कथा : कृषिक्रान्तिको बहस र आमाको फोन

~सुदर्शन शर्मा~Sudarshan Sharma

माननीयज्यूहरुको सदनमा कृषिक्रान्तिको प्रसङ्गले प्रवेश पायो। रेडियो नेपालले बोल्दै थियो, ‘अन्न उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाइने छ।’ समाचार पनि कमै सुन्ने गर्छु अचेल। समाचारबाट निष्कर्ष निकाल्नै धौ-धौ पर्छ यहाँ। जे नहोलाजस्तो त्यो भैदिन्छ, जे हुनुपर्ने हो त्यसको अत्तो-पत्तो हुँदैन।
बाहिर अचानक पानी पर्न थाल्यो। पर्दा खोलिराखेको झ्यालमा एक-दुई बाछिटा उमंगले उफ्रिँदै टाँसिन आईपुगे। अनौठो आनन्द आउँछ पानी परेपछि बाहिर हिँड्नुपरेन भने। थोत्रै भएपनि फेसबुक चल्छ मेरो मोबाइलमा। कैलेकाहिँ खोलेर त्यतिकै छोडिदिन्छु। साथीहरु रिप्लाई गरेन भनेर रिसाउँदा हुन। यसो हेरेँ। स्नातकका दुई-चारसाथी अनलाइन मै रैछन्। स्नातकको चारबर्षे इञ्जिनियरिङ्ग पढाइ, जब मस्तिष्कमा सम्झेजति चित्र हरु कोरिन्छन् तब संसारका सबै बनेका या बन्न सक्ने चलचित्रको धज्जी उडाइदिन मन लाग्छ। अनलाइनमा साथीहरु देखेपछि घटनाहरु जोडजोडले ठोक्किन्छन् दिमागमा।
‘ओई क्यारेआछौ?’ यो नेपालीमा रमाइलो सम्बोधन गर्ने तरिका।

“क्यार्नु त्यतिकै।”

फेरि अर्को साथीलाई उही प्रश्न तेर्स्याईदिएँ।

उस्ले अश्लील शब्द मिसाएर उत्तर दियो। रमाइलो निम्ति रफ बोल्ने बानी नि उस्को।

“हाहा” लेखिपठाएँ।

 “तिमी?” पैलेको साथी।
 “म पनि….” मेरो उत्तर।
पानी परिरहेकै छ बाहिर। घरबाट आमाको फोन आयो। सानैमा ‘मम्मी-ड्याडी’ भन्न किन सिकाए कुन्नि? ‘आमा-बुवा’ वा ‘माता-पिता’ भन्ने कैयौँ प्रयत्न गर्दा पनि सकेको छैन।
‘मम्मी दर्शन,’ उठाएँ फोन।
‘आशीर्बाद कान्छी छोरी,’ मम्मीले असीम माया पोख्नुभो। यसरी छोरालाई छोरी र छोरीलाई छोरा भनेर माया दर्शाएको देखी-बुझी आएकोले होला साह्रै फुरुङग हुन्छु मम्मी-ड्याडीले छोरी भनिदिँदा।
 ‘के छ त नि मम्मी? क्यार्नुभह?’
‘के हुनु। पानी परेओहैन। धान रोप्नि बेला भओ। काम अर्नि मन्छे महङ्गा भए। तेई पनि खोजीमोर्दा नि पाइन्न। तिमी यता आम्चेउकि आम्दिनौ नि?’
 यौटा असीमित उत्तरको खोजी जस्तो लाग्यो यो प्रश्नमा। ‘जीवन के हो?’ भनेर जसलाई सबैभन्दा पैलो प्रश्न सोधियो। जस्लाई ‘बाँच्नु कसरी?” भनेर पाइलैपिच्छे प्रश्न सोध्दा सोध्दै बाँच्न सिकियो। आज उनै ‘धर्ती’लाई के उत्तर दिनु, यो विवेचनात्मक प्रश्नको? असमञ्जस्यमा परेँ।
बाहिर पानी परिरहेकै छ। यसबीचमा मैले काम खोजिन या पाईन म के भनुँ। फुर्सदमै थिएँ तर व्यस्त थिएँ। के काम छ भनुँ आमालाई? गाउँमा दशैँताका पुग्दा बाँझा खेतहरुमा उम्रेका सिरूहरुले चसक्क मन घोच्दथे। धेरैका घोच्दा हुन। मन मडारियो उत्तर भेटिएन।
फ्याट्ट उत्तर फुर्यो।
‘मम्मी! पढाइ नि छ। काम नि पाइन्च कि झैँ छ। यता-उता पैसा खोजेर अलिअलि रोप्नु। सप्पै त रोप्न पर्दैन। धेरै दुख्ख नअर्नु के।’ अरु  धेरै कुरा भए त्यसपछि।
‘अब आम्नि त दशेआँ त होला नि हैन?’ मलीनो स्वरमा भन्नु भो।
म भक्कानिएर विस्तारै भनेँ, ‘अँ अब त्यहि होला मम्मी।’
 रेडियोमा कृषिक्रान्तिको कुरा चलिरहेकै थियो। मनमा ज्वारभाटा उठ्यो। थानकोटबाट यो सहरलाई ‘आची गर्ने ठाउँ’ देखाएर कृषिक्रान्ति गर्न गाउँ फर्किउ जस्तो लाग्यो। हिलोसँग घिन मान्ने यो घिनलाग्दो सहरको लगभग मध्यमा रहेको अन्तर्राष्ट्रिय केन्द्रमा केको कृषिक्रान्तिको सत्य वहस हुँदो हो?

(स्रोत : Hamropipalbot)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.