मलाई डर लाग्न थालेको छ आजकाल!
कविताका ठेकेदारहरुले,
उर्दी सहित् हप्काउने छन,
दोबाटोमा,
तँलाई कविताको बारेमा बोल्ने के अधिकार छ?
कथाका ठेकेदारहरुले खप्की थोपर्ने छन,
गल्लिहरुमा,
ओई, तँलाई कथाको बारेमा बोल्ने के अधिकार छ? …
मोफसल चिच्याउला,
काठमाडौं बसेर हाम्रो बारेमा के बुझ्छस?
काठमाडौं चिच्याउला, तँ भतुवा,
के चिप्लो घस्छस?
घेदुङहरु कर्के आँखा हेर्लान,
खल:हरु कुरा काट्लान,
चुम्लुङहरु बम्केलान।
भागबण्डामा,
मेरा भन्नु शब्द नहोलान,
एक एक पोका शब्द पोको पारेर हिंड्लान,
कवि भन्नु कविहरु,
कथाकार भन्नु कथाकार,
राजधानी, मोफसल,
घेदुङ, खल: र चुम्लुङहरु,
अनि मसंग,
नेपाल र नेपाली भन्ने पनि नहोलान शब्दहरु!
थुक्क,
पेवापाते शब्द धरी नभएको म,
मलाई डर लाग्न थालेको छ आजकाल,
शायद त्यहिंनिर,
मेरो देशको अवशान हुंदो हो,
मेरो नरहँदो हो अस्तित्व,
अनि चिथोर्नु पर्ने हुँदो हो,
नग्न मृत्युको शरीर !
साँच्चि! मलाई डर लाग्न थालेको छ आजकाल!
भन त! शब्दको रंग कस्तो हुन्छ?
यो पेवा हुन्छ?
(स्रोत : Abhinawtp.com)