सहरमा स्तनपान नगराउने होड छ
बूढीऔँला चुसेर हुर्कंदै छन्
शिशुहरू तिनका बाउहरूलाई तिनका आमाका
झोल्लिएका स्तन मन पर्दैनन्
लेजरले कोठी ताछेर चम्केका छन् अनुहारहरू
सिलिकन भरिएका वक्ष भरिला छन्
विज्ञापनहरू नयाँ जमानाका नयाँ ऋचा भट्ट्याइरहेका छन्ः
“यो संसार ‘ब्युटिफुल’ र ‘ह्यान्डसम’हरूको मात्र हो”
यो कृत्रिमताको महामारीमा
नसोधे हुन्छ क्षेम–कुशल
कसैलाई सञ्चो छैन यहाँ
सबथोक कृत्रिम छन्
प्रेयसीको चुम्बनमा आसक्ति छैन
लिपस्टिकको छापमात्र छ
प्रेमीको अँगालोमा प्रणयको सुवास छैन
अत्तरको गन्धमात्र छ
सबथोक कृत्रिम छन्
बस, बजारको मुस्कुराहट प्राकृतिक छ
कुनै दिन बजारले उत्पादन गर्नेछ
पीडाको केक र आँशुको मैनबत्ती
अनि जखमी मान्छेले
घाउको जन्मदिवस मनाउने फेशन चल्नेछ
कुनै दिन बजारले बनाउनेछ
प्लास्टिकको इन्द्रधनुष
र, असली इन्द्रधनुष देखिँदा आकाशमा
मरिगए नाच्ने छैनन् मयुरहरू।
(स्रोत : Esamata)