संस्मरण : साउने गाउँ

~वरुण पोख्रेल~

साउन, बडो रसिलो महिना । चैत देखी खासै हरियो परियो देख्न नपाको गाउँको भान्साले हरियो देख्ने महिना । गर्मी भरी रुक्खेको ज्यानले धित मरुन्जेल भिजेर शरीरका धाँजाहरु पुर्ने महिना । हुन त असार लागे देखी नै बर्षात सँगै फर्सिका मुन्टाले हरियो तिहुनको सुरुवात गर्छन् । तै पनि साउन नलागी घिरौँला, चिचिन्डा लगाएतका बर्खे तिहुनको सुरुवात हुन्न । मकैले धान-जुँगा गर्दै गर्दा आँगनको छेउँमा झिक्रामा लहरिएका घिरौँला, चिचिन्डा र करेलाले बतिला लाउन शुरु गरे देखी नै उत्साह आउन थाल्छ। शुरु शुरुमा मकैले धान फाल्दा, घिरौँला, काँक्राले फूल र बतिला हाल्दा त यस्तो लाग्छ कि जीवनमै पहिलो पटक काँक्रा घिरौँला रोपेको र पहिलो पटक नै यस्तो देख्दै छुँ । बडो आनन्द लाग्छ । घिरौँला-काँक्राले बतिला लाए देखी दिनगन्ती शुरु हुन्च कैले बढ्ला भनेर । बिहान जुरुक्क उठ्यो, आँखाका चिप्रा मिच्दै पहिले बाहिर निस्केर आँगनका डिलमा गएर त्यो बतिलो दर्शन गरेपछी बल्ल मुख धोयो । त्यती बिधी मायाँ त भर्खर जन्मेका बाख्राका पाठा-पाठीको नि लाग्थेन ।

छिमेकी साथी हरुलाई बोलाई बोलाई टाढै बाट बतिला देखाइन्थ्यो । नजिक जाँदा र सिधा औँलाले देखाउँदा कुहिन्छ भनेर चोर औँला र माझी औँलाको बिचमा बुढी औँला घुसाएर, त्यो बुढी औँलाको टुप्पोले देखाउनु पर्ने । कैले काहीँ झुक्केर कसैको सिधा औँला ति बतिला तिर सोझिए कि बाक्सिङ (बक्सिङ) खाइहाल्थे, कैले काहीँ आँफै नि भेटिईन्थ्यो । तर यस्मा सिधा औँला देखाउनेकै गल्ती हुनाले साना तिना थप्पड घुस्सा सहन पर्थ्यो । चाहे मन मनै रिसको आगो बलेर त्यो दिन देखी दुई चार महिना साथी सँग बोल्चाल बन्द नै किन नहोस् !

शुरु शुरुमा लागेका काँक्राका बतिलामा एउटा सानो झिँगा जस्तो किरा बस्न आउँथ्यो, त्यो आएपछी स्योर भयो कि त्यो बतिलो कुह्यो । पहिलो दोश्रो तेश्रो लगातार कुहिँदै गएपछी काँक्राको मामा भन्ने झार उखेलेर ल्याएर झालमा झुन्ड्याइदेपछी मन सन्तोक हुन्थ्यो । काँक्रामा फल लागेन भने काँक्राको मामा भन्ने झार झुन्ड्याइदेपछी फल लाग्न थाल्च भन्ने विश्वाश थियो ।

चलन अनुसार त असारा’ पन्ध्र लाई किसानको चटारो समय भनिन्छ, तर साउन नसक्कियुन्जेल असारा’पन्ध्रले छाड्दैन। बैशाखमा रोपेको चैते धान साउने झरी सँगै पाक्छ, अर्को आपद त्यो झरीमा धान स्याहार्नको । झरी छल्दै धान काटिसक्यो, सुक्न पा’हुन्न कुन्यु लगाउनको हतार । धान कुहिएर, कुन्युमै उम्रेर अर्को फसाद ।

एकापट्टी धान काटेर उठाउँदै गर्दा अर्को पट्टी हिलोगर्न (पहिलो लट जोत्ने) को चटारो फेरी । हिलो गरी सिद्ध्यायो,आलीपाती सक्यो अब साउने रोपाइँको पालो । गाउँभरी एकै पटक पर्ने साउने रोपाइँ, सिमीत हली खेताला । एकै जना हलीले तीन चार ठाउँँ भर दिन्थे । जस्ले काम पछी यसो मध्यपान जुगाड गरी जिउ तताउने ब्यबस्था गर्दिने गोप्य बाचा गर्छन् उस्कैमा हली, बाँकी चिल्लै । दाना-पिँडो गर्या गोरु, भर दीइएका रोपाहार यत्तिकै बसाल्ने कुरो नि आएन । अनी ब्यान सात बजे भात खायो, खोक्, जुवा जे छ काँधमा बोक्यो गोरु खेद्दै झर्यो बेसी ।

रोपाइँकोको बेग्लै मजा! सकेसम्म रोपाहार आफ्ना लेवलका खोज्न पाए दिन्भर काम गर्दा पनि थकाई नलाग्ने । बिउका मुठा तीस हात टाढाबाट रोपाहारलाई झुक्याइ झुक्क्याइ पछील्तिर खुट्टै मुनी हिलोमा फ्यात्त फ्यात्त फालेर आधा आँग निथ्रुक्क हुनेगरी हिलोले भिज्याइदिँदा तर्सेर तीन हात उफ्रेको द्रिश्यले नै अनुमान गर्न सकिन्थ्यो कि कुन कुन अङ्ग कती कती भिजे। ठिँगारे (बाउसे) भैन्थ्यो प्राय जसो। कुनाको गर्हाबाट काढेर पँजाएका बिउका मुठा डोकोमा नाम्लो लाएर चरप्प बोकेर कम्मर हुँदै कुर्कुच्चा सम्म हिलो-पानीको धारा बगाउँदै चुइँ-चुइँ बोकेर पुछारको गर्हा सम्म पुराउन पर्ने । हिलो सहितको बीउ, डोकोभरी बोक्दा गर्धन बाङ्गो हुन्थ्यो, डोको बिसाइसकेपछी पनि दुइ-चार मिनेट त दाँयाँ बाँयाँ मुन्टो घुमाउन नमिल्नी । ठिँगारे भनेको बिना बिभागीय जस्तो हुन्थ्यो, कुलाको मुहानमा बालुवा-ददेरी थुप्रेर पानी तर्किँदा कुलो चलाऊनी देखी आबस्यक परे रोपाहार नै समेत बन्नु पर्ने । खोकले छोडेका थाउला देखी भत्केका आली मुसार्नु पर्ने । देखिने काम खासै केइ नाइ, दिनभर दगुरादगुर मात्र । त्यसैले होला ठिँगारेले अर्नी पनि दुई टाइम खान पाइन्थ्यो।

असारै देखी खुट्टा ओभाउन पाउन्नन् । जुरुक्क उठ्यो, हिलोमा कच्याल कच्याल । खेत गयो दिन्भर हिलोमुनी पाइताला ।खुट्टा हिलोले खाएर उत्पात । औँलाको काप देखी शुरु भएको चोइटा निस्किन गोलीगाँठा सम्म बाँकी रहन्नन् । दिन्भर काम गर्‍यो घर फर्कने बेलामा चहर्याउँदै र टट्ट्याउँदै घर ।

उपचार पनि बडो गजब, सजीवनको पात ट्वाक्क चुँड्यो, तप् तप् चोप चुहिन्च, त्यै दलिन्थ्यो खुट्टामा । शायद त्यो भन्दा सास्ती त प्रहरीले नेल लगाउँदा पनि हुन्न होला । ढुङ्गाले हानेको भुस्या कुकुर जस्तै खुट्टा खोच्याउँदै बर्बराउँदै दगुर्नुको बिकल्प थे’न। राती घर पुगिसकेपछी फेरी सुरु हुन्छ उही दैनिकी, लिगलिगको दौडको तयारी जस्तो गोडामा घिउ घस्दै भोलीको खेती दौडको तयारी ।

ब्यान उठे देखी राती नसुतुन्जेल फुर्सद हुँदैन, त्यै बेलामा बन भरी आँप र फँरेट पाकेर उपद्रै । कैले गएर खानु ! हरियै झ्याउ पलाएका फँरेटका अजङ्गका ठुला ठुला रुख । रातिको पानीले झारेका पट्ट फुटेका पोटिला रसिला भरिला फँरेट भुइँभरी उत्तिकै, रुखमा उत्तिकै । जिब्रो बैजनी हुँदै कालो हुन्जेल फँरेट खाँदा ढेँडुको थुतुनो जस्तो थुतोनो-जिब्रो र पहाडी जङ्गली अमीला-गुलिया धर्सा परेका जगल्टे आँप चुस्दा दाँतै भरी धर्सा अल्झाएर कोट्ट्याउँदै हिँड्नुको टेस पनि साउने सिजनकै मुख्य पाटो हुन्थ्यो ।

साउन दु:ख मात्र काँ हो र ! साउन जती टेसिलो त फाउन पनि हुन्थेन । साउनको एक गते देखी शुरु भएको तीज हरितालिका सम्म एक दिन बिराएर लगातार । कता कता भ्याउनु ! ओल्लो गाउँ- पल्लो गाउँ । कैले उप्रेता’ घर, कैले डट्टाकुरा । गाउँ भरीका जम्मा भएर ठुलो आँगनमा तीज गीत गाउँदै नाच्थे । बेलुकीको खाना खाएर हात चुठ्न बाहिर निस्क्या बेलामा यसो कान तेस्र्यायो, कता तिर ट्याङ्ग मादल बज्या सुनिन्च त्यतै तेर्सियो । दिनभर काम गरेर थाक्या ज्यान, तिजा’राम हेर्न जानी भनेसी तुरुन्तै तङ्रिन्थ्यो । यसो ओल्ला घर पल्ला घर कानेखुसी गर्यो, हिँड्यो राम हेर्न । लाइट हुन्थेन सबै सँग । पुराना फाट्या चप्पलको जुगाड गर्यो, लौराको घोँचो चप्पलको तुना अड्काउने प्वालमा घुसार्यो सल्कायो चल्यो । सानो तिनो झरिले निभाउने हिम्मत राख्थेन बलेको चप्पल । हिलोमा चप्पल फड्कार्दै, ढिक-कान्ला नाघ्दै अँध्यारोमा धुसुम धुसुम पुगिन्थ्यो थलोमा । कैले काहीँ त आँगन, पिँढी, पटाहामा समेत बस्ने ठाउँँ नपुगेर कान्लामा बस्नु पर्ने । १०-११ बजे पछी आमा पाटीहरु फर्कन्थे । अनी सुरु हुन्थ्यो वास्तविक रमाइलो । सबै युबा युबती । दोहोरी, छेकटे नाच । तर अचम्म, गीत कहिल्लेइ परिवर्तन हुन्थेनन । बर्षौँ उही गीत दोहोरिन्थे । बरिलै मकैको पातलाइ ~~~ बरिलै बोडिले फूल हाल्यो ~~~ यस्तै लाइन दोहिरिन्थे मुख पाट्टिउन्जेल । वास्तवमा गीत जस्तो भए नि हुन्थ्यो। चाहिने नाचै हो । एक से एक सिपालुहरु हुन्थे । रात छिप्पिँदै जाँदा मान्छे घट्दै जान्थे, कोइ कता कुनामा निदाएका हुन्थे त कोइ जोडी बाँधेर खुसुर खुसुर गर्दै हुन्थे । कतिपयको परिणाम् दसैंँ सम्ममा निस्किन्थ्यो । अनी कतिको भागाभाग् चल्थ्यो, कतिको आरोप प्रत्यारोप चल्थ्यो । कती जोडी बिहे नै गर्थे । वास्तवमा रमाइलो मायाँ बजार नै लाग्थ्यो त्यो समय ।

यि सबै कुराहरु प्राय कथा भैसकेका छन् । ति साउने धान रोप्ने खेतहरु आधा-उधी बाँझो भैसकेका छन् । ति हली, खेताला अरब-मलेसिया देखी दिल्ली पन्जाब तिरै रुमलीईरहेका छन् । बनका फँरेट मान्छे भन्दा चरा चुरुङ्गी र बाँदरले नै ज्यादा भोजन गरिरहेका छन् । पछील्ला दशकका राजनैतिक् ‘चेतनात्मक’ उथल-पुथलले पारेको असर सामाजिक मात्र हैन भौतिक र जैबिक रुपमा पनि गाउँमा प्रशस्त देखिन्छ । तीजका गीत गाउने तन्नेरी कोइ छैनन् । साउने सक्रान्ती देखी बज्न शुरु गर्ने मादल हरितालिका तीजको दिन मात्र बज्छन्, त्यै पनि बर्षौँ देखी खरीको मुख नदेखेको मादलको धोद्रो आवाज सँगै । बरिलै मकैको पातलाइ ~~~ लाई ‘पिठ्युँ कन्याइदेउ न बाइ~~’ मार्काले बनमाराले बाली नासे जस्तै हालत बनाइदेका छन् । गाउँमा युबा भन्दा ब्रिद्द-ब्रिद्दा नै बढी देखिन्चन ।

जस्लाई पनि सोध्नुस्: सञ्चै हुनुन्छ ?

साझा उत्तर हुन्छ : काल पनि आएन बाबु, बाँच्च्या छ जेनतेन ।

यसै गरी दैनिक झरी बादल बाढी भेल सँगै बित्छे साउन, र अझ डर लाग्दो लामो झरीको पर्खाइमा रहेकी लाग्दो भदौले भन्छे : तिमी त गयौ दिदी, म कसरी जाने हो !

9/13/14

वरुण पोख्रेल
चौरपानी, प्युठान, नेपाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.