इस्वी सनको अप्रिल १, २००७ । इशान र इषिता हजूरबा, हजुरआमा, बाबा र आमासँगै बसेर बिहानको कौला खाँदै टेलिभिजनमा हेरिरहेका थिए । रमाइलो कार्यक्रम बीचैमा रोकिएर अकस्मात समाचार आउन थाल्यो । के ग¥यो यो, समाचार आउने बेला त भएको छैन ! कि मेरो घडी ढिला भयो ?– बाबाले छक्क पर्दै भन्नु भयो ।
“विमान जस्तै एउटा अनौठो देखिने चम्किलो बस्तु भर्खरै हाम्रै नेपालको आकाशमाथि उडिरहेको देखिएको छ । वैज्ञानिकहरूको भनाइमा ठूलो रिकापीजस्तै देखिने त्यो बस्तु अर्को कुनै ग्रहबाट आएको यान हुनसक्छ । चम्किलो उज्यालोको मुस्लो फाल्दै अति तेज गतिमा झरिरहेको यो बस्तु कुनै पनि बेला नेपालकै कुनै भेगमा ठोक्किन सक्ने खतरा देखिएको छ । पृथ्वीमा कसैसँग पनि यस्तो यान नभएकोले यो कुनै अर्को ग्रहबाट आएको हुन पर्छ भन्नेमा शङ्का छैन । त्यसैले हाम्रो अन्तरिक्ष अनुसन्धान संस्थाले सबै नेपालीलाई सतर्क रहेर झ्याल ढोका बन्द गरी घरभित्रै बस्ने सल्लाह दिएको छ ।”
समाचार सुनेर मानिहरूमा अर्के ग्रहको यान र जीव हेर्न पाइने हर्षका साथै केही गरी त्यो बस्तु आफ्नै नजिकै खस्योभने के हालत होला भन्ने चिन्ता साथसाथै देखियो । इशानलाई पनि यस्तै भयो– एकातिर आप्mनै आँखाले अर्को ग्रहको यान र जीव देख्न पाइने खुसी थियो । अर्कोतिर केही गरी त्यो यान यतै कतै खसेर विष्फोट भयो वा ती एलियन अर्थात अर्कोे ग्रहका मानिसले डरलाग्दो वैज्ञानिक हतियरद्वारा हमला गरे भने के अवस्था होला भन्ने डर ! यही खुसी र डरको बीचमैं उसले सोच्यो– यो पक्कै पनि युएफओ हुनु पर्छ । यस अगाडि पनि अहिलेसम्म नदेखिएका रहस्यमय यस्ता यानहरू अरु देशमा उत्रिएका र त्यहाँका मानिसले देखेको सुनिन्थ्यो । ती यान पृथ्वीमा देखिँदा कुनै दुर्घटना भएको थाहा थिएन । पृथ्वी बाहेक ब्रह्माण्डका अरु ग्रह तारामा मानिसजस्तै बुद्धिमान जीव हुनै सक्दैन भनेर वैज्ञानिकहरूले पनि भन्न सकेका थिएनन् । बरु अनेकौं अन्तरिक्ष यान छाडेर यस बारे वैज्ञानिकहरू खोजी गरिरहेका थिए । नयाँ नयाँ ग्रह, तार र सौर्यमण्डलहरू पत्ता लागिरहेका थिए । इशानले सोच्यो– यस्तोमा हाम्रो पथ्ृवी ग्रह बाहेक अरु ग्रह–उपग्रहमा हामीजस्तै, अझ हामीभन्दा बढी बुद्धिमान् र विज्ञानमा हामीले भन्दा धेरै विकास गरेका जीव न होलान् त ? तिनै मध्ये केही हामीलेजस्तै नयाँ जीवको खोजी गर्दै आएको पनि त हुनसक्छ ! तर यतै कतै खस्यो भने….? उसको अनुहारमा डर प्रष्टै देखियो ।
“युएफओ होकि ? हामीलेजस्तै अर्को ग्रह र त्यसका जीवको खोजीमा आएको कुनै अर्कै ग्रहका जीव पो हुन् कि ?” डर लुकाएर इशानले बाबातिर हेर्दै भन्यो । उसले युएफओ अर्थात् अज्ञात उडन तस्तरीको बारेमा पढेको थियो । उड्ने रिकापी जस्तै देखिने र कहाँबाट कसले पठाएको भन्ने थाहा नहुँने यस्ता रुहस्यक बस्तुलाई अङ्ग्रेजीमा अनआइडेण्टिफाइड फ्लाइङ अब्जेक्ट भनिन्थ्यो । त्यसरी नै पृथ्वीबाट अरु ग्रहको अध्ययनमा गएका अन्तरिक्ष यानहरूले पठाएका तस्बिर हेरेर वैज्ञानिकहरूले मङ्गल ग्रह र बृहस्पतिको एउटा उपग्रह युरोपामा पनि जीव हुनसक्ने जानकारीले दिएका थिए । त्यसमाथि यो विश्व ब्रह्माण्डमा मानिसले थाहै नपाएका अरू कति होलान्, कति सौर्य र तारामण्डलहरू ! तीमध्ये कुनैमा पनि हामीभन्दा बुद्धिमान् मानिसजस्तै जीव हुनसक्थे ।
“हुनसक्छ, यस अघि पनि यस्ता युएफओ धेरै ठाउँमा देखिएको सुनिन्थो । आजसम्म कुनै प्रमाण भने भेटिएको छैन भन्छन् ।” बाबाको जवाफ सुनेर उसलाई आफ्नो विचार ठीकै भएजस्तो लाग्यो ।
पछिल्लो जानकारी अनुसार यो यान मङ्गल ग्रहबाट आएको र उनीहरूले पृथ्वीमा आक्रमण गर्न सक्ने संभावना रहेको बताइएको छ भन्ने सबैभन्दा पछिल्लो समाचारले सुनेर चाहिँ सबै डराए । टेलिभिजनले दिएको यो समाचार नेपालका रेडियो, एफएम सबैले प्रसारण गरेका थिए । घरमैं समाचार सुनेर सबै डराए । कोहीले यउो खबर घरैमा सुने, कोहीले बाटैमा एफएमबाट सुने, कसैले एक अर्काबाट सने । सुन्ने जति सबै आत्तिन थाले । अर्को ग्रहका मानिस पृथ्वीमा हमला गर्न अएका र यान नेपालकै आकाशमा देखिएको समाचारले सबैलाई अब के हुने हो भन्ने लाग्नु स्वभाविक थियो ।
टेलिभिजनले त्यो अनौठो यान नेपालतिरै झरिरहेको दृश्य देखाउँदैथियो । यान जति जति नजिकिँदै गयो, चर्को उज्यालोको मुस्लो पनि त्यत्ति नै पृथ्वीतिर फैलिएको देखिन्दै थियो । सामान्य विमानमा यति उज्यालो आएको कहिल्यै देखिएको थिएन । त्यसैले सबैजना एउटै कुरा सोचिरहेका थिए– लौ मा¥यो यति शक्तिसाली यान र शत्रुलाई हाम्रा वैज्ञानिक र विज्ञानले हराउन सक्लान् ? सबैको मनमा एउटै प्रश्न थियो, काँ काँ के के गर्ने हुन यी पराइ ग्रहका जीवले ? समाचार सत्य नभएर अन्तरिक्षबाट बाटो बिराएर यता आइपुगेका भए त नोक्सान नपु¥याउलान् कि ।
टेलिभिजन समाचारको दृश्यमा त्यो अनौठो यान पृथ्वीको झन झन नजिकै आइरहेको देखियो । कतिबेला कहाँ ठाउँमा खस्ने हो, सबै अताल्लिएका थिए । बाटोमा हुने पैदल यात्रीदेखि मोटर, मोटरसाइकलमा गुडिरहेका मानिसहरू त्यो खबरले सबैभन्दा बढी अताल्लिएका देखिन्थे । घरै नपुग्दै त्यसले आक्रमण ग¥यो भने….? त्यसैले जताततै दौडादौड देखिइरहेको थियो । चाँडै निस्कने हतारोमा एकले अर्कालाई उछिन्न खोज्दै थिए । त्यसले गर्दा झनै बाटो जाम भएर समस्या थपिँदै थियो । यसरी चारैतिर हाहाकार मच्चिएको दृश्यहरू पनि टेलिभिजनबाट आइरहेको थियो ।
बाबा आफैं नेपालको अन्तरिक्ष अनुसन्धान केन्द्रमा काम गर्नुहुन्थ्यो । यसअघि त्यहाा त्यस्तो हुनसक्ने कुनै सङ्केत आएको थिएन । न त विदेशी अनुसन्धान संस्थाहरूले नै त्यस्तो कुनै जानकारी पठाएका थिए । त्यसैले बाबालाई यो जानकारी कसैको गल्तीले टेलिभिजनसम्म पु¥याएको हुन सक्ने शङ्का लाग्यो । टेलिभिजनमा अहिले देखिएजस्तो आकाशबाट कुनै रहस्यमय चम्किलो बस्तु पृथ्वीतिर खसिरहेको देखाउनु गाह्रो थिएन । विज्ञानसम्बन्धी सिनेमाहरूमा यसरी अर्को ग्रहबाट अन्तरिक्ष यान आएर त्यहाँका मानिसले पृथ्वीमा हमला गरेको दुश्य जति पनि भेटिन्थे । तिनै सिनेमाका दृश्यलाई यो समाचारमा लिन कुनै समस्या थिएन । टेलिभिजनजस्ता सञ्चार माध्यमले यस अगाडि पनि कहिले काहीँ भूलले गर्दा असत्य खबर दिने गरेका थिए । यी सबै सम्झेर बाबालाई शङ्का लागेको रहेछ । त्यसैले उहाँ कम्प्युटर खोलेर यस बारेमा जानकारी खोज्न थाल्नुभयो
बाबा कम्प्युुटरमा जानकारी खोज्दै हुनुहुन्थ्यो, टेलिभिजनको उद्घोषकले भने– प्रिय दर्शक, तपाइँहरू डराउनुभयो होला, नडराउनुहोस ! हामीले भखरै दिएको पृथ्वीमा मङ्गल ग्रहबासीको हमला सम्बन्धी सामाचार सत्य होइन । बरु आउनुहोस्, हामी सबै मिलेर अप्रिलफूल मनाऔं !
“ओहो, अप्रिलफूल पो मनाएको रहेछ ! हो त, आज अप्रिल एक तारिख !” इशानले ठूलो स्वरमा भन्यो ।
“अप्रिलफूल भन्दैमा यस्तो ठट्टा गर्नु हुन्छ, त्यो पनि सबैकहाँ पुग्ने आम सञ्चारमा !” टेलिभिजनको ताल देखेर बाबा निक्कै भोक्किनु भयो । इशानलाई पनि सबै मानिसलाई यति नराम्ररी तर्साउने ठट्टा मन परेन । जे होस्, सत्य थाहा पाए पछि सबै मानिसको अनुहारबाट अब सबै डर भने हरायो ।
(स्रोत : मुना, जेठ २०६३, वर्ष १६ अङ्क ६ पूर्णाङ्क १८६ । )