कुनै एकलासको निरबता होस्
या आफन्त अनि पराइ भिड भित्रै को एक्लो पन
मेरा खुशीका असिम देउरालीहरु हुन
या दु:खका अपार गल्छेडाहरु
हर हमेसा तिमी मरै अन्तस्करणमा
लहराको लागि ठडिएको थाक्रो जस्तो
सधैं अनबरत जेलियी रहीछौ
मसँग/ म भित्रै/ म जस्तै
अझ म आफु भन्दा पनि बढी भएर
कसरी तिमी आफु पुरै ममा समर्पित हुन सकेकि?
कसरी तिमी ‘आफु’ बाँच्न छोडेर
‘सन्तान’ मात्रै बाँच्न सकेकी ?
आमा तिम्रा पाउहरुमा निधार टेकाएर
म अशिम पाप पुछी रहेछु ।
कहिले काहीं सपनामा आउने एउटा बूढो छाया चित्र,
कहिले बस स्टेसनमा लर्बराउदै आउने दिब्य सालीक
मसँग हठात सोध्छ- ‘बाबु बस छुट्यो कि आउँदै होला ?’
अनि म तरङित हुन्छु
आमा सोधिरहेकी छिन् ‘बस छुट्यो कि छुटेन’,
कहाँ जाने बस !?
शायद चारधाम जाने बस
शायद दुर-दुर को तिर्थ जने बस !!??
भित्रै सम्म निचोरिएर म तरंग हुन्छु
र देख्छु जता पनि आमा “आमा” नै हुन्छिन
आमाहरुको केबल त्यही एउटा सपना छ
चारधाम तिर्थ ब्रत गर्ने
त्यो पनि केबल सन्तान को लागिमात्र
आफु र आफ्नो लागि माग्न बिर्सेंको त
उनले सधियौ बितेको छ ।
वास्तवमा उनलाई आफु पनि जिउदो छु भन्ने होश सम्म हुन छाडेको छ ।
मलाई यकिन छ
तिम्रा अधरमा उम्रने प्रत्यक मुस्कान
त्यो मेरो लागि हुन्थ्यो/ हुन्छ/ भैरहनेछ
तिम्रा नयनमा टुसाएका प्रत्यक आसुँका थोपाहरु
मेरो सानो भन्दा सानो दु:खको लागि हुन्थ्यो/ हुन्छ/ भैरहने छ ।
कसरी यस्तो हुन सकेको?
मैले खाए तिमी अघाइ रहने,
मैले हासे तिमी खुशी भैरहन सक्ने
मैले बाँचे तिमी जिउदो भैरहने,
आमा
कहिले देखि तिमीले आफु बाँच्न छाडेकी ?
कहिले देखी तिमी केबल म मात्र बाँचि रहेकी?
जिन्दगीको डुंगा केबल मेरा लागि मात्र खियाएर
बहनाले कति अधकल्चा सपनाहरु
पछाडि घचेडी रहयौ तिमीले
म सधैं सँगै बसेर
खाली अगाडि हेर्ने बाहनामा
सधैं सधैं तिम्रा अधमरा सपनाहरुलाई
नजरअंदाज गरिरहेँ/ गरिरहेछु आमा!
मलाई थाहा छ,
मलाई थाहा छ- कुनै दिन तिमी पनि केबल तिमी थियौ
तिम्रो तारा जस्ता आँखामा
जून जस्तै धपक्क बलेको सपना थियो
तिम्रो त्यो सोर्णिम अधरमा
तिमीले तिम्रै लागि हास्ने गरेको हाँसो थियो
तिम्रा तकिया मुन्तिर
तिम्रा आफ्नै सपनाको अशिम भन्डार थियो
जब तिमीले आफुलाई ममा समाहित गरयौ
एकाएक कसरी तिमी मान्छेबाट देउता भयौ आमा ?
अथवा यस्तो पो लाग्छ आज भोलि
देउता ‘देउता’ मात्र हुन सक्छ ‘आमा’ हुन सक्दैन
‘आमा’ हुन शायद दैबले पनि पुन्य गर्नु पर्छ !!??
(स्रोत : Satakosahitya)