लामो कथा : यो कस्तो प्रेम

~राजु दाहाल~Raju Dahal

भाग १

रात करिब करिब अनिँदो बित्यो, बिहान युगौँ सरि लाग्यो । सत्र चोटी सत्र लुगा फुकाल्दै र लगाउँदै गरेर तयार पारेँ आफैँलाई, आज मेरो बिबाह जो हुँदै थियो । त्यो स्वर, स्वरको माधुर्यता, मेरो जिबन, मेरो प्राण, मेरो मुटुको धड्कन आज साक्षात अवतरीत हुँदैथियो मेरै सहरमा ।

हो, केहि बर्ष देखिको फोनको कुराकानी सँगै पलाएको आत्मीयता, भावनात्मक सम्बन्ध र नढाँटी भन्दा हामी दुईको प्रेम आज मिलन सम्मको यात्रामा थियो । कस्ती होलीन् ? मन मनमा उब्जीरहने र उब्जीरहेका प्रश्न थिए । उनको आवाजसँगको मेरो कल्पनामा कहिले कलिउड त कहिले बलीउडका नायीकाहरुसँग उस्को रुपरेखा मिल्थे वा भनौँ मिलाउँथे । पाँच फिट पाँच ईन्चको उचाई, ५० केजीको शरीर, ठीक्ककी गोरी, कम्मरसम्म आईपुग्ने कपाल यस्तै भनेकी थिई उस्ले आफ्नो बारेमा । कम्मर, छातीको साईज सोध्न मन भने नलागेको होईन तर म मा त्यो आँट भएन उस्ले कहिल्यै भनिन् ।

दुबैले तोकेको भन्दा केहि समय अगावै म पुगेँ भेटघाटस्थलमा । अबको प्रतिक्षा झनै अप्ठेरो रह्यो । पहिलो भेट, मन भित्रको ब्यग्रता, उडौँ उडौँ लाग्ने उमङ्ग । पलहरु बर्षौ लाग्दैथे, छटपटीको कुरै बेग्लै ।

“मेरो हातमा हरियो झोला हुनेछ । अनि तिमीलाई मन पर्ने सेतो कुर्तासुरुवालमा आउनेछु म ।” – उनले भनेको सम्झिएँ ।

“म कालो जिन्स र हरियो टीसर्टमा आउनेछु ।” – मैले भनेको थिएँ । तर भेटलाई रोमाञ्चक र अबिष्मरणीय बनाउने योजना गर्दै म बिल्कुलै फरक परिधानमा गएको थिएँ । म उनकै छेउमा गएर उभिनेछु, उस्लाई जिस्काउनेछु । उनी रिसाउने छीन केहि बेरमा फकाउनेछु । वा उनलाई बोलेरै जिस्काउनेछु सोचेर स्वर बदल्न कहिले तालु र ओठ जोडेर त कहिले जिब्रो बटारेर प्रयास पनि गरेको थेँ ।

“राज म तिमी बिना बाँच्न सक्दीन । हुन त तिम्रो र मेरो कहिल्यै देखभेट भएको छैन तै पनि तिमी मेरो जिबन बनिसक्यौ । तिम्रा हरेक शब्दहरु मेरा आत्मा हुन तिम्रा हरेक हौसला मेरा जिबनका मार्ग दर्शक हुन । म किन तिमी प्रती यस्तरी हुरुक्क हुन्छु थाहा छैन । म तिमीलाई माया गर्छु, सिर्फ तिमीलाई ।” – उनी बेला बेलामा भन्ने गर्थिन ।

“सुजु, म तिम्रो योग्य नहुन पनि सक्छु नी, हैन र ? कालो ध्वाँसे केही न केहीको ल्वाँठ ……….।”

“तिमी जे हौ जो हौ अब मेरो हौ । तिमी जस्तो छौ मलाई स्वीकार्य छौ । अब मलाई तिम्रो बन्न कुनै पनि शक्तीले रोक्दैन ।” – उस्ले मेरो कुरा बिचमै काटेर भनेकी थिई ।

म हाँसेको थिएँ उस्को समर्पण र पागलपनमा । उस्को पागलपन भनौँ मायामा समर्पणले एउटा सिमा नाघिसकेको थियो । उस्को भएको सबै सम्पती बेचेर आएको लाखौँ रुपैया उस्ले मेरो बैँक खातामा जम्मा गरेकी थिई भनौँ सुम्पेकी थिई ।

मैले ख्याल ख्यालमै भनेको थिएँ – “ती सबै सम्पती लिएर भागेँ वा मेरो फोन नं परिवर्तत गरेँ भने के गर्छौ?”

मज्जाले हाँसेकी थिई अनि भनेकी थिई –“मेरो अन्तरआत्मा गलत हुन सक्दैन कहिल्यै । अनि मेरो प्रेम पनि, म आफैँलाई अनि भगवानलाई भन्दा पनि बढ्ता बिश्वास गर्छु तिमीलाई ।” म अवाक् भएको थिएँ र छु पनि । मलाई प्रत्येक पल डर लाग्थ्यो उस्को बिश्वासलाई जिबीत कसरी राख्ने भनेर ? मेरो दुख, मेरो खुशी, निराशा अनि म सामान्य बिरामी भएको पनि उनी सजिलै थाहा पाउँथिन । म सकेसम्म लुकाउन खोज्थेँ, ढाँट्न खोज्थेँ, तर मेरा केहि शब्दसँगै उनी सबै थाहा पाउँथिन् । म छक्क पर्थेँ उ अनि उस्को म प्रतिको ब्यबहारले ।

“हेर, राज म टुहुरी केटी जिबनमा मबाट एउटा ठुलो गल्ती भएको छ । म तिमीलाई त्यो सबै कुरा भन्न चाहन्छु ।” – उस्ले निकै पटक रुदैँ मसँग यो कुरा भनेकी थिई । तर मैले सुन्न चाहिँन । उस्को प्रायश्चीत मलाई काफी थियो ।

“भुलिदेउ ती गल्तीहरु, अब नयाँ जिबनको शुरुवात गर्नुपर्छ तिमी अनि म मिलेर ।” – मैले यस्तै यस्तै भनेको थिएँ उस्लाई ।

ख्याल ख्यालमै शुरु भएको फोन बार्ता क्रमशः सिरीयस मोडमा थियो । म पनि अति नै माया गर्थे उस्लाई तर उस्को जति चाहिँ हैन नै । उ सबै थोक छोडेर मेरो साथ नयाँ जिन्दगी बिताउन आएकी थिई । बालाजु पार्कमा भेट्ने रहर थियो पहिलो पटक उस्लाई अनि सिधा पशुपतीको दर्शन गरेर जिन्दगीको नयाँ यात्रा शुरु गर्ने ।

“हेर राज, अब मेरो तिमी बाहेक संसारमा कोही र केहि छैन । म केहि नभएर पनि परिपुर्ण छु भरिपुर्ण छु । किनकी मेरो साथमा तिमी छौ ।” – उस्ले सबै छोडेर र त्यागेर आउने बेलामा मलाई भनेकी थिई । म केही उत्तर दिने स्थीतीमा नै थिईँन । उस्को माया अनि बिश्वासले मलाई थिचेको थियो । देख न भेट मात्र फोनमा गरेको कुराको भरले जिन्दगी सबे सुम्पिने उसँग मलाई डर लाग्थ्यो उस्को अगाडी म खरो उत्रन सकुँला त ?

अतितको सोचाईसँगै ब्यग्रता बढ्दो छ, भेट्ने समय घर्किसकेछ । भन्न त बाईसधारा अगाडी नै भनेको हो । कि पार्कमा अन्तै कतै आएर बसेको हो कि ? यस्तै सोचेर बाईसधारालाई एक फन्को लगाएँ । नयाँ पालुवाको आगमनमा आफुलाई बिसर्जीत गरी बाटो र माटो भरि छरिएका पुराना पातहरु जताततै थिए तर ती पात झरेरै पनि सुखी थिएनन् ………………………………

भाग २

हावाको झोक्का सँगै स्थान बदल्नुपर्ने अनि मान्छेका पैतालामा कुल्चीएर रहनुपर्ने, बढ्दो उमेरका पालुवाहरु यीनै बुढा र असहाय पातहरुलाई जिस्काएर हाँसीरहेको भान हुन्थ्यो । तर प्रेमील जोडीहरु तिनै खसेका पातहरुको चकटी र ओछ्यान बनाएर बस्दा र पल्टीदाँ पक्कै पनि ती पातलाई सन्तुष्टि मिल्दो हो अनि नव पालुवाले छिटै बोटबाट झर्ने चाहना गर्दो हो । यी प्रेमी जोडीहरु कति निर्भीक अनि कती मस्त

हातमा हात, एकअर्काको साथ
गुनगुन बात, अनि यौवनको मात ।

कति भाग्यमानी यीनीहरु जो एकअर्कालाई भेटेर र पाएर प्रेम गर्न सक्छन् । जस्ले यत्रो भिडभाडमा पनि निष्फीक्री एकअर्काको अधरपान गर्न सक्छन् । मैले मेरो जोडी कल्पना गर्न साबधानीपुर्वक केहि जोडीलाई नियालेँ । मजाले हाँसो उठ्यो, समय स्थानलाई ख्याल राखेर मैले हाँसो लुकाएँ । कस्तो नमिलेको जोडी लाग्ने राम्रो केटा नराम्री केटी, नराम्रो केटा राम्री केटी, उमेरमा निकै फरक देखिएका, मोटाईमा धेरै नै अन्तर भएका यस्तै यस्तै । फेरि आफैँले सोचेँ, प्रेमले यी कुनै कुरामा बिश्वास गर्दैन । मेरी उनी पनि त अन्धी वा अपाङ्ग यस्तै केहि हुन सक्छिन् । के मैले उनलाई छोडिदीने त ? तर अर्को मन ढुक्क थियो मेरो सपनाको राजकुमारी हुन् उनी । मेरो चाहना र सपना भन्दा पनि उम्दा हुनेछिन् उनी ।

कसरी भेट्ने ? हाई भन्दै हात हल्लाउने वा सुजु भनेर कराउने वा गएर आई लभ यु भन्दै अगाँलो हाल्ने वा ………….. के के ? म एकदमै कन्फ्युज थिएँ । अनि उनले के गर्लिन त ? पशुपतिको मन्दिरमा गएर जोडी बाँधे पश्चात उनलाई म मेरो घर लगेर जाँदा कस्तो अनि के होला ? म धेरै तनाब अनि थोरै रोमाञ्चक थिएँ । रातो साडी, चुरापोते र थाहा भएसम्मका बिबाहका लागी आबश्यक सामग्री जुटाईसकेको थिएँ मैले । पहिलो मिलनको लागी आफ्नै ओछ्यान पनि सजाउन लगाईसकेको थिएँ । मलाई आजको प्रत्येक पलहरु बिशेष र खास बनाउनु पर्ने थियो ।

“सुन सुजु, गल्ती मान्छेबाटै हुन्छ । तिमीमात्रै हैन म पनि मान्छे हुँ, मेरा पनि कैयन गल्तीहरु छन् । अबचाहिँ हामीले जानी जानी कुनै गल्ती गर्नु भनेको पाप हो । बिगतका कुरा छोडिदेउ । अब हामीले एकअर्काप्रती इमान्दार र बफादार रहनुपर्छ ।” – उनलाई मैले पटकपटक सम्झाएको थिएँ । उनको जिबनको एकै गल्ती मैले कहिल्यै सुन्न चाहिँन ।

“राज, कतै यहि एउटा कुराले हाम्रो जिबनमा भुईँचालो नल्याओस । मेरो तिमी भन्दा बाहेक अरु कोही छैन संसारमा । मेरो जिबनको आशा, मेरो बाँच्ने भरोशा तिमी नै हौ । बरु म तिम्रो दासी भएर बाँच्न स्वीकार गर्छु । तर प्लीज एकपटक ………..।” – उ अझै उस्का कुरा नै भन्दै थिई ।

“सुजु, अब पनि तिनै गल्तीका कुरा ग¥यौ भने म तिमी सँग साँच्चीनै बोल्दिन ।” – मैले उस्को कुरा बिचमै काटेको थिएँ । तब उनी रुन्चे हाँसो हाँसेकी थिईन् ।

म बाईसधाराको माथिपट्टी उभिएर गेटतर्फ हेर्न लागेँ । हरियो झोला अनि सेतो कुर्तासुरुवाल कतै देखिँन कतै भेटिँन । मेरा नजर बाईसधाराकै अघिल्तीर गुलाबी साडीमा केहि खोजीरहेकी एक युवती तिर प¥यो । हातमा एउटा झोला बोकेकी उ कसैको प्रतिक्षामा वा कसैको खोजाईमा रहेकी प्रष्टै हुन्थ्यो । उचाई एकदम पाँच फिट पाँच ईन्च, तौल पनि त त्यस्तै नै होला । रङ्ग भनेजस्तै, अनि कम्मर सम्म लर्किएको कपाल । सबै बटुवाका एक नजर त्यता लागेकै हुन्थ्यो ।

“कतै मेरै जस्तो योजना बनाएर मेरी सुजु त आएकी हैनन् । हे भगवान, मेरी सुजु यहि भईदिए हुन्थ्यो ।” म बोल्न थालेँ एक्लै । उस्ले आफ्नो नजर चारैतिर लगाई र केहि पाईला पर रहेको बेन्चमा गएर बसि । खै कसरी म पक्का भईसकेको थिएँ उ नै मेरी सुजु हो भनेर ।

अन्तीम निर्णयको खातिर मैले फोन लगाएँ । दुई घण्टि दिएँ, उनले फोन निकालीन् झोलाबाट । उनले कुनै नम्बर डायल गरिन, मेरोमा सुजुको फोन आयो । म झन्डै चिच्याएको खुशीले तर फोन उठाईनँ मैले । पुनः डायल गरेँ फोन उनैले उठाईन मैले केहि नबोली काटिदीएँ ।

मेरी सुजु मेरै अगाडी थिईन केहि मिटर पर, मात्र केहि मिटर पर । अनि हाम्रो मिलन केहि सेकेण्ड पर, मात्रै केहि सेकेण्ड । पहिलो भेट केहि रोमाञ्चक बनाउने योजना मुताबिक उनी बसेको ठाउँ तिर लस्किएँ । मनका भावहरु म सोच्नै सक्दिन । एक दुई तिन चार………… मेरा पाईला लस्किए सुजुकै तिर । म चुम्बक झैँ खिचीदैछु निरन्तर – निरन्तर ।

म बिल्कुलै सुजुको दाहिनेतिर केहि पाइलाको दुरीमा छु, मेरी सुजु अगाडी फर्किएर एकतमासले हेरिरहेकि छिन् गुलाबको फुललाई । म सोच्छु मेरी सुजुलाई अँगालोमा लिएर चुमुँ लगातार अनि लगातार । मेरी सुजुलाई मेरो सम्पुर्ण मायाले नुहाईदिउँ, यतिखेरसम्म साँचेको माया एकैपटक खन्याउँ । मेरी सुजु, मेरी मनकी रानी, मेरो जिन्दगी, मेरो बाँच्ने आधार ……. । म त्यसबेला कुनै पनि नाटक गर्न सक्दीन, न त जिस्काउन न गीत नै गाउन । मेरो धड्कन दौड्यो, हैन रहेछ सर्टको खल्तीको मोबाइलको भाईब्रेसन रहेछ । हेरेँ, सुजुको फोन । मेरै अगाडी सुजु कानमा फोन टाँसेर मलाई फोन गरिरहेकी थिईन् ।

फोन उठाएँ मैले तर छेलिएर ।

“राज, प्लीज आज नतड्पाउन । मसँग आज तिमीलाई कुर्ने सामथ्र्य छैन के । म ब्यग्र छु, थोरै ढिलो ग¥यौ भने म त मर्छु बरु ।” – उस्ले अनुनय पुर्वक भनेकि थिई ।

“म तिम्रै अगाडी छु सुजु । केहि पाईलाको दुरिमा……..।” – म यति बोलेर उस्को अगाडी आएँ । उनी उठेर मलाई हेर्दै थिईन । केहि पाईलाको दुरि थियो हाम्रो भेट हाम्रो मिलनको लागी…. सिर्फ केहि पाईला । म बिस्तारै पाईला चाल्दै उनको अगाडी आएँ उनी मलाई नै एकटक हेर्दै थिइन् ।

जब उनको अनुहारमा आखाँ जुध्यो, मेरो पाईला अर्कै तर्फ मोडियो मेरो हात लल्याकलुलुक भएर मेरो मोबाइल त्यहीँ खस्यो । म उनी भएको ठाउँ कटेर लगातार अगाडी बढेँ उनी बोलाउँदै थिईन । मलाई सपना जस्तो लागीरहेको थियो आवाजहरु पनि ….।

म सरासर बाटोमा निस्कीएँ । शहरलाई साँझले छाँद हाल्ने कोशीस गर्दै थियो भने असंख्य बत्तीहरु शहरलाई साँझको छाँदबाट निकाल्ने प्रयास गरिरहेका थिए । म र मेरो मोटरसाईकल लगातार रीङ्गरोडबाट अगाडी बढ्दै थियौँ बढ्दै थियौँ ………………..।।

भाग ३

म कुन झोक्कामा रीङ्गरोड कटेर भक्तपुरको सिद्धपोखरी पुगीसकेछु । मोटरसाईललाई पार्कीङ्गमा रोकेर हेलमेट फुकाल्न टाउकोमा हात लग्दा ज्ञात भयो कि यती लामो यात्रा बिना हेलमेट तय गरेको रहेछु मैले । मन भक्कानिरहेको थियो, आशुँले परेलिका डील नाघीरहेका थिए, नमिठो कम्पन थियो शरीरमा, पाईला सर्नै मानिरहेका थिएनन् । जसो तसो पोखरी छेउको सिँढीमा गएर बसेँ ।

यहि पोखरी जहाँ म दुखी हुँदा आईदिन्थेँ र खुशी हुँदा पनि । मेरा कैयौँ दुख र सुखका पलहरुको साक्षी बनेको छ यो पोखरी । म रोएका पल मेरा आशुँ आफैँमा समाहित गरेको छ र मैले हाँसेको बेलामा सँगै खुशी भएको छ यो पोखरी । एउटा अजीबको आकर्षण हो यो पोखरी म उस्लाई हेर्न सक्छु, छुन सक्छु , आँशु खसाल्न सक्छु त थुक्न पनि सक्छु । उ मसँग रिसाएको कहिले पनि थाहा छैन मलाई । घण्टौँ यसका तिरमा बसेर बिताएको छु मैले कैयौँ मिठा नमिठा पलहरु ।

खै अनजानमै आजपनि आईपुगेछु यहिँ । एउटा गल्ती अनी सुजु, मोबाईल हुँदै मेरो मनमा अर्को नाम पनि आईरहेको थियो, शब्द । हो शब्द, मेरो प्यारो भाई शब्द । उ मलाई दाई भन्ने गथ्र्यो म उस्लाई भाई । चिनजान त केहि बर्ष देखिको मात्रै हो तर पनि उस्को ब्यबहार र आत्मीयताको कारणले हामी नजिक थियौँ ।

उस्का हरेक कुराहरु मलाई भन्ने गर्दथ्यो उ । शब्द केटीको मामीलामा अलिक बदमास थियो । एकै भेटमा मायाको प्रस्ताब राख्न हिम्मत गर्न सक्ने ब्यक्ती उ । मैले देख्दा देख्दै कैँयन केटीहरु र उनीहरुको आफन्तहरुको जिबनमा चट्याङ्गको उज्यालो भर्न सफल थियो उ । जसरी चट्याङले एकैपल उज्यालो छरेपनि यसको बज्रपात र यसको आवाजले धेरै मन र तनहरु तहसनहस पार्छ, ठीक शब्द पनि त्यस्तै थियो । मेरो सम्झाउने र बुझाउने प्रयास पुरै असफल भएका थिए । पछि त मैले सम्झाउन छाडिसकेको थिएँ ।

उस्का धेरै केटी साथीहरु मध्ये एक थिईन सुजाता । उ भन्ने गथ्र्यो – “दाई, मैले मेरा सबै केटीसाथीहरुलाई बिताईसकेँ । तर एउटै सुजातालाई मात्रै बाँकी छ । कस्तो खतरा छ भने केहि यताउता कुरै गर्नै हुन्न उसँग । तर म जे उपाय गरेर भए पनि छोड्दिन् दाई त्यसलाई ।”

मलाई खासै मतलबको कुरा थिएन त्यो । उस्को कुरा एक कानले सुनेर अर्को कानले उडाईदिएको थिएँ मैले । केहि महिना पछाडी उस्ले एकदिन मलाई भेटेर अर्को कहानी सुनाएको थियो र सँगसँगै मोबाईलमा एक लोभलाग्दो केटीको केहि भिडीयो र तस्बीरहरु पनि देखाएको थियो । हेरेँ, मलाई त्यो मान्छे पनि मन प¥यो ।

“केटी त राम्री रैछे नी कसरी फेला पा¥यौ ?” – मैले सोधेको थिएँ शब्दलाई ।

“आँट हुनप¥यो नि दाई ।” उस्को गर्बिलो जवाफ थियो । “त्यही सुजाता त हो नी दाई यो ।”

“यस्ता कुरामा आँट नभएको राम्रो भाई । कसैको जिबनमाथी खेलबाड गर्नु पाप हो ।” – मैले सरल भाषामा उत्तर दिएको थिएँ ।

“खेलबाड नगर्नु चैँ पाप हो दाई । उनीहरुको आशा र चाहनामा किन बज्रपात गर्ने ?” – उस्को मनको कुरा जवाफ बनेर आएको थियो ।

मोबाईलको फोटो र भिडीयो हेरेपछि उस्ले त्यसको बारेमा यसरी बताएको थियो मलाई – “म यस्को शहरमा जाँदा मेरो दाईको घरमा कोही नभएको मौका पारेर उस्लाई कफि खान बोलाएँ । कफीमा केहि ट्याब्लेट खान दिएपछि केटी ढलीहाली त्यसपछि त त्यसको एक एक कपडा………..।” – मैले अगाडी सुन्न चाहिँन वा सकिँन तर उ बोल्दै थियो । उसलाई गाली गर्न पनि मन लागेन अनि सम्झाउन पनि ।

बिचरा एउटा अर्को केटी चट्याङ्गको सिकारमा परी, चट्याङ्ग पनि के भन्नु र ? यसपटकको उस्को हर्कतले भने म उस्लाई घृणा गर्न लागेको थिएँ र घृणा कै फलस्वरुप शब्दसँगको सम्बन्धलाई अन्त्य गरेको थिएँ मैले । मलाई के थाहा ? त्यो चट्याङ्ग मेरो सुजुको जिबनमा परेको थियो भनेर, जस्को सिधा बज्रपात मेरो जिबनमा पनि परेको थियो । सुजाता उर्फ सुजुका केहि टुक्रा अश्लिल भिडीयोहरु अझै मेरै मोबाईलमा बाँकी थियो । मोबाईल निकाल्न खोजेँ, थिएन कतै ।

निकै बेर सोचेँ, धेरै सोचपछि लाग्यो आखिरमा यस्मा मेरि सुजुको के दोष अनि के गल्ती र ? उस्ले ती कुरा मलाई नभन्न पनि त सक्थीन नी ? बरु मैले पो उनले भन्न खोजेको अनेकौँ प्रयास रोकिदीएको थिएँ । प्रश्न सँगसँगै उत्तरहरु पनि आए मनमा ।

“सुजु, हे भगवान ! कहाँ जान्छीन् उनी यो रातमा । सम्पुर्ण संसार त्यागेर मेरै शरणमा आएकी सुजुलाई कसरी त्यस्तो बेवारीश छोड्न सक्छु म ? किन म यती धेरै स्वार्थी भएको मैले सुजुलाई भेट्नुपर्छ । हो, मैले मेरी सुजुलाई भेटेर माफी माग्नुपर्छ ।” – मेरो एक मनले भन्यो ।

“हैन, उनको बारेमा त्यती धेरै थाहा हुँदा हुँदै पनि म कसरी ………..? हैन म कुमारी केटीलाई मात्रै जिबनसाथी बनाउँछु ।” – मेरो अर्को मनले भन्यो ।

“तँ कस्तो बेवकुफ, तेरो आफ्नै अतीत हेर । तेरो सेरोफेरोका मानीस हेर । तँ नै भन्न सक्छस् तँ अहिलेसम्म सत् मा बसेको छस् भनेर ? तैलेँ तरा गल्तीहरु सुजुलाई भन्न प्रयास गरिस् ? अँह, भन्छु भनेर सोचेको पनि छैनस् । सुजु त कति महान हरेक पटक त्यो गल्ती मलाई सुनाउन खाजेकी थिईन उन्ले । जुन उन्ले जानेर गरेकी पनि होईनन् ।” – पहिलो मनले बोल्यो र बिजेता पनि पहिलो मन नै भयो । म सिद्धपोखरीको गेटको बाहिर आएर मोटरसाईकल समाउने बित्तीकै एकाएक सारा भक्तपुर उज्यालो भयो । भर्खरै लोडसेडीङ्ग सकिएर बत्ती आएको रहेछ मेरो बुद्धि र बिबेकमा जस्तै ।

म नजिकै रहेको मोटरसाईकलको हेलमेट टिपेर, साँच्चै भन्दा चोरेर एकाएक बत्तीएँ मेरी सुजुलाई लिन, मेरी सुजुलाई भेट्न । उनी मेरो लागी गंगा झैँ पबित्र छिन्, हिमाल झैँ चोखी छिन् ।

बाटोभरी भगवानको पुकारा गरेँ, म आस्तीक नै भएपनि भगवानसँग केहि मागेर पाईन्छ भन्ने बिश्वास पटक्कै थिएन मलाई । तर आज सबै भुलेर गणेशलाई लड्डु देखि कालीलाई बोका बलि दिनसम्म तयार भईसकेको थिएँ सुजुलाई सकुशल भेटिएको बदलामा । मनमा बिभीन्न शंका उपशंकाले दरिलो डेरा जमाएको थियो ।

“कतै मेरी सुजुलाई ……???” – मैले अगाडी सोच्ने आँट गरिँन । उनको हालत सम्झेर म रोईरहेको थिएँ, हेलमेटभित्रै चिच्याएर ।

बालाजु पार्क पुगेँ । पार्क बन्द भईसके पनि गेटमा केहि मान्छे थिए । केहि प्रयास र याचना पश्चात म भित्र जान पाएँ । पहिले उनी बसेको बेन्चमा पुगेँ मधुरो उज्यालोमा एउटा झोला लडिरहेको थियो । चिनेँ मैले त्यो झोला मेरै सुजुको थियो । झोलामा केहि चक्लेट थियो माथिबाट, अनि थियो मेरै नाम लेखिएको उनीको स्वेटर जुन उन्ले आफ्नै हातले तयार गरेकी थिईन मेरो लागी ।

“सु…..जु, सुजु, मेरी सुजु……..।” – म त्यही बेन्चमा घोप्टीएर चिच्याउन लागेँ त्यही स्वेटर च्यापेर, पार्कका सुरक्षाकर्मीहरु जम्मा भए । मैले सुजुको बारेमा सोधखोज गरेँ केहि बेर अगाडी बाहिरीएको थाहा पाएँ ।

हतार हतार म बाहिर आएर नजिकैका होटल तथा पसलमा हेरेँ बौलाहाजस्तै दौडेर बोलाउँदै । कतै भेटिन अनि देखीन मेरी सुजुलाई । हतार हतार मोटरसाईकल चढेर माछापोखरी देखी नयाँबजार सम्म खोजेँ, तर सब बेकार अनि बेकार ……।

मैले आफ्नै जिन्दगी सखाप पारेको थिएँ । भेटीईनीन् सुजु कतै, मलाई थाहा थियो सुजुको कोही आफन्त थिएनन् काठमाडौँमा । न त उनलाई काठमाडौँको बारेमा केहि थाहा नै थियो । मैले धेरै फन्को लगाएँ बालाजु वरिपरि रुदैँ अनि कराउँदै ….। कतै भेटिँन सुजुलाई, पाईसकेको मेरी सुजुलाई पुनः गुमाएँ । अब म कसरी माफी दिउँ आफैँलाई, अब म कसरी बाँचौ कसैको बिश्वासको हत्या गरेर अनि आफ्नै जिन्दगी गुमाएर ….।

मैले आफुलाई मानसीक र शारीरीक दुबै रुपमा शिथील पाएँ । गल्तीको प्रायश्चीत गर्नु नै थियो, गर्ने भएँ । म सरासर रानीपोखरी पुगेँ । रातमा शहरको बत्तीको प्रकाशले पोखरी रहस्यमयी देखिन्थ्यो । शहर सुतिसकेको थियो । कोलाहल कतै गायब थियो । केहि माग्ने र सडक बालक त्यतै उतै पल्टेका थिए । म एउटा डरलाग्दो अठोट बोकेर शान्ती बाटीका नजिकैबाट फलामे बार चढिरहेको थिएँ । हिक्क – हिक्क रोदनको हिक्का छाड्दै…………………।

भाग ४

निकै सकससाथ बार चढेर रानीपोखरीको किनारामा पुगेँ । रातको मौसम चिसै भएपनि मलाई भने गर्मीले पसिना आईरहेको थियो । सर्ट फुकालेर किनारामा रहेको घाँस माथि राखेँ क्रमशः जुत्ता र मोजा खोलेर पोखरीमा खुट्टा डुबाएर बसेँ एउटा नमिठो चिसोपन छायो शरीरभरी ।

“भोली बिहान कसैले मेरा यी कपडा र जुत्ता देख्दो हो अनि फेरी कोही फालहानेर आत्महत्या गरेछ भन्ने खबर फैलदोँ हो शहरभरी । पत्रिका र टेलिभीजनमा केहि शब्द र दृश्य प्रसारण होलान् मेरो आत्महत्याको बारेमा । मेरो परिचय पत्ता लगाउन अप्ठेरो होला अरुलाई ।” – मनमा यीनै कुराहरु खेलिरहेका थिए । मैले मेरो परिचयपत्रहरु रहेको पर्स सर्टको खल्तिमा राखिदीएँ ।

“कतै म मरेर सुजु बाँचीन भने…………?” – मैले अगाडी सोच्ने आँट गर्न सकिन ।

“राज, तिम्रो त दुखः सुखमा साथ दिने सिद्धपोखरी त रहेछ । मेरो त कोही छैन संसारमा, तिमी बाहेक । साथीभाईहरु मेरो रुप, यौवन तथा सोझोपनको फाईदा उठाउन खोज्छन् । अनि टाढाका केहि आफन्तहरु मेरो धनको । मलाई ईष्र्या लाग्छ त्यो पोखरीको, म आए पछि मलाई पनि तिम्रो त्यो प्यारो साथी सिद्धपोखरीसँग भेटाउ ल ।” – सुजुले भनेको सम्झिीएँ ।

मेरो दुख सुखको साथी साथमा थिएन आज, एउटा बेग्लै चमकधमक भएको सहरको मुटुमा रहेको एउटा पोखरी थियो मसँग । सुजु आईन आँखामा आँशुले धकेल्न खोज्यो । म आँशुसँग रिसाएँ अनि बिना आँशु आवाज दबाएर चिच्याएँ ।

“मेरा कुनै गल्ती रहे वा भए र मलाई अपनाउन सकेनौ भने मलाई दासी बनाएर राख ल । म तिम्रै दासी बनेर भए पनि तिम्रै सामु बाँच्न र मर्न चाहन्छु ।” – सुजुका आवाज गुन्जीए मनभरि ।

“तिमी मेरो शीरमाथी सजिनेछौ सुजु, मेरी रानी बनेर ।” – मेरा बचन, जुन निभाउन सकिरहेको छैन अहिले । “थुक्क म ।” – थुक्न खोज्छु आफ्नै नाममा । सुकेको मुखबाट आवाज मात्रै आउँछ ।

म पोखरीमा पसेर बिस्तारै बिस्तारै भित्र – भित्र जान्छु । क्रमशः पिँडुला, घुँडा कम्मर हुँदै मेरो शरिर धसिदैँ जान्छ हिलो सहितको पानीमा । टक्क अडिएर सोच्छु म केहि भुतकाल, बिचार गर्छु मेरो देश, जन्मथलो, गाउँघर, बाबुआमा, साथीसंगी, मैले मेहेनत गरेर बनाएका बिभीन्न संस्थाहरु, त्यसका सहकर्मी साथीहरु, मेरा सपना अनि मेरो अस्तीत्व यस्तै यस्तै ।

मेरो बर्तमान ? मेरो वर्तमान आत्महत्याको संघारमा छ ।

मेरो भबिष्य ? कसैले देख्ला पोखरी किनारमा केहि कपडा र जुत्ता, नजिकैबाट सुरक्षाकर्मी आउलान्, पोखरीमा मेरो शरिरको केहि भाग देखिएला । पक्कै डोरीको प्रयोग गरेर ल्याउलान् किनारामा । खबर सहर भरि फैलिएला । पत्रिका र टेलिभीजनका रिपोर्टरहरु घटनाको बयान गर्लान । मेरो लाशलाई कुनै अस्पतालको लाशघरमा लगेर चिरीएला । साथीभाईको राम्रै भिड लाग्ला । कसैले लाछी भन्लान्, कसैले कायर त कसैले अरु नै केहि । आफन्तहरु आउलान् केहि बेर रुवाबासी पनि चल्दो हो ।

पत्रिकामा केहि समबेदनाका अक्षरहरु पनि छापीएलान् । कोही चुकचुकाउलान्, कोही रोलान्. त कोही रमाउलान् पनि । कसैको नजरमाएउटा असल ब्यक्तीको असमयमै बितेको तस्बीर आऊला त कसै नजरमा ढिलो छीटो एकदिन जानै पर्ने गयो भन्ने ।

सबै जना केहि दिनमा मलाई भुत बनाएर बिर्सेलान् । तर सुजु ? के गर्लीन त उन्ले बिचरी ? उन्को त संसारमा जे र जो छ म मात्रै, मात्रै म ।

म निकै भित्र पुगीसकेछु सोचाईको आबेशमा, अकस्मात केहि बस्तु आयो मेरो हातमा, म तर्सिएँ के ठोकियो यो आधा रातमा ? मधुरो उज्यालोमा कालो कपाल जस्तो केहि बस्तु पानीको सतहमा देखिन्छ । म समाउँछु आँट गरेर, शरिर सहितको लामो कपाल आउँछ हातमा, तर्सेर हात झट्कार्छु म । फेरी सोच्छु मर्न हिँडेको मान्छेलाई के को डर ? आँट गरेर कपाललाई हावामा उठाउँछु, ठ्याक्कै सुजुजस्तै लाग्छ, अनुहारबाट कपाल हटाएर हेर्छु सुजु मेरी सुजु । म उस्को टाउकोमा समातेर बेस्कन हल्लाउँछु सुजु – सुजु भन्दै । कता–कता धड्कन चलेको जस्तो भान हुन्छ सुजुको । म किनारा तिर घिस्याउन थाल्छु ।

कहाँ रातो साडीमा सजाएर घरमा लग्ने सपना अनि कहाँ निर्दयीता पुर्वक कपालमा समातेर किनारा तीर तानिरहेको बास्तबीकता ? कहाँ जिन्दगी सँगै मर्ने र बाँच्ने कसम खाने हामी कहाँ एक पल पनि सँगै नबिताई भएको यो बिछोड ?

म किनारातीर आउन खोज्छु, सुजुलाई साथमा लिएर, मेरा खुट्टाहरु झन् झन् हिलोमा भासीदैँ छन् । जति अगाडी बढ्दैछु त्यती नै गहिरोमा डुब्दैछु म । एक हातले सुजुको कपाल त एक हातले सुजुको हातमा समातेर किनारामा तान्ने प्रयास अटुट छ मेरो । म क्रमशः भासिदैँ जान्छु, भासबाट निस्कने प्रयास सफल हुँदैन । हिलोमा गाडीएर पानी मेरो घाँटीसम्म आईसक्यो खुट्टा कतै चल्न सकेका छैनन् ।

“मेरी सुजुलाई मबाट कसैले खोस्न सक्दैन, कसैले पनि ।” –म चिच्याउँछु । मेरो आवाज टाढा टाढा सम्म गुन्जीन्छ । म सुजुलाई बलैले तानेर अँगालोमा बाँध्छु उनको तर्फबाट केहि प्रतिक्रीया छैन ।

पानीले अब मलाई निल्न लागीसक्यो । मुख मुख सम्म पानी आईसक्यो । म अन्तीम पटक सुजुको ओठसँग ओठ जोड्दै बर्बराउँछु ।

“ म पापी हुँ सुजु, म तिम्रो पापी । तर म तिमीलाई माया गर्छु । जन्म जन्म सम्म गरिरहन्छु ।” – उनी मौन मेरो अँगालोमा छिन् ।

बिस्तारै पानीले हामीलाई सम्पुर्ण रुपमा कब्जामा लिन्छ, म छट्पटाउँछु तर पनि सुजुलाई मेरो अगाँलोबाट छुट्न दिन्न । म बिस्तारै अध्याँरो दुनिँयामा प्रबेश गर्दैछु । एउटा असजिलो र अवर्णनिय छटपटी हुँदैछ …………..। बिस्तारै शरिरका अङ्गहरु शिथील बन्दैछन् । क्रमशः क्रमशः अनि क्रमशः ………………….. म ……….. मर्दैछु ।।

भाग ५

म तन्द्रामै झस्कीन्छु – “के सोचेको यस्तो ? म यस्तो काँतर, झन मेरी सुजु त यती काँतर हुनै सक्दिनन् । म बाँच्नुपर्छ र मेरी सुजुलाई पनि बचाउनुपर्छ ।” गाली गर्छु आफैँलाई ।

“मर्न त सारै सजिलो छ, जिउनु पो ठुलो कुरा हो त ? म यति सजिलै कसरी आत्महत्या गर्न सक्छु र ? अनि करिब करिब होस सम्हालेदेखि अनेकौँ बाधा अड्चन सहेर एक्लै जिन्दगी बाँचेकी मेरी सुजु कसरी यती छिट्टै आत्महत्या गर्न सक्छिन् त ? उनी त धैर्यता र सहनशिलताको प्रतिमुर्ती हुन् । त किन उनको भरोसा तोडेर, एक मात्र सहारा छुटाएर तँ मर्न उत्ताउलो हुन्छस् ?” – मेरो मनले धिक्कार्छ मलाई ।

म पोखरीबाट चिसोले काम्दै किनारामा निस्कन्छु । सोच्छु “अत्याधिक मायाले माया पाउनेलाई कमजोर बनाउँछ दिनेको नजरमा, अनि माया दिनेले हरदम पिडा प्राप्त गर्छ । हरेक मानिसमा अवस्था अनुसार समय सँग लड्ने क्षमता हुन्छ । तब मैले सुजुलाई केहि गलत नै भयो भन्ने किन सोच्ने ? त्यत्रो बर्ष म बिना नै उस्ले आफ्नो रक्षा र सुरक्षा गर्दै सबलरुपमा समय र परिस्थीतीसँग जुधेकै हो नि, त आजको परिस्थीतीसँग पनि त जुधीन होलीन् आफ्नै तरिकाले, हुनसक्छ उनको तरिका मेरो भन्दा धेरै राम्रो र सरल पो छ की ? मैले अत्याधीक माया गर्छु तर हाम्रो भेट त भएको छैन, यहाँभन्दा अगाडीको जिन्दगी त उस्ले आफैँले बाँचेकी हो नी, म बिना ।”

मायालाई केहि बेर मनबाट निकालेर बास्तबीकता सोच्छु म । बल्ल म बिश्वस्त हुन्छु मेरी सुजुलाई केहि भएको छैन ।

त सुजु कहाँ होलीन् त ? मनले प्रश्न गर्छ । उत्तर अनेक आउँछन् तर त्यती भरपर्दा लाग्दैनन् । कतै …………. कतै उनी सिद्धपोखरी त पुगीनन् ? म पक्का हुन्छु त्यहीँ पुगीन भनेर ।

उठेर सर्ट लगाउँछु । कम्मर मुनिको कपडा भिजेको र हिलो छ, म मतलब गर्दिन, उपाय पनि त के नै छ र ? पहिले झैँ सकसकासाथ फलामे बार उक्लेर बाहिर आउँछु । मोटरसाईकलको छेउमै पुगेर चाबी खोज्दा चाबी पाउँदीन, बार उक्लेर भित्र सम्म खोज्न जाने तागत पाउँदिन आफुमा, त्यसैले मोटरसाईकल छोडेर लुखुरलुखुर पाईला चाल्दैछु । शिथील छ शरीर र मन, कुजाँ छन् खुट्टाहरु, भोक तिर्खाले लखतरान छ ज्यान, मुख सुकिरहेको छ, चिसोले थरथरी काम्दै छ शरिर, तै पनि मेरा पाईलाहरु सुस्त गतीमा मेसिन झैँ एकोहोरो अगाडी बढिरहेछन् लगातार अनि लगातार……………..।

म आफ्नै सुरमा सिहंदरबार अगाडीको बाटोमा आईसकेछु, झिलीमिली छ चारैतिर केहि सवारीसाधनहरु खाली सडकको फाईदा उठाउँदै बत्तिदैँ छन् हावासरी, मलाई चिसो जुत्ताले हिड्न गारो हुन्छ, जुत्ता मोजा फुकालेर त्यतै मिल्काइदिन्छु म । अडिनै गारो भएको छ मलाइर्, तैपनि अगाडी बढिरहेछु, पाईलाहरु लगातार अगाडी बढ्दैछन् ।

“तिमीलाई एउटा कुरा सोध्छु है ?” – सुजुले भनेकी थिईन ।

“सोध न, किन एउटा मात्र दुईटा सोध ।” – मेरो उत्तर ।

“तिमीले मलाई धेरै माया गर्छौ मलाई थाहा छ । तिम्रा हरेक शब्दहरुमा म मेरो लागी असिमीत माया पाउँछु । तै पनि तिमी किन केहि पनि ब्यक्त गर्दैनौ ? कहिलेकाहीँ त मनमा शंका नै लाग्छ भन्या ।” – सुजुले मनको कुरा गरेकि थिई । हुन पनि मैले कहिल्यै पनि मायामा झुटा र असम्भव कुराहरु गरेको थिईँन । तिम्रा लागी बाँच्छु मर्छु वा आकाशका तारा टिपेर ल्याउँछु जस्ता शब्दहरु भन्छन् रे प्रेमीहरु तर मैले कहिल्यै भनिन् । म तिमीलाई माया गर्छु यो भनाई पनि एकदमै दुर्लभ थियो उनको लागी करिब करिब डाईनोसर जस्तै ।

“ल त्यसो भए ठिक सोच्यौ । म तिमीलाई माया गर्दिन । अरु केहि ………..।” – म रिसाएको थिएँ ।

“सरि सरि, ल कान समाएर भन्छु, सरी हजुर ।” – सुजुले माफि मागेकी थिईन ।

“हेर सुजु, माया र प्रेममा सबै ब्यक्त गर्नैपर्छ भन्ने छैन । एक अर्काको मनको कुरा नबोलिकनै बुझ्न सक्नु पर्छ । मैले नबोलिकनै मेरा पीडा अनि मेरा खुशीका क्षण तिमी थाहा पाउँछौ नि त्यही हो माया ।”– मैले जवाफ दिएको थिएँ, जुन के भनेको मैले नै राम्ररी बुझेको थिईँन ।

“ल भन मलाई कति माया गर्छौ त ? अनि मेरो लागी के गर्न सक्छौ नि ?” –खै किन हो त्यस दिन उस्का प्रश्नहरु यस्तै यस्तै थिए ।

“आज प्रकाश कोबिदका उपन्यास पढ्यौ कि के हो ?” – मेरो सोधाई । मलाई यस्ता प्रश्नहरु सामना गर्न असाध्यै डर लाग्छ त्यसैले मेरो चाहना प्रश्न उत्तरको खेललाई सक्नु थियो ।

“कुरा नटारीकन भन त, प्लीज ।” – उस्ले लाडे पल्टेर बोलेका शब्द साँच्चै मिठा लाग्थे मलाई ।

“समय आएपछि थाहा हुन्छ, अहिले मुखले मात्रै भनेर के हुन्छ र ?” – मैले केहि झर्केर जवाफ दिएको थिएँ ।

“ऐया ! …….” – सुजु कराईन ।

“किन के … के भो ?” – दुख्यो मलाई ।

“अनि, माफी माग्दा कान समाको छोड् भन्नु पर्दैन ? कस्तो दुखिसक्यो यहाँ ।” – लाड पल्टेर भनिन् सुजुले । सुजुको लाड पल्टेर बोलेका शब्दहरु मेरा लागी बिशेष थिए । मलाई लाग्थ्यो उनलाई अँगालोमा लिएर चुँमु ।

“छोड ल माफि दिएँ ।” – दुबैजना हाँसेका थियौँ निकै बेरसम्म ।

त्यो मायाको परिक्षाको समय आएछ आज । तर पास वा फेल के हुने हो निश्चीत छैन तर एउटा कठोर परिक्षा लिईरहेको छ जिबनले, अलिक धेरै आफ्नै बेवकुफी त अलिकती समयको कारणले ।

मेरा नरम पैतालाहरु चिसोमा कंक्रीट र सिमेन्टका बाटाहरुमा चुपचाप लस्कदैँ छ, दुखाई सहेरै पनि ।

“ऐया !” – म पिडाले रन्थनीएर थचक्कै बस्छु । खुट्टामा शिसा बिझेछ, गडेछ निकै । ठीही¥याएको र कामेको हातले बल्ल तल्ल निकाल्छु शिसालाई । उठेर हिँड्छु, खुट्टाबाट रगत बगिरहेछ, बाटोमा पैतलाका छापहरु टड्कारै देखिन्छन् रातो रंगमा ।

अब हिँड्ने सामथ्र्य रहेन । बाटोमा हेर्छु कुनै ट्याक्सी देख्दिन यो आधारात ढलेपछि बिहानी प्रहर लाग्ने बेला भाडाका ट्याक्सीहरु पाउन गारो रहेछ । त्यही बाटो चलेका निजी गाडीहरुलाई हात उठाउँछु छलेर परैबाट जान्छन् ती सबै । तिनीहरुको पनि के दोष र ? मेरो अवस्था यस्तै छ अहिले खाली खुट्टा, हिलाम्य कपडा, लरबरिएको हिडाँई यस्तै यस्तै । पाईलाहरुलाई जबजस्र्ती घिसार्दै म बानेश्वरको होटल एभरेष्ट अगाडी पुग्छु जहाँ केहि ट्याक्सीहरु अडिएका छन् ।

म एउटा ट्याक्सी समातेर उभिन्छु र सोध्छु –“दाई, भक्तपुर जाने हो ?”

“पैसा छ तँ सँग ?” – मलाई तल देखि माथिसम्म एकसरो हेरेपछि ड्राईभरले सोध्यो । अरु पनि केहि मान्छे जम्मा भए त्यहाँ ।

“छ, ल छिटो हिड्नुस न ।” – उस्को तँ सम्बोधनले केहि असर पारेको छैन मलाई आज ।

“पहिले देखाउ त ।” – अर्कोले भन्यो । म पर्स खोलेर देखाउँछु ।

“१५ सय लाग्छ ।” – ड्राईभर बोल्यो । म राजी हुन्छु । ट्याक्सीमा छिरेर सीटमा बस्न खोज्छु । ड्राईभरले भुईँमा राखिएको म्याट हालीदिन्छ सिटमा अनि नढल्की सिधा बस्न भन्छ म सकि नसकि त्यसै गर्छु ।

केहि बेरमै भक्तपुर आईपुग्यो, सिद्धपोखरी अगाडी ओर्लेर सरासर पोखरी तिर लाग्छु । ढोका बन्द छ पोखरीको, म बाहिरको पाटी जस्तो भएको ठाउँमा बस्छु । बस्न नसकेर ढल्कन्छु आफ्नै हातको सिरानी बनाएर । सुजु नै सुजु देख्छु वरिपरी, टाउको भारी भएर रिङ्गीरहेको छ, खुट्टा पोलिरहेछ, रगत अझै रोकिएको छैन । म हातको मुठी बेस्सरी कस्छु अनि टाउको र घुडाँ जोडेर पल्टन खोज्छु ।

अब छिटै बिहान हुँदैछ, आकाशमा ताराहरु अस्ताउँदैछन् । जो मेरो अहिलेको सबै हबिगतको प्रत्यक्षदर्शी थिए ।

हल्लाखल्ला बढ्दैछ, मेरा आँखा खुलेका छैनन्, सकेसम्म बल गरेर आँखा बन्द गर्दैछु । ढोका खुलेको आवाज आउँछ घ¥याक्क । मेरो खुशीको सिमा छैन । म भित्र अर्कै जोश आउँछ अनि करिब करिब दौडेर भित्र छिर्छु ।

म निराश बन्छु भित्र केहि र कोही छैन । चराहरुको केहि आवाज बाहेक सबै शान्त अनि शान्त । म त्यहीको पालेदाईलाई सोध्छु उस्लाई केहि थाहा हुन्न ।

म त्यही एक छेउमा बसिरहेछु, मेरो लागी संसार डुबेको भान भईरहेछ । म भाँसीदै गईरहेको छु क्रमशः ।

“मेरी सुजु कहाँ गयौ त तिमी, कहाँ छौ तिमी …………… म आउँदैछु तिमीलाई खोज्न अनि तिमीलाई भेट्न ।” नजिकै मन्दिरमा घण्टी बज्छ, रबि डाँडामा निस्कने तर्खरमा छन् …….. म सुस्तरी बाहिरीन्छु……

भाग ६ (अन्तीम भाग)

रीत्तो मन, थाकेको मनस्थीती लिएर म चुपचाप सिद्धपोखरीबाट बाहिरीएँ । हिलै हिलोमा डुबेको कपडा, बिना जुत्ता खाली गोडा, जिङरीङ्ग कपाल, मलाई आफैँदेखि लाज भईरहेको थियो । बिहान–बिहान पुजा गर्न मन्दिर धाउने गृहीणी देखि, स्वास्थ्य बिग्रेर वा बिग्रन नदिन मर्निङ्ग वाक धाउनेहरु बाटामा प्रशस्तै थिए । सबैको नजर मेरै अवस्थामा परेकोले म झन झन लज्जीत भईरहेको थिएँ ।

कसैको पनि अनुहारमा नहेरि म सरासर नजिकैको किराना पसलमा गएर एउटा फोन गरेँ साथीलाई, जो भक्तपुरकै थियो । एउटा पानी किनेर पिउँदै त्यही पसलको नजिकै बसेँ । केहि बेरमै त्यो साथी आईपुग्यो । मेरो अवस्थाको बारेमा जान्न खोज्यो, मैले पछि भन्छु भनेर टारिदीएँ ।

उसैको घरमा गएर नुहाएँ अनि उसैको कपडा लगाएँ, केहि खानेकुरा खाएर खुट्टाको घाउको सामान्य उपचारपश्चात म घरतिर लागेँ । साथीले उसैकोमा बसेर केहि बेर आराम गर्ने अनि घरमै पु¥याईदिने अनुरोधलाई नकार्दै म बसपार्कमा गएर घरतिर जाने गाडी चढेँ ।

राजधानीमा चल्ने लोकल बस सुस्त यात्रा, म चुपचाप सिटमा बसेँ । सोचाई आयो – “मान्छेको जिबनमा सिमीत समयमा कतिसम्म परिवर्तन हुन सक्दो रहेछ । कहाँको हिजोको राज कहाँ अहिलेको । मेरी सुजु, मेरो मोबाईल, मेरो मोटरसाईकल केहि छैन मेरो साथमा । ती भेटिएलान् वा नभेटिएलान् पाईएला नपाईएला ? कहाँ हिजोसम्मको भरिपुर्ण लाग्ने म कहाँ आज केहि नभएको रीत्तो म ?”

“दिदीले पनि के भन्नु भयो होला ? बुहारी लिन जान्छु भनेर हिडेँको भाई बुहारी त परै छोडौँ आफैपनि फर्केर नआउँदा । मेरो आफ्नै दिदी बहिनी नभए पनि एकै पेटका भाईलाई भन्दा कम माया त गर्नु हुन्न नी दिदीले ? अब दिदीलाई के भन्ने होला ? रातभर कहाँ गायब भएको, अनि बुहारी खोई भन्ने प्रश्नको जवाफ के दिने ?” – म सोचेरै हैरान हुन्छु ।

अब घरमा गएरै दिदीहरु सँग सल्लाह गरेरै सुजुलाई खोज्न जाने निश्चय गर्छु । पहिले घरमै गएर आराम साथ सोचेर अगाडीको कदम चाल्ने सोचमा छु म । सुजु हराएको पिडाले म अरु सबै पिडा बिर्सन्छु ।

गाडीबाट ओर्लेर चुपचाप घरमा पुगेँ । शान्त छ घर, कतै केहि चालचुल सुनिन्न । ढोका खुल्लै थियो, छिरेँ भित्र । दिदी अनि अन्य केहि आफन्तहरु बसिरहनुभएको थियो भित्र । मनमा लाग्छ, यी आफन्तहरु किन आएका होलान् ? शायद म हराएको थाहा पाएर आएका होलान् कि ?

म सबैलाई हात जोड्छु ।

“अनि, सुजु खै त ? तिमी त सुजुलाई लिन गाको हैन ? कहाँ हराको नि आफैँ ?” – दिदीले सोध्नुभयो ।

“अँ, सुजु………… अँ सुजु त आईनन् त ।” – म ढाँट्छु ।

“अनि समयमा घर आउनु पर्दैन त ? रातभर कहाँ गाको ?” – दिदीको प्रश्न सकिदैँन ।

“म साथीकोमा गएको थिएँ ।” – मेरो झुट पनि सकिएन ।

“रातभर नसुतेर बसेको जस्तो छ, ल जानुस एकछिन सुत्नुस भित्र गएर । हामी खाना साना बनाएर बोलाउँछौ ।” – माईजुले भन्नुभयो । बोलेकै वाक्य सँगै एकअर्कामा मुखामुख गर्छन सबै ।

म कोठामा गएर ढल्कीन्छु ओछ्यानमा, सुजुको याद र पिरले निदाउन सकेको छैन । रुन मन लाग्छ म रुन्छु सिरानीमा घोप्टो परेर ।

“मेरे सपनोकी रानी कब आएगी तु ?
आई रुत मस्तानी कब आएगी तु ?
बित जाए जिन्दगानी कब आएगी तु ?
चलि आ तु चलि आ ।”

गीत बज्छ, म झस्कन्छु मलाई सपना जस्तो लाग्छ । यो गीत त मैले मेरो मोबाईलमा सुजुको फोन आउँदा बज्ने गरि राखेको थिएँ । मैले मेरो फोन त बालाजु पार्क मै खसालेको त यो ? म ज¥याक जुरुक उठेर यताउता खोज्छु मेरै सिरानीमुनी मेरो मोबाईल बजिरहेको थियो । कल सुजुको थियो, म छक्क पर्छु केहि सोच्नै सक्दिन ।

“हेलो ! सुजु कहाँ तिमी ?” – मैले हडबडाउँदै फोनमा सोधेँ ।

“म तिम्रो मनमा, अनि तिम्रो जिबनमा ।” – सुजुले मिठो स्वरमा आनन्दले जवाफ दिईन ।

“नढाँटी भन न तिमी कहाँ ? प्लीज ।” – म कर गर्छु ।

“अर्कालाई एक्लै छोडेर आउनेलाई म केहि भन्दीन के ?” – सुजुको उत्तर ।

“सरी, प्लीज तिमी कहाँ भन न् । म अहिल्यै तिमीलाई लिन आउँछु, कहाँ भन् त ?” – म हतारिन्छु ।

“म त आउँदिन तिमी छोडेर जाने मान्छेसँग ….? एउटा कुरा भनौँ राज ।” – सुजुको आग्रह ।

“भन न दुईटै भन ।” – मेरो जवाफ ।

“तिम्रो सिरानीमुनी एउटा चिठी छ त्यो पढेर मलाई अहिल्यै मेरो प्रश्नको उत्तर देउ त ।”– म फोन राखेर चिठी खोज्छु ।

राम्रो अक्षरमा लेखिएको छ ।


”आफैँभन्दा प्यारो राज,
मुटुभरिको माया ।

तपाईले बालाजुमा मलाई नभेटेरै जानु भयो । तपाइँलाई के थाहा म कति ब्यग्र थिएँ तपाईलाई भेट्न । तपाई नै राज हो भन्ने कुरामा म बिश्वस्त थिएँ अझै तपाईले खसाल्नुभएको मोबाइल ले त झनै पक्का भयो तपाई राज भनेर । मेरो जिबनको गल्ती तपाईले थाहा पाईसक्नुभएको रहेछ, मैले तपाईँको मोबाईल हेरेर थाहा पाएँ । हो त्यही थियो मेरो एक मात्र गल्ती जुन भन्न मैले पटक पटक प्रयास गरेकि थिएँ तर तपाईले कहिल्यै सुन्न चाहनुभएन ।

म निकै बेर कुरेँ तपाईलाई त्यही पार्कमा तर तपाई फर्केर आउनुभएन । हजुरको दिदीले धेरै नै फोन गरेपछि मैले उठाएँ र म तपाईभन्दा अगाडी तपाईको घरमा आईपुगेँ । तर तपाईँ आउनु भएन, अनि हामीले रातभर सकेसम्म खोजी ग¥यौँ ।

तपाईमा के बितेको छ म बुझ्न सक्छु, चिन्ता मान्नु पर्दैन । मात्र यति उत्तर दिनुस मलाई दासी बनाएर त राख्नुहुन्छ नि ? म हजुरको सेवा गर्न चाहन्छु जिन्दगीभर । एक कल फोनको प्रतिक्षामा ..

उहि तपाईको हुन नसकेकी
सुजु ”

म हतार – हतार फोन डायल गर्छु । सुजुले फोन उठाउँछिन् ।

“हेलो…..” – सुजुको कामेको आवाज सुनिन्छ ।

“सुजु, तिमी मेरि हौ, मात्र मेरी । तिमी मेरो जिन्दगी हौ, मेरो बाँच्ने आधार । कहाँ दासी सासीको कुरा गरी राखेको ? अब नतड्पाउ मलाई, मेरो अगाडी आउ न ।” – मैले एकै सासमा बोलेँ ।

“केहि बेर धैर्य गर्नुस न त ।” – पहिले चिठीमा अनि अहिले बोलीमा मिसाएको तपाई शब्द मलाई रोमाञ्चीत बनाउँदै थियो ।

म अधैर्य भएर कुरिरहेको छु, केहि बेरमै दिदी र अरु केहि आफन्त मिलेर रातो साडीमा सुजुलाई लिएर आउनुहुन्छ ।

म अपलक हेरिहन्छु मेरी सुजुलाई, मेरी मनकी रानीलाई मेरो जिबनलाई । उनी मेरो खुट्टामा निहुरीन्छीन म उठाएर जोडदार अँगालोमा कस्छु, अनि निधार र अनुहारभरि चुम्बनको बर्षा गर्छु । सुजुको आँखाभरि आशुँ छ ……।

हामी चुपचाप एकअर्कालाई हेरिरहन्छौँ, हेरिरहन्छौँ ………….।

(ओहो कस्ता बाठा पाठक, अब त भन्दिन के ?)

समाप्त

(स्रोत : Shabdahar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.