ईश्वरीय करारनामासंगै
स्वर्गीय मृत्युको अनन्त जीवनमा
संजीवनीका कालीपोके सपनाहरूमाथि
रजगज गर्ने हुलका हुल
हाम्रा प्रत्येक बिहानीहरू
उषाकालीन लालिमायुक्त शीतविन्दुमा
कठ्याङ्ग्रिएका भविताका स्निग्धतासंग स्खलित हुँदै
हिउँदका मध्यान्हहरूमा सूर्यास्नानार्थ
हार्दिकताका इन्धनहरू समाप्ति भए पनि
चुलोको डिलमा बसेर
न्यानो हार्दिकताका
चिसो खरानी ताप्न खोज्दैमा
हाम्रा मन जोख्ने तराजुहरू ढलपल हुने छैनन्
त्यसैले त
रसबरी र लालमोहनका थालीहरू भरि भरि
विषाक्त अमृत पस्कनुभन्दा
दुई जोर आँखाहरू
अनि
दुई मनका धड्कनहरू
अमर प्रेमपथका अग्निपरीक्षामा
राम्रा लाग्दछन्
अचूक निशानाहरूमा
समान आकाश र समतल धर्तीका
वसन्त कोकिलसँग रङ्गिदा मनहरू टुट्छन् भने
रूँग्दैनन् बिहानीहरू भत्करू बनेर
मधौरू अगेनाहरू
अनि रूग्ण र पुरातन अग्नि ज्वालाहरू
अतः
सम्पन्नताका सन्दूकहरूमाथि
बिपन्न चिहानघारीहरू
फ/फुलेका मरौटाहरूसंगै
मानवताका फँटवारी रैकरहरू
रकमी प्रतीत पत्रमा
कब्जा गरिन्छन् भने
स्वाभिमानका
हाम्रा अपराजित अपरिमेय मानसिकताहरू रूँग्ने छैनन्
चिसिएर इनूख अगुल्टाहरू
तुजूकले भरिइएका मनहरूभरि भरी
गुराँस राताम्मे रंगिने नाङ्गा पहाडहरूमा
रगताम्मे घायल छन्
स्वाभिमानी उत्तीसहरू
हो
त्यसैले त
पुनश्चः
रूँग्दैनन् बिहानीहरू भत्करू बनेर
मधौरू अगेनाहरू
अविजित हार्दिकताले
म सुन्छु
मन सुन्छ
सांच्चै!
उत्तीसहरू ब्यस्त अभ्यस्त भए
आधुनिक सफोक्लिजहरूका कोरस गानमा
निर्मिमेष गाउँदै थिए
डोवर बीचका किनारै किनार क्वेलीहरू
सूफी दर्शन र सेली शैलीमा-
“If winter comes, can spring be far behind ?”
रामप्रसाद प्रसाईं “आँशुतोष आँशु”
(स्रोत : Shabdahar )