कविलाई बचाउने कवि नै हुन्छन् । भूपिनको यो कुरामा म दुईवटा कुरा पाउँछु, पहिलो कुरा म कवि हुँ तर म स्वयम्लाई कवि मान्न सकिरहेको छैन । कविता नलेखेकै लामो अन्तराल भइसकेको छ र लाग्छ, मेरा कविताहरु त्यति सम्प्रेषणीय छैनन् र व्यक्तिगत रुपमा कवि हुन धेरै जटिलताहरु छन् । तर, दोस्रो कुरा सत्य हो, मृत्युसँग लडिरहेको मलाई बचाउन कविहरु अगाडि आए, कविहरुले बचाए र बचाउनेहरु सब कवि हुन्– मेरो लागि । कविहरुप्रति मेरो उपल्लो दर्जाको इज्जत छ । एउटा कवि ब्रटस हुँदैन, एउटा कवि हिटलर हुँदैन र हुँदैन कुनै कवि जनरल पिनोचे । जङ्गबहादुरहरु कविता लेख्दैनन् र कविता लेख्नेहरु पोलपोट बन्दैनन् ।
कविता नलेखे पनि कविको रुपमा मेरो नाम आयो । मलाई इज्जत गरिएको जस्तो लाग्यो र कताकता त्यो धान्न मलाई गाह्रो भयो । त्यो पनि त्यस्तो बेला जब म मृत्युको अगाडि आत्मसमर्पण गर्न लगभग तयार भइसकेको थिएँ । मृगौलाहरुले आफ्नो काम गर्न छोडिसकेका थिए र उपचार नभए मेरो मृत्यु निश्चित थियो । जीवनप्रति भन्दा स्वयम्प्रति गुनासो बढी रह्यो । किन मैले अहिलेसम्म केही गरेको रहेनछु ? म किन समाजमा केवल लिन आएको रहेछु ? म अति हतास र समपूर्ण रुपले निराश किन थिइनँ भने मलाई भएको क्यान्सर थिएन । कसैले एउटा मृगौला दान दिएमा र यथेष्ट रकमको जोहो भएमा म बाँच्न सक्थेँ । प्रत्यारोपण खर्च र त्यसपछिका महङ्गा औषधी सेवन, सबै सम्झिँदा त्यो मेरो परिवारले धान्न सक्ने थिएन तर आर्थिक सहयोगको निम्ति हात पसारिहाल्न पनि सकिरहेको थिइनँ । साथीहरुलाई अन्तिम विदाइ माग्न चाहन्थेँ, अतः सार्वजनिक भएँ ।
सबभन्दा पहिले मणिपालमा सरुभक्त दाइ आउनुभयो । संरक्षण कविता आन्दोलनमा लागेपछि मैले उहाँलाई आफ्नै दाइको रुपमा पाइसकेको थिएँ । उहाँले मेरो स्थितिप्रति दर्शाउनुभएको चिन्ता कुनै सहोदर दाइको भन्दा कम थिएन र त्यो चिन्ता पछि सबै पोखरेली कविहरुको चिन्तामा परिणत भएको पाएँ, जब उहाँ एक्लै महाराजगञ्ज शिक्षण अस्पताल फेरि आउनुभयो । त्यतिखेर उहाँ सबै कविहरुले मप्रति देखाएका पीर, सहानुभूति र स्वास्थ्यलाभको कामनासहितको सहयोगको भारी लिएर आउनुभएको थियो । दुईजना बहिनीहरु सरस्वती र सरिताले मलाई मणिपालमा भन्न खोजे– ‘म केही हुँ ।’ म केही थिइनँ, बहिनीहरुको आत्मीयता र दाइप्रतिको स्नेह थियो । कतार जहाँ मैले पनि दुई वर्ष पसिना चुहाएको थिएँ–मा कवि अर्जुन पौडेल ‘निर्जन’ र सागर अजनवीहरलाई छट्पटी भयो । मैले नचिनेको कविहरुबाट आएको त्यो आर्थिक सहयोगले फेरि कविहरुको विराट् हृदयको प्रमाण दियो ।
चन्द्र गुरुङ– बहराइनमा कार्यरत कवि चन्द्र गुरुङसँग पनि मेरो चिनजान थिएन । उहाँको सरोकार कति गहिरो रहेछ भन्ने कुरा काठमाडौंमा चाल पाएँ, जब केहीको दिनको भेटमै हामी एउटै प्लेटको मःमः खाने साथीजस्ता भयौँ ।
खोटाङका कवि जयबहादुर घिमिरे काठमाडौंमै मलाई भेट्न आउनुभयो । उहाँ पनि मजस्तै शिक्षक पनि हुनुहुँदो रहेछ । मैले नाइँ नास्ती गर्द पनि उहाँले मलाई सहयोग गर्न खोज्नुभयो । त्यति टाढाबाट नचिनेको कविलाई आफ्नो सहानुभूति व्इः गर्न आउने कविको पागलपन नै हो ।
अष्टेलियामा निस्प्रभ सजीले अभियान नै छेड्यो । बेलाबेलामा फोनमार्फत् मेरो स्थितिको पनि ज्ञान राख्थ्यो । सजीसँग माडीको यात्रा भएको थियो र त्यसपछि उसले के प्रमाणित ग¥यो भने ऊ मेरो आÇनै भाइ हो ।
चितवनमा सरिता बहिनी, एल. बी. सर, धनराज दाइ सबैले गरेको माया मैले स्वीकारेको छु । काठमाण्डौमा रोशन शेरचनको चिन्तनले मलाई रोगसँग लड्न हौसला दियो । रोशन दाइ कवि मात्र हैनन् । मलाई लाग्छ, म जे भन्न चाहन्छु, उहाँ आफ्ना निबन्धहरुमार्फत् भन्नुहुन्छ ।
भूपिन अमेरिकामा कसरी खुसी हुन सकोस्, जसले चर्पीमा पानी नभएकोले आफ्नो साथीलाई रुमाल दिएको थियो र जुन साथी अहिले अस्पतालको पलंगमा मृत्युसँग लडिरहेको थियो । भूपिनको मप्रतिको माया कति छ त्यसको केही अंश समयको कुरुप चित्रकारितामा छ, आफ्नो पहिलो निबन्धसंग्रह चौबीस रिलमा । अरु ठाउँहरु खास गरी, मेरा आफन्तहरु, गाउँलेहरु, सहपाठीहरु, सहकर्मीहरु, विद्यार्थीहरु र साथीहरुबाट पाएको आर्थिक सहयोग अभूतपूर्व थियो र रहेको छ । त्यहाँ एउटा छोरा, ज्वाइँ, एउटा शिक्षक र एउटा साथीलाई बचाउने महान् अभिलाषा थियो । मेरा आदरणीय अग्रज कवि तथा साहित्यकार, समकालीन कवि मित्रहरुको एउटै मात्र पवित्र उद्देश्य थियो– एउटा मान्छेलाई बचाउने ताकि एउटा कवि बाँच्न सकोस् र उसले समाजलाई केही न केही देओस् । मणिपाल अस्पतालमा थलिएको बेला विद्युत् गतिमा एउटा विचार आएको थियो । त्यो विचारलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ । म सम्पूर्ण कर्तव्य, आग्रह, माया, मोह र जिम्मेवारीबाट मुक्त भएँ र स्वयम् मृत्यु पनि मलाई प्रिय लाग्यो । अलि माथिल्लो तलामा चढूँ र भ्mयालमा गएर यो नाटकको पटाक्षेप गरुँ तर खाटबाट तल झर्नसमेत नसक्ने मेरो मनमा त्यो विचार फैलिन पाएन ।
मलाई माया गर्ने हजारौं मनहरुले मलाई जीवनप्रति सकारात्मक सोच राख्न र बलियो रहन मद्धत गरे । ती सबै मनहरुलाई म पनि त्यत्तिकै प्रेम गर्छु त्यसैले त जीवन जिउने साहस र अभिलाषा जीवित छ । पशुपन्छी र जनावरलाई बढी माया गर्ने मेरो बुबा साकाहारी हुनुहुन्छ । एकदिन सदर चिडियाखानामा थुनिएका चराहरलाई हेर्दै उहाँले भन्नुभयो, “विचराहरुलाई उड्न कति मन होला ।” साक्षर भएको भए उहाँबाट पनि ‘पिँजडाको सुगा’ जन्मिन्थ्यो होला । यो सम्पूर्ण कठिन यात्रामा उहाँको साथ जुन रह्यो त्यो लेख्ने काम मेरो कलमलाई गाह्रो हुनेछ । उहाँको एउटा मृगौला ममा प्रत्यारोपण भयो र म अहिले रोग प्रतिरोधात्मक क्षमतालाई दबाउने औषधीहरुको भरमा बाँचिरहेको छु ।
काठमाण्डौको बसाइँमा प्रसन्न घिमिरेले मसँग गफ गरेर पुस्तकहरु ल्याइदिएर मेरो साथ दियो । पोखराका कविजनहरु भेट्दा उहाँहरु मायाले मेरो स्वास्थ्यस्थिति बुझ्नुहुन्छ । रमेश श्रेष्ठ, अल्पज्ञानी, ईश्वरमणि अधिकारी, पद्मराज ढकाल, सरस्वती श्रेष्ठ ‘सरु’, दीपक समीप, जे. अस्मिता, लक्ष्मण थापा, नारायण मरासिनी, रुपिन्द्र प्रभावी, मदन भण्डारी सबैलाई भेट्दा म हर्षविभोरको अनुभूति गर्छु । विन्ध्यवासिनी मन्दिरको प्राङ्गणमा तीर्थ श्रेष्ठ दाइले जब मलाई आत्मीय र न्यानो अँगालोमा बाँध्नुभयो, मेरो निधार ठूलो भएको जस्तो लाग्यो । राजनीति सप्रेर वा बिग्रेर जातीय सङ्घीयता बने पनि मेरो हृदयमा कुनै सिमाना बनेको छैन र बन्नेछैन पनि । मेरो लागि कविहरुको न कुनै जात हुन्छ, न धर्म । कविहरु कुनै भूगोलका लागि हैनन् र कुनै सम्प्रदायका लागि त विल्कुलै हैनन् । ‘शिरीषको फूल’भन्दा अगाडिको पारिजात मान्ने कविहरु र त्यसपछिका पारिजात मान्ने साहित्यकारको बीचमा जुन रेखा थियो, त्यसमा म थिएँ– अहिले म त्यो देख्दिनँ । म लेनिनको पनि हुँ र लेनोनको पनि ।
जीवन लामो होस्– मेरो कामना छैन । जीवन सिर्जनात्मक र सुन्दर होस् र मृत्यु, त्यो त म अब मलाई कामुको पात्र मर्सोल्टको जस्तो हुनेछ– बिनाघृणा र बिनापश्चाताप र आनन्दको मृत्यु ।
(लेखक गुरुङको केही समयअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।)
(स्रोत : सम्मोहन साहित्यिक पत्रिका)