~नर्मदेश्वरी सत्याल~
मित्रताको हिमचुली मुनि पनि
स्वार्थ लुक्दो रहेछ कण भएर
पत्तो हुँदो रहेनछ विश्वासको बर्काेले छोप्दा
कणले मुटु टुक्र्याउँछ भनेर ।
मैनालीको छिमेकी कथाका
पात्र–धनजिते र गुमानेको
बन्द बोलचाल मित्रतामा फुलेको
मानवीय गहनता बुझ्दा बुझ्दै
मोहकतामा मानवता किन लर्बरायो ?
राजनीतिक अस्थिरताको घट्टमा पिसिएर
बहत्तरको भूकम्पमा मुछिएर
थिलथिलिएर नेपाली पिलिएका बेला
पिलिएको रगत निकालेर
मलम लगाई उठाउनु पर्ने बेला
तराईलाई कराइमा होलेर
भारतीय चुलोमा नेपाली दाउरा बालेर
भक भक उमाल्ने आँट कुन स्वार्थमा पलायो ?
संविधान पाएर आशाका पिपिरा हुर्काउने बेला
पहाड छुट्याएर
मधेस एक प्रदेश हुनुमा
मधेसी मात्र विशेष हितैषी बन्नुमा
फेरि नेपाली भएर मधेसी बन्धुलो
भारत र मोदी छातीमा टाँसेर
दशगजा परिवार ढुङ्गा हान्नुमा
अदृश्य नाकाबन्दीले काठमाडौँ ठप्प पार्नुमा
ऐना बनेर छर्लङ्गिएको छ
छिमेकीको स्वार्थ लोलुपताले फणा उठाएर
अपत्यारिलो गरी विष छर्कि रहेछ
दोहोरो नागरिकताका लिङ्गा गाडेर
अधिकारको पिङ झुन्ड्याएर
नेपाली भूमिमा थुइक्क गर्दा
मेरो भन्नु न तेरो भन्नु भइरहेछ ।
दशैँ, तिहार र छठमा रम्दै
सद्भाव बाँडेर भविष्य साँध्ने बेला
अभावै अभावमा
स्वार्थका कणले बेरिएर अन्योलमा
विगत सम्झँदै
पुर्पुरोमा हात लगाएर सोचेका बेला
पुन ः लुकेर पछाडिबाट च्वास्स घोच्दा
नीलडाम सुम्सुम्याएर नेपालीहरू
अनायास बाध्यताले कसेको बेला
विश्वास पोक्याएर विकल्पको खोजिमा
असल मित्रहरूको छनौट गरि रहेछन् ।
आगो फुकेपछि धुँवा त हुन्छ नै
निहुँ झिेकर आँखा मिच्दै
संविधानरूपी आगो फुकियो
भुङ्ग्रोका लागि अग्राख पनि धुवाँयो
बहुल जाति बहुल भाषा
आखिर हामी नेपाली थर
वादविवाद पश्चात् नै पुग्ने हो उद्देश्यमा
घरायसी घुक्र्याइ र असन्तोषका बेला
तिमीले अवसर हेरी नचियाए पुग्छ
सधैँ सबै तिम्रै मातहतमा कसरी हुन्छ ?
तिम्रै प्रान्तका त होइनौ नि मित्र !
तिमीले घर बढार्दै पिच्छेको
आँगन र करेसाको धुलो उडेर
झ्याप्प आँखामा पर्दा
आँखा मिचेर चुपचाप बसिएकै हो
अति त अघि नै थियो थियो
यो पटक भने अत्याचारै भयो
सदियौँको पुख्र्यौली पगरी
चिनो ठानी गुत्नु न फाल्नु भयो !
नेपाली पर निर्भर भए भनेर
आत्मनिर्भर बनाउन खोजिएको हो भने
निर्धक्क बोलि देउ दिल खोलेर
उठ्नेछन् नेपालीहरू स्वतन्त्र भएर ।
दिनेछन् स्याबासी असल मित्र ठानेर ।
तिमी क्रेता हामी बिक्रेता
लाभांश तिमीतिरैथ्यो त मित्र
किन ठुस्कियो गर्धन फुलाएर ?
जे नहुनुथ्यो त्यही भयो ।
र त इतिहासले पाठ सिकायो ।
अबका दिनमा भने
तिम्रो हाम्रो उपमा बनाएर
छक्क परून् अरूहरू सबै
स्वार्थ हराएछ र सद्भाव पलाएछ भनेर ।
(सत्याल नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ हुन)
(स्रोत : Nepalpati)