~प्रतिमा केसी~
देश दुखिरहेछ
म रोइरहेछु
देश रोइरहेछ
म दुखिरहेछु
मेरो मातृभूमी
चिरा चिरा भएर फाटेको छ
म भित्र भित्र भक्कानीइ रहेछु
परदेशी भूमिमा
मुटु थिचेर, आँसु बगाएर
मेरो देशको विपत्ति हेरिरहेछु
हे नेपाल आमा !
मलाई माफ गर !!
महाभूकम्पले निम्त्याएको
कहालीलाग्दो दृस्य
म स्तब्ध भएर हेर्दै छु
निशब्द भएर बग्दै छु
भोग्नेहरुलाई कति गाह्रो भएको छ
सहनेहरुलाई कति सार्हो भएको छ
हृदयविदारक मानव सम्बेदनाहरु
क्षतविक्षत मानव शरीरहरु
मानसपटलमा नाचिरहेछन
आँखाले साँचिरहेछ्न
म आँसु आँसु भएर
मेरो देशको दुर्दशा हेरिरहेछु
हे नेपाल आमा !
मलाई माफ गर !!
मनभरी त्रास बोकेर
लाश गनिरहेछु
भीमसेन थापाको स्मरण गर्दै
धरहरा ढल्यो भनिरहेछु
कृष्ण मन्दिर भत्क्यो रे
स्वम्भु चर्क्यो रे
एतिहासिक सम्पदा
दरबारस्क्वाएर त ध्वस्त भयो रे
म जन्मिएको माटो र
मैले हिंडेका बाटोहरु
भग्नावशेषमा परिणत भयो रे
यति मात्रै कहाँ हो र
विनाशकारी नरसंहार भूकम्पले
नेपालको शिर
हाम्रो गौरव
सगरमाथा पनि डग्मगायो रे
यिनै समाचार प्रवाह गर्दा गर्दै
म आफै अस्तव्यस्त भएकी छु
सुन्दर बस्तीहरु बगर भएको देखें
राजधानीको शहर मशानघाट भएको देखें
मलाई कसरी भोक, प्यास र निद्रा लाग्न सक्छ
मेरो देश पिडामा छटपटिएको वेला
रगत र आँसुमा लत्पतिएको वेला
हे नेपाल आमा !
मलाई माफ गर !!
ऋणधनलाइ पार लगाउन
घरबास जोगाउन
म परदेशिएको बेला
तिमी भासियौ, चर्कियौ
म केवल युगको साँक्षी बने
किनाराको रमिते बने
एकमुठी बल मिसाउन नसकेकोमा
मलाई अफशोष छ
हे नेपाल आमा !
मलाई माफ गर !!
मलाई माफ गर !!!
(स्रोत : Nepalpati)