~जगत नवोदित राइ~
चारैतिर बाटोको लास देखेर
केही काम गर्न सकेको छैन
छोराछोरीलाई स्कूल पठाउन सकेको छैन
श्रीमतीलाई माइत पठाउन सकेको छैन
अरु त त्यस्तै हो
बिरामी आमालाई पनि अस्पताल पुर्याउन सकेको छैन ।
यहाँ,
आरुको फूलको बाटोमा
निर्भय काँढाको धराप थाप्नेहरु छन्
अरुले रगत पसीना बगाएको बाटो
निसंकोच भत्काउनेहरु छन्
यसरी कसैको अन्दाजमा
बाटोको मृत्यु सोक्रेटस विषपानले भयो
केहीको अनुमानमा
बिधुवाको आँसुले भिजेर बाटो मर्यो
धेरैको विचारमा भने
बाटोको हत्या अपराधी राजनीतिले गर्यो ।
आ, सखे ।
भोलि जन्मने दिनमा
सबैलाई हिंड्न बाटो चाहिन्छ
सद्भावना फुलाएर मनमा
थाल तिम्रो घरबाट बाटो खन्न
म मेरो घरबाट थाल्छु
मन फाटेको पूर्व पश्चिम बाटोमा
हामीले मायाको पुल हाल्नुपर्छ
बन्दूक बिछ्याएको पहाड मधेश बाटोमा
हामीले बुद्ध रोप्दै जानुपर्छ ।
संयुक्त अधिराज्य
(स्रोत : Freenepal)