको नदेखै गर्थे होला म पनी ।

****

म उनलाई फोन गरेर सोधिरहन्थे सन्चो बिसन्चो दिनमा एकचोटी भेटघाट हुन्थ्यो उनि धेरै खुशी भएकी थिइन मलाई भेट्दा परिवारको सदस्य भेटे जस्तो हुन्थ्यो रे उनलाई म पनी नजिक भएर कुरा गर्थे हरेक कुरामा सहयोग गर्थे उनि खुसि हुँदा मलाई पनी उनका काममा सहयोग गर्ने जागर चल्थ्यो ।

यसै गरी करिब ३ हप्ता चल्यो दिनहरू एकनाशले बितिरहेका थिए ।एकदिन बिहान ६ बजेको थियो म ओछ्यानमै थिए फोनको घन्टीले मलाई बिउँझ्यायो आवाज थियो उही दिदीको >शारिका म बिरामी परे मलाई हेल्थ पोस्ट सम्म जान सहगोग गरन मलाई बोल्न पनी आउदैन ,मैले हस आउनुसन म लिएर जान्छु भने । हतार हतार गरेर एक अँजुली पानिले मुख पखालेर म हेल्थपोस्ट पुंगे उनको चेकजाँच गराइयो पाठेघरमा समस्या देखियो त्यसपछि रगत दिशापिसाब आदि चेक गर्न फरक फरक मितिमा बोलाईयो म संधै संगै जान्थे उनलाई लिएर ।

उनको पहिले नेपालमा हुँदा नै अप्रेसन गरेको रहेछ फेरी त्यही ठाउँमा मासु पलाएको कारणले पुनः अप्रेशन गर्नुपर्ने कुरा भयो त्यसो भएकोले उनि कामबाट १ महिनाको बिदामा निस्किन त्यो बेलामा हाम्रो भेटघाट भएन फोनमा भने कहिले काहिँ कुरा हुन्थ्यो अप्रेशन गरियो फेरी बल्झियो फेरी गरियो फेरी बल्झियो कस्तो दुर्भाग्य उनको या मेरो पटक पटक को अप्रेशन ले पनि केहि भएन अन्तत:उनि नेपाल फर्कने भईन दोश जति मलाई दिएर मैले खाना नखुवाएको भए त्यस्तो हुन्न थियोरे मेरो खानाको असर रे कस्तो प्रतिफल हो यो एउटा मानबिय सहगोगको यस्तो फल पाएर म छक्क मात्र परिन तिन छक्क परे केहि बोल्नै सकिन छाँगाबाट खसेझैँ भए बिरामी मान्छे भनेर मैले केहि भनिन आफै लाई धिकार्दै बस्नु बाहेक अरु के नै गर्न सक्थे र भित्रभित्रै मन रोयो धन्यबाद स्वरुप मैले आज यो बिडम्बना उपहार पाएको थिए ।

मैले पिरो खाना खुवाए रे अनि पो त्यसो भएको रे अचम्म लाग्ने दोष पाए हुन त उनि नेपालबाट आएको ४ महिना पनी नबित्दै फर्कनु पर्दा मलाई पनी नमिठो लाग्यो तर मैले ३ हप्ता सम्म खाना खुवाउदा केहि असर गरेन कहिले पिरो भएन उनलाई जब उनि बिरामी परिन अनि पो खाना पिरो भयो रे मसलादार भयो रे त्यसैले पो उनको जीन्दगी बर्दाद भयो रे। म एक्लै धेरै रोए कराए चीच्याए तर के गर्नु परदेशमा कोही थिएन सुन्ने मेरो ,,,एक पछि अर्को गर्दै मैले गरेको धर्मको र सहयोगको फल यहि जन्ममा पाएपछि मैले नास्तिक बन्ने सोच बनाएँ पापी बन्ने सोच बनाए ।

धर्म कर्म दान र सहयोग भन्ने कुरा बकवास वाइयात लाग्न थाल्यो ! त्यसैले अब शारिका धर्म हैन पापै पाप गर्न चाहन्छे दया हैन घृणा गर्न चाहन्छे दुनियालाई यो पापी समाज अनि यो समाज भित्र बस्ने पापी र स्वार्थीहरू लाई ,अब मेरो बाटो अलग बनिसकेकोछ धर्मले सिकाएको अर्को बाटो पापहो त्यही बाटो हिड्दै छु म । म धेरै पापगर्न चाहन्छु जिबनमा धेरैलाई मास्न चाहन्छु म धेरैको खुट्टा तानेर झार्न चाहन्छु धेरै लाई बिगार्न चाहान्छु म ,हो म पापी बनेकोछु अचेल परिस्थितिले बनाएको एउटा नामुद पापी बाध्यताले बनाएको दुष्ट हो अब मेरो बाटो अलग बनेको छ म पापी बनेकोछु अझै धेरै पाप गर्नुछ मैले भोक भोकै हिंड्नेलाई गिज्याउँदै हिड्नु छ नांगै हुनेको शरीरमा भएको एक धरो कपडा पनि च्यातेर नाँगो बनाउनु छ अब मेरो लक्ष्य यहिँ हो |हो म पापी बन्न चाहन्छु…..!

मीरा मन थापा
माईधार झापा, हाल इज़रयल

(स्रोत : World Entertainment News – Facebook)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.