प्रिय सपना,
पूरा हुन खोज्छन् मेरा रहरहरू
चुलिन खोज्छन् सगरमाथाझैं आकांक्षाहरू
हार्न जान्दैनन् मेरा अनन्त कल्पनाहरू
साँघुरो परिवेशमा अटाउन नमानेर
चाहन्छन् विस्फोट हुन सपनाका बाढीहरू
भत्काएर सीमिततालाई
उन्मुक्त म
सपनासँगै हुत्तिन सकूँ
तिम्रो भूगोलभरि
नील गगनको विराट चुलीसम्म
पखेटा हालेर
पुष्पित अनि पल्लवित होस्
प्रेमिल अमरता ।
तिम्रो प्वाँखमा सजाएर गुलाफ
सयर गर्न सकूँ
सयपत्री भावगङ्गा छचल्काउने नौकामा
जहाँ मृत्यु पराजित होस्, मृत्योर्मा अमृतं गमय…।
प्रिय सपना,
त्यति बान्की परेको छैन मेरो जीवन
तर बान्किला रोजाइहरू
समुद्रगामी नदीझैं
सदैव सोझिन्छन् तिमीतिर ।
तिम्रो प्रेमिल वक्षमा अड्याउँदै शिर
तिम्रो केशराशिको छहारीमा
स्नेहले लफ्रक्क भिजाउने कामनामा
विचारशून्य शिर
परिस्थितिको प्रहार बज्रनुभन्दा पहिल्यै
सर्वाङ्ग भिजोस् ।
सपनामै हराउन सकूँ म सपना
स्वस्थ आमाको गर्भस्थ भ्रूणझैं
पूर्ण सुरक्षित
सम्पूर्ण समाहित हुन सकूँ
तिमीमै आफूलाई समेटेर
दूधमा मिसिएको पानी झैं
म तिमीमै समाहित हुन सकूँ ।
(स्रोत : Kantipur – Saptahik)