सपनीको कुरा गर्दै छु म । सपनीमा एउटा जात्रा भाथ्यो र त्यस जात्राको सहभागी मैले आफ्नै जात्र भाको देखेँ । अझ यसो भनौँ मेरो होइन जात्रा गर्नेहरुकै सही मानेमा जात्रा भाको सपना देखेँ ।
ओखल्ढुंगाको मान्छे म । त्यहाँ वर्षौनी भदौको महीनामा थरीथरीका जात्रा हुने गर्छन् । तीनै जात्राहरुमध्ये एउटा जात्रा हुन्छ रोपाईँजात्रा । त्यही जात्राको सपना देखेँ । रोपाईँ जात्रा भनेपछि ओखलढुंगेहरुले बुझिहाल्छन् यो जात्रा कसरी संचालित हुन्छ । तर तपाईँ ओखलढुंगे हनुहुन्न भने त्यो जात्रालाई बुझ्नुहुन्न । त्यसैले मेरो सपनीको मर्म पनि बुझ्न तपाईँलाई गाह्रो पर्नेछ । अलिकति मैले त्यसबारेमा भन्नै पर्ने हुन्छ ।
रोपाईँ जात्रा भनेपछि बुझिहाल्नुभो होला यो जात्रा धान रोपाईँसँग सम्बधित छ । वर्षे मौसमको यो जात्रा असारे हीलेचाडको नक्कल हो । फरक यत्ति हो यो खेतमा हुन्न । सम्पूर्ण ओखलढुंगा बजारको सडकमा हुन्छ र कतै नबिराई एकछेउदेखि अर्को छेउसम्म हुन्छ । यो दिनभरी हुन्छ र नसक्दा रातमा पनि लम्मिन्छ । अझ रातको रोपाईँको रौनकै अर्को । झलमल्ल पेट्रोमेक्सको उज्यालोले कम सानदार बनाउदैन यो जात्रा ।
बुझिहाल्नुभो सडकमै हुने यो रोपाईँ एउटा नक्कल मात्र हो धान रोपाईँको । अर्थात सडकमा धान रोपाईँजस्तो उत्पादनमूलक कार्य भइरहेको हुन्न । तर जनसमुदायलाई त्यसै रोपाईँको महत्ता चखाउँदै मनोरन्जन प्रदान गर्ने कार्य भइरहेको हुन्छ । नक्कल मात्र हुन्थ्यो भने सायद यो जात्राको रुपमा स्थापित हुन्नथ्यो । मनोरन्जनको उद्देश्य थपिनाले यो जात्रा भो ।
बुझ्नुभो यसमा सही किसानहरु हुन्नन् मात्र कलाकारहरु हुन्छन् । खेतका उनै किसान पनि यहाँ मात्र कलाकार बनेका हुन्छन् । कलाकार पनि व्यवसायी कलाकार हैनन् । सामान्यजन नै स्वयमसेवी कलाकार बनेर घुसेका हुन्छन् । पोख्त कलाकारहरु हुन्नन् भनेको पनि होइन । सामान्यले त ठाउँ पाउँछन् भने पोख्तहरुको त भाउ यसमा झनै बढी हुने नै भइहाल्यो । बाजा बजाउने तथा कलात्मक अभिनय गर्ने भूमिकाहरुमा अलि साधना भएकैहरुको हालीमुहाली हुन्छ ।
पोख्त कलाकारहरुको हालीमुहालीको कुरा गर्दा तपाईँलाई लाग्ला यो जात्रामा भरमार नाचगान हुन्छ । त्यो त हुँदै होइन । कलात्मक अभिनय हुन्छ । नृत्यात्मक ताल पनि हुन्छ । तर सहीमानेमा नाँचगान हुँदैहुन्न । त्यसैले त यो अरु जात्राभन्दा विशिष्टको मानिन्छ । ढोल झ्याम्टा यसमा एकानाशले बजेको हुन्छ । बाग होइन भालु होइन किन डराउँछौ भन्ने बोलको गीतको धुन त्यसैमा हार्मोनियमहरु र बाँसुरीहरुले दिइरहेका हुन्छन् … तर नाचगान होइन सिर्फ रोपाईँकै कलात्मक नक्कल प्रस्तुत हुन्छ । अनि कलात्मकतामा नक्कल हो की नक्कलमा कलात्मकता हो त्यो चाहिँ भन्नै गाह्रो हुन्छ ।
बाजा बजाउनेहरु बाजा बजाउँदै सडकमा मन्द गतिमा अगाडि बढीरहेका हुन्छन् । ठीक उनीहरुको अगाडि त्यही बाजाको तालमा महिला रोपारे कलाकारहरु धान रोपेको नक्कल गर्दै छड्के छड्के सरेर अगाडि बढिरहेका हुन्छन् त्यो पनि छ्याम्मछायम्म एकै नाशले हात र खुट्टा मिलाउँदै रोपाईँ गर्दै । नृत्य यो होइन । नृत्यको भावभंगिमा र उछालकुद यसमा हुँदैहुन्न । एकोहोरो धानको वीऊ जमीनतिर छ्याम्मछ्याम्म रोप्न बढाएको नक्कल हुन्छ बाजाकै तालमा । अभिनय हो यो तर पनि बाजाको तालमा ।
रोपारेहरु थरीथरीको श्रृंगारमा एक लाइनमा रहेर एकनाशले अभिनय गर्दछन् । संख्या बढी भएमा दुइ लाइन वा तीन लाइन पनि बन्दछ । स्थान कम भएमा त्यो लाइन गोलाकारको रुप लिन्छ । जस्तो खेतमा हुन्छ त्यस्तै यसमा पनि रोपारेहरु महिला नै हुन्छन् । थरीथरीका श्रृंगार र भेषभुषाले जनाउँछ यो जात्रा जातजाती र वर्गीय हिसावले पूर्णरुपको समवेशी हो । जातजातका महिलाहरु कोही जुवाहिरात र राजसी ठाँटका रानी बनेका हुन्छन् त कोही चारहात र चारमूखे देवी । कोही अर्धनंगा गरिब किसान हुन्छन् त कोही गहना गुरिया र मूल्यवान पोशाक लगाएकी साहुनी । कोही डाक्टरनी त कोही ईाजयरर्नी । कोही मास्टर्नी त कोही विद्यार्थी । कोही साना उमेरकी बच्ची त कोही बुढी । अर्थात सबै भूगोलका सबै जातीका सबै पेशाका सबै उमेरका महीला प्रतिनीधिहरु यसमा हुन्छन् । महिला स्वयमसेवीको कमी हुनगयो भने ओखलढुंगे भाइहरु महिलाको परिधानमा स्वयमसेवी कलाकार बन्दछन् । त्यसो त महिलाहरु पनि पुरुषभेषमा नउत्रने होइनन् । इच्छाले जोकोही जे पनि बन्न सक्दछन् । तर नियम चाहिँ के भने रोपारेमा सीर्फ महिलाहरु मात्र हुन्छन् ।
पुरुषहरुचाहिँ बाउसे बन्दछन् । आली लाउने बाउसे । महिला कलाकारलाई पनि पुरुषको भेषमा बाउसे भई उत्रने छुट हुन्छ । अब बुझ्नोस् बाउसेहरु पनि नाच्ने होइनन् । उनीहरुका सम्पूर्ण अभिनय कोदाली खन्ने मात्र हुन्छ त्यही बाजाको तालमा । कोदाली पनि काठको बींडमा बाक्लो कागजको नक्कली बनेको हुन्छ । बाउसेहरु रोपारेहरु भन्दा ठीक अघि झ्या्म्मझया्म्म कोदाली चलाउँछन् । सबैको एकरुपको चाल हुन्छ । कोदालो खनाई ओर्काइ फर्काइ हात खुटट्ा र सम्पूर्ण शरीरको कलात्मक चाल बाजाको तालमा एक नाश देखिँदा यो कुनै पनि नृत्यभन्दा कम मनमोहक हुन्न ।
यी बाउसेहरु पनि समावॆशी चरित्रकै हुन्छन् । अर्थात सबै भूगोलका सबै जातीका सबै पेशाका अनि सबै उमेरका । मानौँ उनै रोपारेकाहरुका परिवारिक सदस्यहरु यसमा उपस्थित छन् ।
यत्रो कुरा गरिरहँदा तपाईलाई लागिरहेकै होला यो लेखकचाहिँ यो जात्रामा कहाँ कुन भूमिकामा थियो । मलाई पनि त्यो भन्ने हतारो नै छ । त्यही भनिन भने यो कथा नै कसरी पूरा होला एकछिन तपाईँलाई नै जात्राको छोटो परिचय दिन त्यता लागेको हुँ । अब म यता आएँ । सपनीको कुरो त अब सरु हुन्छ ।
सपनीमा म बाजागाजा बजाउनेमध्ये थिइनँ । रोपारे थिइनँ । बाउसे पनि थिइनँ । म रहेछु हली । हली र हलगोरु बेगरको रोपाईँ हुन्न नै । बस् म रहेछु हली । पहिले बिपनीमा कहिल्यै नखेलेको भूमिका मैले खेल्नपर्ने भइरहेथ्यो । सपनीको यस जात्रामा । गाह्रै थियो ।
कलाकारहरु कोही ढोल ठटाइरहेका थिए । कोही झ्म्याम्टा । ढोल र झ्यम्टाका गगनभेदी नादमा लयात्मक सूर दिइरहेका थिए हार्मोनियमहरु र बाँसुरीहरुले । जात्रामा सगाउनेहरु पछिपछि ताली बजाउँदै पछ्याइरहेका थिए । अब हेर्नुहोस् । हलीलाई न बाजाको तालमा केही गर्न मौका हुन्छ न आफ्नै तालमा । बाजाको रमझम एकातिर थियो । त्यही तालमा रोपारे र बाउसेहरु कम्मर मर्काइमर्काइ जीउ फर्काइफर्काई समूहमा एकनाशले झमझम नृत्यात्मक अभिनय गर्दै थिए । म भने असिन र पसिन नीरस भागदौडमा । सबै रमझम उतै । सबै दर्शकका ध्यान उतै । त्यो रौनकपूर्ण स्थितिसँग पूरै असम्बद्ध भएर उनीहरुभन्दा अगाडि अगाडि मैले नीरस नीरस हल चलाउने नक्कल गर्नुपथ्र्यो र त्यो पनि मान्छेको सोँच नभएको पशुलाई नियन्त्रण गर्दै । बाजाको सुर कता ताल कता सुर र ताल नबुझ्ने जानवरको अराजक ताललाई नियन्त्रण गर्दै मेरो दौडादौडी चलिरहेको थियो । हम्मे हम्मे परिरहेथ्यो मलाई ।
हलगोरुको भूमिकामा थिए मेरै दुइ साथी । मान्छेभन्दा गोरु बलियो हुने हुँदा गोरुको भूमिकामा सदा बलियै व्यक्तिहरु राख्ने चलन थियो र यी साथीहरु मभन्दा हदै बलिया थिए । साथी हुन् र पनि उनीहरु यस भूमिकामा साथि थिएनन् । गोरुमुखे मुखुण्डोको आवरणमा ती पूरै गोरु थिए । नाम राखिएथ्यो एउटालाई चलनचल्तीको माले र अर्कोलाई त्यसैको छन्द मिलाउन ताले । नाममा त छन्द मिल्यो तर तालमा बेछन्द । माले देव्रे ताक्दथ्यो भने ताले दाहिने । माले भीरपाखा ताक्दथ्यो भने ताले खान्कीतिर । मलाई त दुवैको ताल मिलाउँदैमा हम्मे । दुबैको काधँमा बाँसले बनेका जुवा नारिएका थिए र उनीहरुले त्यसलाई दुवै हातहरुले समातेका थिए । त्यस जुवालाई एउटा लामो बाँसको घोँचाले गाँसेर हलो बनाइएको थियो जसको अर्को छेउ म हलीले समातेको थिएं । मोरा गोरुहरु जबर्जस्ती आआफ्ना विपरित दिशातिर तानातान गर्दथे र मैले दुवैलाई तानेर नियन्त्रण गर्नु साह्रै अपठेरो थियो । एकमानेमा मलाई नै उनीहरुले घिसारिरहेका थिए । म नीरिह हलीको सही मानेमा विजोक भइरहेको थियो । तर दर्शकहरुलाई यॊ मेरो विजोक उपल्लो दर्जाको अभिनय प्रतीत भयो । उनीहरुलाई थाहा थिएन मेरो के हविगत भइरहेथ्यो । बाउसे र रोपारेको एकनाशको भाउभंिगमाभन्दा फरक स्वाद यतै पाए । एकपछि अर्को गर्दै सबैजसो दर्शकहरुको ध्यान मतिरै पल्टियो । उनीहरु उल्लासका साथ ठूलाठूला स्वरहरुले चिच्याउँन लागे । साइसाइ र सूईसूई सुसेल्न लागे । ताली ठोकेका ठोक्यै । म भने लखतरान । जात्रामा मेरै जात्रा भइरहेथ्यो ।
जात्रे अभिनयको पनि एउटा सीमा हुन्छ । त्यो विसे्र गोरुहरुले । सही मानेमै ती गोरु बने । दर्शकहरुको तालीले उनीहरुलाई झनै मत्याए । अनि त मलाई नै लछारपछार गर्न लागे । साह्रै हत्तु भएपछि मैले पनि जात्राको मर्यादालाई त्यागेँ । अनि फाली दिएँ हलोसलो । विजयले मात्तिएका मोरा गोरुहरु मुखुण्डोमुनि पूरै पशु थिए । हलो तान्दै जथाभावी अराजक ढंगमा कुँद्न लागे । दर्शकहरुको माझमा समेत पस्न हिच्किचाएनन् । पहिले त दर्शकहरुले रमाइलो मान्दै भागारे भाग गरे । तर पछि विस्तारै त्यसमा तिक्तता आउन लाग्यो । साँचै उनीहरुले अपच भागारेभाग गर्नपर्ने भयो । भाग्दा भाग्दै कति लडे र कति त भीडबाटै किचिएर घाइते नै भए । तैपनि मत्त गोरुहरुका पशुवत व्यवहारमा परिवर्तन आएन ।
यो हदलाई भीडले पचाएन । रमाइलो मनाउन आएका भिड एकाएक भड्कियो । केही बलिया दर्शकहरु उभिए गोरुहरुको प्रतिकार गर्न । गोरुहरुले बुझेनन् कि यो प्रतिकार थियो । जात्राकै मुडमा उनीहरुले उनीहरुलाई हान्ने अभिनय गरे । तर स्थिति अर्कै थियो । जात्रा भर्न आउने ती प्रतिकारी युवाहरुले गोरुहरुलाई आफ्ना अधिनमा लिए । अनि थुते गोरुहरुको मुखुण्डो । मुखुण्डो थुतिएका गोरुहरु अब मान्छे थिए । तर अब त स्थितिले अर्कै कोल्टो फेरिसकेको थियो । न उनीहरु गोरु भएर पशू हुनुको निर्वोधता पेश गर्न सक्थे न मान्छे भएर अनुनय विनय । उद्दण्ड भीडले उनीहरुलाई अब गोरु चुटाइ शुरु गरे । हलीको भूमिकामा रहेको म आएँ बीचबचाउ गर्न । तर अब त दर्शकहरुले जात्राको स्थितिलाई अस्वीकार गरिसकेथे । उनीहरुले गोरुहरुलाई मात्र होइन हलीलाईसमेत आक्रमण गरे । जात्रा भाँडियो । अरु कलाकारहरु पनि हली र गोरुहरुलाई बचाउन आए । तर अब उनीहरुमाथि पनि भीड खनिए ।
भीड पूरै अराजक थियो । अब कलाकारहरुले आफ्नै ज्यान जोगाउन पर्ने भयो । कलाकारको पहिचान मेट्न एकपछि अर्को गर्दै सबै कलाकारहरुले शरीरका जात्रे परिधानहरु फाले । मैले पनि हलीको परिधान फालेँ । तर पनि अर्धनंगा बनेका हामीहरु अझै चिनियौँ नै । भीडको लागि सबै नांगाहरु आततायी थिए । जे होस् जात्रालाग्ने बजार हाम्रा आफ्नै थियो । झ्यालझ्यालबाट परिवारजनले लुगाहरु फालीदिए हामीलाई बचाउन । दौडदो हामी सबैले नंगा जीउलाई ढाक्यौँ । हेर्दाहेर्दै अर्धनंगा हामी सबै कलाकारहरु अराजक भीडमै विलायौँ । भीडको सदस्य बन्नमै हामीलाई गनिमत थियो । हामी सबै भिडको नक्कल गर्दै त्यसैमा समायोजित भयौँ । हामीले पनि त्यही भागारे भाग गर् यौँ । मानौँ हामी पनि त्यही आततायी कलाकारहरुको खोजीमा थियौँ ।
भीडले नारा लगायो -“जनताको जात्रा गर्न पाइन्न !”
-“पाइन्न पाइन्न !”
सबै हामी कलाकारहरु पनि जनताको छद्मभेषमा चिच्याउँदै थियौँ -“पाइन्न पाइन्न !”
अर्थात् म गोरु तह लगाउन नसक्ने निर्धो हली पनि जनताकै स्वरमा नीरिह स्वरमा चिच्याउँदै थिएँ -“पाइन्न पाइन्न !”
2008-07-04
(स्रोत : Freenepal)