~सुमन सौरभ~
आफ्नो असामयिक मृत्युले ऊ पटक्कै सन्तुष्ट थिएन। सोच्यो- “जाबो एक मृत्युले पनि के अनर्थ गराउँछ कि लासको अनुहार बाँकी छँदै किन यसरी परिचय नै हराउँछ?”
अघिसम्म मेरो प्यारो भनेर पालैपालो काखमा टाउको राख्न लगाएर गाला मुसार्नेहरु चट्ट छोडेर परपर पन्छिएका थिए।
“छुनु हुँदैन अब” मौनताको बीचमा खासखुस चल्दै थियो- “माया भए आँसु बगाए हुन्छ तर सुम्सुम्याउनु हुन्न।“
निरीह शान्त, शिथिल थिएँ, मुख बन्द थियो, नाक खुल्ला। कोही आयो र नाकमा कपासको डल्लो कोचिदियो। के काम र खुल्ला नाकको पनि, फोक्सोले साथ दिए पो। कोही आयो र सम्पुर्ण शरीर छोपिने गरी नामनामी ओडाइदियो- “छुनु मात्र होइन, हेर्न पनि पुग्यो अब।“
भित्तामा मुस्कानसहितको फोटो झुण्डिएकै थियो। कसैले सोधे भने निर्जीव फोटोको परिचय थियो बरु, उसको चाहिँ हराएको थियो।
भोलिपल्टको पत्रिकामा श्रद्धाञ्जलीसहित उसको सोही फोटो छापियो। फोटोको सिरानमा थियो- हार्दिक समवेदना। फोटो मुन्तिर थुप्रै नामहरु थिए- डाक्टर, इन्जिनियर, प्राध्यापकजस्ता पेशागत विशेषणसहित।
अब चाहिँ मुन्तिरका नामहरु हेरेर फोटो जिल्ल पर्यो- “के गरेको मृत्यु, त्यस्तो पनि हुन्छ? मेरो परिचयपत्र हराएको मौका छोप्दै यिनीहरु चाहिँ मैसँग जोडिएर आफ्नो थप परिचय सार्वजनिक गर्ने?”
(स्रोत : सुमन सौरभको लघुकथा संग्रह ‘मृत्यु संग्रह’बाट)