~बिपिन खनाल~
हरेक कुना हर कणमा
उनी छन् रे हरेक मनमा
उनलाई पाउन
कुनै मन्दिर
धाउनु पर्दैन रे
कुनै बौद्धस्तुपामा
केश मुन्डन गरेर घुम्नुपर्दैन रे
न कुनै चर्चमा
मैनबत्ती बाल्नु पर्छ
न त कुनै मक्कामा
घुंडा टेकेर शिर निहुराउनुपर्छ रे
उनलाई त सच्चा मनले पुकारे हुन्छ रे
कुनै पनि नामले सम्बोधन गरे हुन्छ रे
भग्वान,अल्लाहा,गड!!!
तर हे ईश्वर!
कहां थियौ तिमी?
जब एक बुढि आमाको
एक मात्र छोरो
खाडिबाट घर
काठको बाकसमा फर्किन बाध्य भयो,
आमाले तिमीलाई हरेक बिहान
पानी पनि नखाई सम्झेकै थिईन् क्यार!
कहां थियौ तिमी?
जब फुलमतीको सुहाग
आतंकवादका कारण
क्षणभरमा रक्तामे हुंदा,
उनले पनि शिरमा रातो सिन्दुर लगाएर
हरेक सोमबार उपवास बसेकै थिईन् क्यार!
कहां थियौ तिमी?
जब १५ बर्षिय हर्केले घरको दैलोमा
झुन्डिएर आत्महत्या गर्दा,
बिचराले पनि तिम्रै नाम सम्झिदै
एक पटक पास गराईदिन त भन्याथ्यो क्यार!
कहां थियौ तिमी?
तिर्थयात्रा निस्किएको सवारी
३०० मि. तल खसेर
मान्छेको पहिचान नखुल्दा,
देखेका थिएनौ र?
गाडिको अगाडि
टर्लक्क टल्केको तिम्रै मुर्ति थियो
अझ कतिको गलामा
तिम्रै नामको माला झुन्डिएकै थियो क्यार!
अब आफै भन!
कसरी मानुं मैले कि तिमी छौ भनेर
कसरी विश्वास गरुं तिम्रो महिमा?
हे भग्वान!
भनन,तिमी सांच्चै छौ त?
भएदेखि कहिले सम्म तिमी चुप बस्छौ?
यी निर्दोष ज्यान बचाउन कहिले प्रयास गर्छौ?
हं भग्वान….कहिले?
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
Pingback: कविता : भग्वान..कहां थियौ तिमी? | bipinkhanalblog