~ताराप्रसाद श्रेष्ठ~
१
नहुनु मामाभन्दा काना मामा जाती
उज्यालो देखेर डराइ गयो राति
सद्भाव बोकेर आयो संविधान
प्रकृतिलाई चढाऊँ फूलपाती
२
फाट्यो बादल कुहिरो झलमल घाम लाग्यो
जाडो धपाउन पुरानो कोट नै काम लाग्यो
स्वागत गरौँ पुष्पगुच्छाले संविधानलाई
भाषा, भेष, पहिचान आफ्नै ठाम काम लाग्यो
३
फूलबारी सफा बनाऊँ गोडेर झार पात
बगाइ पसिना धारा खाली नराखेर हात
प्रकृतिका फूलहरु सबै रंग फुल्न पाऊन्
शीतलता छर्दै आयो खुलेर जुनेली रात
४
करेसाबारी बगैँचा देखेर ती हरा भरा
रमाउन पाऊन् सधैँ चिर्बिर गर्दै चरा
पुतली आएर नाचून्, फूलको थुँगाथुँगामा
बगाएर पसिना धर्ती बनाऊँ उर्वरा
५
श्ुाभ मंगलकारी बनोस् दुई हजार बहत्तर साल
प्रकृतिभित्र रमाऊन् कोइली, मयूर डाँफे, मुनाल
स्वच्छ सुगन्धित हावा बहिरहून् तराई, पहाड, हिमाल
मन्द मुस्कान भरिएको देख्न पाऊन् आमा नेपाल
(स्रोत : Echitwanpost)