~यमुना पराजुली~
गौरव कक्षा ६ मा पढ्छन्। उनलाई पढाइमा खासै रुचि छैन। उनलाई गीत गाउन खुब मन पर्छ। कक्षामा उनी प्राय: अन्तिमतिर बस्छन्। उनको रोल नम्बर पनि पुच्छारमै हुन्छ। त्यही भएर केही साथी त उनलाई अन्तिमे भनेर पनि जिस्काउ पछि पर्दैनन्। तर पनि उनी कसैलाई केही भन्दैनन्। खासमा उनको घर दोलखा हो। विप्लवको बाबाले जागिरको सिलसिलामा दोलखा जाँदा उनको घरको आर्थिक अवस्था कमजोर देखेर पढाइ पनि दिने घरको सानोतिनो कामपनि गर्छ भनेर ल्याउनुभएको हो। विप्लव ८ कक्षामा पढ्छन्।
उनकी एउटी बहिनी छिन्। उनी ४ कक्षामा पढ्छिन्। दुवै ज्यादै ज्ञानी छन्। उनीहरू गौरवलाई माया गर्छन्। विप्लवकी आमा कुनै सरकारी कार्यालयमा जागिर खानुहुन्छ। प्राय:जसो ४ जना नै अफिस र स्कुलबाट सँंधैजसो घर आइपुग्छन्। बाबा भने अलि ढिलो आउनुहुन्छ। घर आएपछि सबै मिलेर खाजा बनाउने, खाने गर्छन्। आमाले पढ्न बस भनेपछि विप्लव र वर्षा गृहकार्य गर्न बस्छन्। तर गौरव आनाकानी गर्छन्। उनलाई पढ्न पटक्कै मन छैन। उनी जति बेला पनि गीत गुनगुनाइरहेका हुन्छन्। यो सुनेर आमा कराउनुहुन्छ। यो त गाइने नै हुन्छ कि क्या हो? पछि तिम्रो बाउ आमालाई हामीले के भन्ने होला? गाल पार्ने भयै। यस्तै गर्यौ भने पढ्नै दिएनछन् भन्छन् होला आदिइत्यादि। विप्लव पनि पढ्नुपर्छ भनेर सम्झाउँछन्। तर उनी पढ्न बसे पनि ध्यान अन्तै हुन्छ। यो सबै कुरा विचार गरिरहेको विप्लवले उनलाई राम्ररी सोधे अनि पो गौरव सबै कुरा भन्छन्। उनलाई पढ्न पटक्कै मन लाग्दैन रे। करले पढे पनि उनी केही बुझ्दैन रे। मैले जति नै कोसिस गरे पनि केही बुझ्दिनँ। यसो भन्दाभन्दै रुन पो थाले। विप्लव सानै भए पनि धेरै कुराहरू बुझ्छन्।
अनि तिम्रो गाउने चाहना छ भने म तँलाई सहयोग गर्छु भनेर उसलाई फकाए। अनि उनी चुप लागे। यही कुरा उनले बेलुका बाबा आएपछि सुनाए। तर बाबाले यो कुरालाई ठाडै अस्वीकार गर्नुभो। पढाइभन्दा ठूलो कुरो केही नभएको भन्ने कुरामा आमाले पनि जोड दिनुभयो। कति सम्झाए पनि विप्लवको केही लागेन। गौरव पनि अँध्यारो मुख लाएर पढ्न बसे। तर ध्यान भने अन्तै थियो। त्यसको तीन चार दिनपछि स्कुलमा कार्यक्रम हुने भयो। यो कुरा गौरवले विप्लवलाई सुनाए। विप्लवले यसमा भाग लिनुपर्छ भनेर गौरवलाई हौसला दिए। घरमा यो कुरा कसैलाई थाहा नदिई उनीहरू प्राक्टिस गर्न थाले। विप्लवले युट्युबबाट सबै खाले गीत गौरवलाई देखाए, सुनाए।
यसबाट उनको गायकी झन खारियो। पर्सिपल्ट स्कुलमा कार्यक्रम भयो। त्यहाँ ठूला संगीतकार गायकहरू जज भएर आएका थिए। गौरवले सारै राम्रो गीत गाएको देखेर उनीहरू छक्क परे। उनी त्यो कार्यक्रममा प्रथम भए। उनी ती गायक संगीतकारहरूको आँखामा परिसकेका थिए। स्कुलको नाम पनि अगाडि ल्याएकोमा सरमिसहरू पनि धेरै खुसी हुनुभयो। अनि विप्लवको बाबालाई हेडसरले फोन गर्नुभो र सबै कुरा सुनाउनुभयो। उनी गीत गाएर प्रथम भएकोमा बाबा पनि खुसी हुनभो। त्यतिबेला आमालाई पनि फोन गरेर सुनाउनुभयो। बेलुका सबै भएर बधाइ दिए। अनि पढाइ पनि सँगसँगै लान भनी सम्झाए। त्यसको केही दिनपछि विद्यालय स्तरको गायन प्रतियोगिता भयो। यसमा पनि उनी प्रथम भए। यसपटक भने उनी निक्कै चर्चामा आए। पत्रपत्रिकाहरूमा छापियो एफएम, रेडियो, टेलिभिजनहरूमा पनि समाचारमा बज्यो। उसको स्वरको चारैतिर चर्चा हुन थाल्यो। एक दिन बिहानै बाबाको मोबाइलमा घन्टी बज्यो। त्यो फोन अरू कसैको नभएर एकजना चर्चित संगीतकारको थियो।
उनी आफ्नो नयाँ चलचित्रमा गौरवलाई लिन चाहन्थे। बिहान बिहानैको यो खुसीको खबरले सबै आनन्दित भए। उनले त्यो चलचित्रमा आफ्नो जादूमय स्वर दिए। सारा नेपालीले उनको स्वर मन पराए। अहिले गौरवलाई टीभी र पत्रपत्रिकालाई अन्तरवार्ता दिन भ्याईनभ्याई छ। दुईपटक त विदेश पनि गइसके, कार्यकक्रम लिएर। उत्कृष्ट बाल कलाकारको अवार्ड पनि पाए। यो अवार्ड लिँदा उनका बाबाआमा पनि आउनुभएको थियो। आफ्नो छोराको प्रतिभा र सफलता देखेर खुसीको आँसु झार्नुभयो। यो देखेर विप्लवकी आमाले सम्झाउनुभयो। नरोऊ बैनी पहिले पढेन भनेर यसलाई कम्ता गाली गरें मैले, तर ऊभित्र यस्तो प्रतिभा रहेछ। अनि गौरवतिर फर्केर हेर्नुभयो र मलाई माफ गर है छोरा भन्नुभयो। गौरवले मुसुक्क हाँसेर भने– हजुरले जे गर्नुभो मेरो भलो चिताएर गर्नुभो, मेरो नराम्रोको लागि होइन हजुरले मलाई जन्म नदिए पनि सधैं म मेरो जन्म दिने आमाको स्थानमा राख्नेछु। आज म जुन ठाउँमा छु त्यो हजुरहरूकै कारणले हो। उसको कुरा सुनेर अब विप्लवकी आमाको पो आँखाबाट आँसु आयो।
काठमाडौं
प्रकाशित: आश्विन १७, २०७२
(स्रोत : Kopila – Kantipur)