बन्दिगृह भित्र म एक्लो हाँसेर
हाँसोहरु उमार्दै
हाँसोगृह भित्र
बन्दिगृहहरु बन्दी बनाउँदैछु
ओंठहरु केवल चुम्मनशाला बनेर
बन्दिगृह भित्र हाँसोहरु कैदी हुंदैछन
म चढ्दिन वायुपंखी घोडाहरु
बरु उभिनेछु नांगो खुट्टै
आफ्नै बारिपाखामा
एक जिउँदो सालिक बनेर
बहदो असमयहरु सँग
अनवरत उल्टो बहदै उमार्न समयहरु
मेन्छ्याम डाँडा माथी माथि
लहराउँदो प्रभाती समयहरु
अलिकती फरक्-
हिजो बर्सेको पानीले फुलाएका
उन्युका फुलहरु भन्दा
अलिकती फरक- एक्लो सोचाई भन्दा
किनकी
डाइनोसर पढेर अमिवाबाट टाढा भएका मस्तिष्कहरु
मान्छे पढेर रामापिथेकस नबुझ्ने मान्छेहरु
सिकन्दर महानको पहाड बोकेर
डन्डामिसको एक लोहोटा पानीमा डुब्दा
फिरोउनहरु लाल समुन्द्र किनारा किनारा देखिन्छन
हिजो, हिजो थियो र भयो
आज पनि आज छ र हुनुबाट
बिबृती छुन
सुक्रातहरु बिष पिउदैनन अब
तेसैले हेम्लक नदी माथी
झोलुङे पुल थाप्न
पहाडका कुम्लोहरु पिठ्यूँ भरी भरी बोकेर
हिँड्ने छैन
अब म्
पहाड उक्लने बाटो खन्दैछु
भन्ज्याङ रुँगेर युगौं बिताउने हरु
यदी भन्ज्याङे हुँदैनन भने, पक्कै
भन्ज्याङ आफैमा कि भन्ज्याङ होईन
की गुराँसमा रङ छैन
नत्र डायोजनिश हाम्रो बजारमा
तेसै घुमिरहेको छैन अचेल्
पक्कै हराएको छ यतै कतै
मान्छे भित्र मान्छे
तेसैले मध्य दिनमा अचेल्
लाल्टिन बल्दैछ पलपल
किनकि
उज्यालो भित्रै दियालो भित्रै
छुपाइरहेका रामापिथेकस पाइलाहरु
निशाना बिहिन छन
र त बैज्ञानिकका प्रदुर्भाबहरु उक्लिरहेछन
सत्य मुर्त हुनुको चुचुरा तिर माथी माथी
फिरौतिका ऋतुहरुले
बारामबार घुमाइरहेका, खेलाईरहेका
बृतकार पराश्रयी दाम्लोका गाँठोहरु फुकाउन र लम्ब्याउँन
घाम जून सम्मै
”कहिले आग्रा गाग्रामा
कहिले गाग्रा आग्रामामा”ले
उम्रीएका बिषाक्त काँडाहरुले
ईशाह्
गान्धि
श्रीजंगाका
स्पन्दन पार गरेको यथार्थले
रसाएका मूलहरुमा
हुलका हुल पानी पिउनेका ताँतिले
एउटा बिहानी उदाउँछ र फुल्न थाल्छन
घडी फुलहरु फक्रक्क फक्रक्क
म समयको मापन गर्दैछु नजिकैबाट
तापको पापन गर्दैछु
जिजिबिषाका रङहरु नउडुन भनेर
माटोको रङ नबद्लियोस भनेर
किन कि
रसायनिक मलहरुले बिग्रीएको माटोमा
अन्न महाअन्न र माटो अमाटो हुनुको बोधले
माटो स्वयम उभिन्छ र बिरोधाभास बोल्छ
तेसैले म
पहाडका कुम्लोहरु बोकेर
हिड्ने छैन अब म
पहाड उक्लने बाटो खन्दैछु…..
दीपराज नेयोंगहांग
पथरी मोरंग
(स्रोत : Sarwadaa )