तिमी त्यो रूपको रापले जलाई हाँस्दथ्यौ आफै
नबोली थाप्दथ्यौ पासो मलाई हाँस्दथ्यौ आफै ।
खुबै राम्रो थियो बान्की अहो क्या उर्लंदो बैंस
भुलाई मातले छोप्दै ढलाई हाँस्दथ्यौ आफै ।
म गम्की गर्वले फुल्दै रिसाएझैं गरी बस्थें
छरी मुस्कानका आभा जलाई हाँस्दथ्यौ आफै ।
मुसार्दै केशका राशी नयनमा हेर्दथें तिम्रो
तिमी सर्माउँदै आँखा छलाई हाँस्दथ्यौ आफै ।
म भर्दै प्रेमको घैला प्रभाती घाममा बस्थें
र हुन्थें स्वप्नमा डुल्दै चलाईं हाँस्दथ्यौ आफै ।
(बहर : हजज मुसम्मन सालिम)
(स्रोत : सम्मोहन साहित्यिक पत्रिका)