हेर्नुस्, मूर्ख पनि पण्डित भइरहेछ त्यत्तिकै
बदनाम पनि अभिनन्दित भइरहेछ त्यत्तिकै
फैलिइरहेछ चारैतिर उन्मुक्त अँध्यारो
उज्यालो प्रतिबन्धित भइरहेछ त्यत्तिकै
सग्लो नै थियो विश्वास यहाँ हरमौसम
आज यसरी खण्डित भइरहेछ त्यत्तिकै
के पसेछ कुन्नी यो समयको नदीभित्र
झनपछि झन दुर्गन्धित भइरहेछ त्यत्तिकै
स–सम्मान हिडिरहेका छन् अपराधीहरु
निर्दोष मान्छे दण्डित भइरहेछ त्यत्तिकै
(स्रोत : PraLeSh – Dang)