पत्र साहित्य : वर्षा क्षेत्रीको चिट्ठी

~प्रभात बास्कोटा~Prabhat Baskota

आमाले तँ स्कुल जाँदा दुई बाल्टिन जति पानी तान्देर जा है बाबु, लुगा धुनु छ भनेको भएर मैले खाली भा’को बाल्टिनमा पानी तानिदिएँ र स्कुलतिर लागेँ। पुग्नुपर्ने समयभन्दा ५-७ मिनेट अगावै म स्कुल पुगिसकेको थिएँ। घण्टी लागुन्जेल स्टाफ रुममा जानुपर्ला सोचेर म स्टाफ रुममा छिँरे। तीन-चारदिनको हाजिरी नगरेकाले मैले हाजिर गर्न थालेँ। सकेर कलम खल्तिमा राख्नै लाग्दा बाहिरबाट एउटा आवाज सुनियो “Why are you wearing this dress?” म निस्किदै गर्दा विद्यार्थीको उत्तर मात्र “sorry sir” भन्ने थियो।

स्कुल पढ्दा सरको चङुलबाट उम्किन सबैभन्दा सजिलो उपाय “sorry sir ” भन्ने नै हुन्छ। एकछिन त मलाई आफैँ विद्यार्थी हुँदाको क्षण याद आयो। फेरि झसङ्ग भएँ; त्यहाँ त ड्रेसको कुरा हुँदैथ्यो अनि मेरो ड्रेस चाहिँ? मैले त बिहान जिन्स ला’को थिएँ अनि त्यो चिट्ठी….? एक हप्ता जति त्यै जिन्स धडेको भएर मैलो भैसकेको थियो अनि आमाले लुगा नि आजै धुन लाग्नु भा’को थियो। म पक्का थिएँ कि आज त्यो चिट्ठी आमाको हात लाग्छ भनेर किनकी धुनु अघि आमाले खल्तिमा पैसा वा अन्य कागजात छ कि छैन भनेर अवश्य हेर्नुहुन्छ र अर्को लफडा आईलाग्छ। आजसम्म त म एक्लै भोगिरहेको थिएँ जे जस्तो भएनी तर आज आमाले त्यो चिट्ठी पढ्नुभयो भने के होला?

बाहिर नभने नि आमाले वर्षालाई भित्र-भित्र आफ्नो बुहारी मानिसकेको अवस्था थियो। अस्ति खाना खाँदा नि यो विषयमा कुरा नभएको होईन तर त्यो बखत त टरेको थियो। पुन: अर्को पटक कुरा निस्किए म मौन बस्थिएँ अनि बारम्बार एउटै कुरा कोट्याईरहने वातावरण हुन्न थियो। तर आज वर्षा स्वयंले लेखेको पत्र आमाको हात पर्दैछ, दैव जान्दछ त्यस भित्र के के छ भनेर। घटनाक्रमले मेरो जीवनमा दुरुस्त एउटा सस्पेन्स सिनेमा खडा गरिदिएको थियो जसका हरेक शृङ्खला चाखलाग्दा देखिन्थिए म बाहेक देख्ने र सुन्ने को लागि। मैले दिउँसो भर तनिक पनि आरामको सास फेरिन।

बस् यत्ति इच्छा थियो कि मेरो त्यो जिन्स नधोईएको होस् अथवा धोइए पनि चिट्ठी आमाले नभेट्नुहोस बरु मलाई पढ्नु छैन र जान्नु छैन त्यो चिट्ठिमा के लेखिएको थियो भनेर। मान्छे त आफ्नो भएन भने त्यो नाथे चिट्ठी के चिज हो र? कहिले घर पुगौँ जस्तो भएको थियो मलाई, छुट्टी हुँनासाथ छिटोछिटो लम्किएँ घरतिर।

घरपुग्दा आमा छतबाट सुकेका लुगा लिएर तल झर्दै हुनुन्थ्यो। स्याँ-स्याँ गर्दै पुगेको मलाई देखेर के भयो किन कुदेको भनेर सोध्नुभयो। यत्तिकै भनेर म आफ्नो कोठामा छिरेँ। धन्न इष्ट मैले बिहान जसरी खोलेर राख्या थिएँ त्यो लुगा त्यस्तै रहेछ। मैले हतारहतार त्यही जिन्स लगाएँ। आमा भित्र पस्दा ला…. यो त धुनै बिर्सेछु भन्नुभयो। मैले म आँफै धुन्छु भनेर घरबाट निस्किएँ। अब मलाई झन्झन् पोल्न थाल्यो त्यो चिट्ठीको उपस्थिति अनि त्यसको स्पर्शले। चिट्ठी भेटिएकोमा खुशी मनाउँ वा त्यो अर्थहिन चिट्ठी पढ्नुपर्नेमा दु:ख व्यक्त गरौँ भन्नेमा मेरो दुबिधा नै रहिरह्यो। मान्छेको आकांक्षाले नि कति छिटो आफ्नो रोगन फेर्दो रहेछ। अघिसम्म चिट्ठीको सकुशलता खोज्ने म अहिले बरु धोईएर गएको भए बेस हुनेथियो कि भनेर भन्दैछु।

म अब त्यो चिट्ठीलाई च्यात्न नि सक्दिन र पढ्न मलाई गाह्रो भैरहेछ। हातमा बोकि कहिँ टाढा गएर फिस्स हातबाट खसाल्न नि हुन्थ्यो होला तर आफैंलाई ढाट्नु चाहिँ कसरी? मसँग अब एउटै मात्र विकल्प थियो र त्यो विकल्प भनेको वर्षाको चिट्ठी पढ्नु थियो। एकछिन पीडा हुन्थ्यो अवश्य पनि तर त्यो एकछिनको पीडाको डरले म आज भागेँ भने जिवनभर नै जल्नेछु हरेक घडि अनि समयको प्रत्येक पलामा।

आज साथिभाई पनि भेट्न मन लागेन त्यसैले चोक जान्छु भनेर निस्केको म चोक नपुगी घरै फर्किएँ। आमालाई मैले खाजा खाएर आइसकेँ, खाना खान्न भनेर आफ्नो कोठामा चुकुल ठोकेर खाटमा पल्टिएँ अनि अब शुरु गर्छु कथित औचित्यहिन चिट्ठी भनेर लागेँ।

पानाहरु कालो मसिले पोतिएको थियो र प्रयोग भएको पेन फाउन्टेन पेन हो भनेर प्रष्टै चिनिन्थ्यो।

समय-बिहेको अघिल्लो रात

भन्छन मरेको सम्बन्ध रहिरहन्छ अनि टुटेको सम्बन्धको बाटो सकिन्छ। हामिबिच त कुनै सम्बन्ध नै छैन र बिना सम्बन्ध सम्बोधन हुने कुरै भएन। यसर्थ अस्वभाविक रुपमा सम्बोधन बिना नै चिट्ठी लेख्दैछु, सकिएको बाटोलाई अन्तिम पल्ट फर्केर हेर्ने प्रयत्न गर्दैछु। समयको ठाउँमा शायद मिति लेखिनुपर्थ्यो तर मैले जानाजान मिति लेखिन किनकी आज मैले मिति लेखिदिए भने तिमिले यो मितिलाई नै घृणा गर्नेछौ सदाको लागि। म आफैँलाई थाहा छैन कि आज म के के लेख्नेछु भनेर। लाग्यो जेजे आउँछ मनमा त्यो सब लेखिदिन्छु, जतिन्जेल कलम रोकिन्न लेखिरहन्छु, अनुभुती सारा निथारेर लेखिदिन्छु अनि आँत रित्तिउन्जेल लेखिदिन्छु।

प्रभात, मेरो भोलि बिहे हुँदैछ कोहि अरुसँग। तिम्रा लागि मैले परिवारसँग विद्रोह गर्न सकिँन त्यो बेला त्यसैले भोलि कोहि अर्कैसँग मेरो सम्बन्ध जोडिदैछ एउटा पत्निको रुपमा। भोलि मेरो सिउँदो त्यो पराई भनाउँदोले सबै रमितेको अगाडि भरिदिने छ अनि मैले त्यस्लाई पति मान्नुपर्ने छ भोलि बाट नै। मलाई लाग्छ मेरो भोलि देखि त्यो पराईसँगको सम्बन्ध लादिएको सम्बन्ध हुनेछ जसको न कुनै पृष्ठभुमि हुनेछ न कुनै धरातल नै, हुनेछ त केबल चिट्ठा तानेर बच्पना पारामा मिलाइएको लोग्ने-स्वास्नी जस्तो। केका लागि तिमिसँग मैले सम्बन्ध तोडे र आज के पाउँदैछु खोइ मैले त मेसै पाईन। प्राप्तिको बाटो नै मैले त्यागि दिसकेँ अनि मलाई अब के मतलब भयो र जोसुकैसँग मेरो बिहे भएनी, जसको स्वास्नी भएनी। तिमिले भन्थ्योउ नि प्रभात कि केटि तीन किसिमका हुन्छन भनेर: एक किसिमका जो आफुले चाहेको कुरा गर्छन अर्थात परिवारले दिएन भने भाग्ने, अर्को परिवारको कुरा काट्न नसकेर उनिहरुले नै खोजिदिएको केटासँग सहर्ष बिहेको स्विकारोक्ती गर्ने र अर्को अरु केटासँग बिहे गर्न नसक्ने अनि परिवारलाई नि लत्याउन नसक्ने र आत्महत्याको बाटो रोज्ने। तिमिले हाँस्दै यो भनिरहँदा म रिसाउँदै के भन्थिएँ भने मलाई तिमी पनि चाहिँदैन अनि परिवारबाट नि टाढा हुन्छु भनेर अनि फेरि तिमी के भन्थ्योउ भने यो त तेरो मलाई पाखा लगाउने उपाय मात्र हो भनेर। तिमी सहि थियोे, म कहाँ परिवारबाट टाढा गएँ र खोइ? बसिरहेछु यहि परिवारसँग अनि तिमिले भने जस्तै तिमी पाखा भयौ। तर तिमी सबै सहि नि थिएनौ।

मैले कहाँ सहर्ष स्विकारेको छु र मेरो भोलि हुने बिहेलाई? मात्र मौन बसेको हुँ बोल्नुको कुनै सार नभएर र औचित्य नदेखेर। आज तिमिसँगको अन्तिम भेटको सार्है याद हो प्रभात, यत्ति धेरै त मलाई तिम्रो यादले चिमोटेको थिएन अहिलेसम्म आज त अचकाली नि भयो किन हो कुन्नी? यो चिट्ठी आजै लेख्नुको अर्को प्रयोजन पनि छ। भोलिदेखि त म मेरो पतिको बिस्तारामा हुनेछु, मेरो नाम पनि सायद अब छाँयामा पर्नेछ। लुछ्नेछ मलाई मेरो पतिले अघाउन्जेल अनि म भित्र त्यस्कै वासनाहरु सल्बलाउने छन्। मलाई अरु कसैको भएर लेख्नु छैन त्यसैले आजै लेख्दैछु अन्तिम पल्ट मात्र तिम्री भएर। म रोएर कराएर फेरि पनि तिमिलाई पाउन सक्थिएँ नसक्ने होईन प्रभात तर बानेश्वरमा हाम्रो भेट भएपश्चात मलाई एउटा सामान्य लाग्ने तर भयंकर ठूलो चिजको ज्ञान भयो। मैले हेर्दै गरेको ऐना एक्कासी तल झलेर अलिकती चोइटियो अनि बिचमा चर्कियो पनि। उठाएर आफ्नो अनुहार नियाल्न खोज्दा मैले आफ्नो आकृति पनि चिरिएको देखेँ। अनि मलाई बोध भयो कि मैले अब जति प्रयत्न गरेपनि हाम्रो सम्बन्ध पहिले जस्तो हुँदैन भनेर।

यदि हुँदो थियो त म लाज पचाएर भएनी तिम्रो शरणमा पर्नेथिएँ अनि रुदै माफी माग्ने थिएँ र तिमी पनि रुन्थ्योउ होला है म रोको देख्नासाथ तिम्रो आँसु अहिलेसम्म थामिएकै छैन। तर त्यो त मेरो कल्पना मात्र पो थियो कहाँ जोडिएला र यो सम्बन्ध? म नमज्जाले रोएँ प्रभात कति रोएँकति त्यस्को कुनै गणना नै छैन। मैले त धेरै ठूलो भुल पो गरेको रहेछु जसको प्रायश्चित अब म यो जुनिमा गर्नै सक्दिनँ र अर्को जुनि त होला नहोला के ठेगान। झगडा पर्दा तिमी सार्है रिसाउथ्यौ अनि झोकमा म तँलाई मारिदिन्छु नि भन्थ्योउ। म सोच्थिएँ अब लफडै लफडा हुन्छ भनेर तर तिमी त बाठो निस्कियौ प्रभात। सम्बन्ध टुटेको घोषणासँगै तिमिले त मलाई यसरी बिर्सिदियौ कि लाग्यो तिम्रो जीवनकालमा वर्षा क्षेत्रीको कुनै उपस्थिति नै थिएन। लफडा भएन भनेर म ढुक्क त भएँ तर तिम्रो मौनताले मलाई यति धेरै धारिलो प्रहार गर्यो नि प्रभात जसले गर्दा म बाचुन्जेल मारिदियौ तिमिले अथवा नमरुन्जेल अध्कल्चो काटेर बचाइराख्यौ। तिमी म भन्दा कान्छो भएर के भो र आज म तिमेले भनेर हरेक कुरामा नतमस्तक छु। तिम्रो महत्त्व पहिले बुझेको हुँदो थिएँ त भोलिको मण्डपमा जन्ती लिएर तिमी आउने थियौ अनि म हाँसीहाँसी तिमिसँग ठ्ट्टा गर्दै तिम्रो घर जाने थिएँ। अनि मलाई हतार हुनेथियो तिमिसँग हाम्रो बेडरुममा छिर्न अनि भित्र पसेर नखरा पार्नलाई। तिमिले भनेका हरेक बातहरु मलाई आज गला लागेका छन। तिमी भन्थ्यौ हामी भागौँला अनि तेरो बा-आमा अहिले नबोले नि हाम्रो बच्चा भएसी पग्लिनेछन भनेर अनि म हट गर्थिएँ कि मेरो बुवा त्यस्तो हुनुन्न मसँग जीवनभर बोल्नुहुन्न भन्थिएँ र मैले तिमिलाई टाढा बनाएँ जानिजानी। आज मेरो परिवार खुसी छ प्रभात कि छोरिले हामिले छानेको केटासँग बिहे गर्न मन्जुर भई भनेर तर म आफुलाई एउटा जिउँदो लास झैं मानिरहेको छु। भोलि म आफ्नो घुम्टोले आफ्नो सारा विगत पनि छोपेर जानेछु अनि आफ्नो थर पनि फेर्नेछु अनि फेरि आफ्नो बा-आमासँग पराई हुनेछु।

म कस्तो मोडमा उभिएँ प्रभात? न मैले आफुले रोजेको केटासँग बिहे गरेँ न परिवारले खोजिदिएको सँग सम्पुर्ण रुपमा समर्पित नै हुनेछु। छि कस्तो भयो जीवन आफैलाई घिन लागेर आउँछ। जित्नु र हार्नु एउटा अनुभूति रहेछ, जित्दा जित्दै नि जितको आभास भएन भए त्यो हार ठहर्दो रहेछ जुन तिमिमा लागू भयो प्रभात। तिमी त बिजेता हौ मेरो अनि प्रेमको महारथी हौ। कस्तो प्रेम गर्यौ तिमिले प्रभात साँच्चै नै कुनै अमर प्रेमिको झैँ। प्रेमी तिमी थियौ अनि प्रेमिकाको रुपमा म थिएँ तिम्रो सहयात्री। तर मैले तिमिलाई छुरा हाने त्यहीँ बखत जुनबेला तिमीले हाम्रो प्रेमको उदाहरण अरु कोहिलाई दिँदैथियौ। मैले त प्रेम गर्न सकिँन प्रभात तर आज म के वाचा गर्छु भने म मेरा सन्तानलाई तिम्रो प्रेमको गाथा सुनाउँछु मलाई ओझेलमा राखेर नत्र मलाई मेरै सन्तानले सराप्ने छन् मलाई यस्ती आमाले जन्म दिएकी रछिन भनेर। तिनिहरुलाई नि थाहा हुनेछ कि तिनिहरुको जन्म प्रेमयुक्त समागमको मुलबाट नभई केबल प्रजनन मात्र भएको हो भनेर अनि म आफ्नै सन्तानले धिक्कारेको आमा भएर कसरी बाँच्नु?

ल त प्रभात अब म धेरै रुन सक्दिनँ आजका यी हरेक शब्द कोर्दा मलाई असह्य पीडा भयो र पीडासँगै हलुका नि भयो। अब म भोलि ढुक्कसँग त्यो पराईसँग बिहे गर्नसक्छु। तिमी आउँदैनौ कदापी पनि मेरो बिहेमा त्यही नि कार्ड छोढ्देको छु सुसनको मा एउटा औपचारिकता पूरा गर्न।

-वर्षा

रात निकै छिप्पिसकेको थियो पूरा चिट्ठी पढिसक्दा। वर्षाले भनेजस्तै मलाई नि हल्का महशुस भएको थियो आफ्नै मन। मैले त्यो चिट्ठी च्यात्न अब त झन् सक्दै सकिँन। त्यसैले त्यसलाई नपट्याई बाहिर फालिदिएँ अनि सुतेँ। रातभरी पानी परेछ मलाई पत्तो पनि भएन र बिहान उठेर हेर्दा त्यो चिट्ठीका हरेक शब्द पानीले मेटाइदिसकेको रहेछ।

(स्रोत : Koribati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पत्र साहित्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.