रविका मद्धिम किरणको फैलावटसँगै
पखेटा फड्फडाएर चराहरुका कोकिल कण्ठबाट
करतल चिरबिराहट निस्कन्छ
हरेक घरबाट निन्द्रा भाग्दछ
जगत जाग्दछ
यो आवाज नै त हो
जस्को छायाँका पछिपछि एउटा गोरेटोमा
हामी आफूलाई डोर्याउँछौं, आफ्नो चेतना खोल्छौं
आफ्ना मधुर वाणीले हृदयलाई छुँदै
कसैलाई बुझ्छौं, कसैलाई बुझाउँछौं
कसैको समिप आवाज फैलाएर
हाँस्छौं हँसाउछौं
आवाज
कहिले कोही बुढी आमाका आँसु पुछ्दछ
सम्झाउँछ, बुझाउँछ
ती बुढी आमै
त्यही आवाजमा विश्वास जगाउँछे
त्यही आवाजमा मोहीत हुन्छे
त्यही आवाजमा हाँस्दछे
दिललाई सुम्सुमाएर पिडा पखाल्ने
आवाज नै त हो
लाखौँ कोश टाढा चलायमान औंलाले
जब घरमा फोन घण्टी बजाउछ
त्यस बेला
घरको रौनक हेर्न लायक हुन्छ
यस्तो लाग्छ
मानौं
मन्दिरका टुँडालहरुमा लर्किएका सयौँ घण्टा
एक साथ रागात्मक भएर गुञ्जिए जस्तो
परिवारका हरेक सदस्यका अनुहारमा
गुलाफ फुल्छन्, चमेली मग्मगाउँछ
त्यतिबेला
आरतीका दियोझैँ
जेष्ठहरु चम्किन्छन्
कनिजहरु हौसिन्छन्
प्यारीको हृदय भने छट्पटिन्छ
हुकहुकी बेचैनी सन्त्रास
ढोकैमा अडेर भित्ता कोतर्न थाल्दछ
व्याकुलताले प्राण कण्ठ सम्म आउँछ
जब कानमा हृदय शान्त पार्ने
आवाज गुञ्जन्छ अनुहारमा विश्वास जाग्दछ
निस्तेज शरीरमा प्राण फर्काउँने
आवाज नै त हो
कसैको आगमनलाई लिएर
प्रतीक्षामा निर्लिप्त आखाँहरु
आगमनमा उव्जिने रुवाइका ध्वनीसँगै
हृदयका ढोका आफसेआफ खुल्छन्
आगत जीव रुन्छ
खुसीका रौनक कुनाकुनाबाट गुञ्जन्छन्
हाँसो र खुसी छरिन्छन्
उत्साह र उमंग भरिन्छन्
माहौलमा मालश्री लहराउँछ
हावा आफैमा कस्तुरी छर्दछे
चारैतिर खुसी छाउँछ
हाँसो ठट्टाका आवाज आउँछ
प्रसव पिडा बिर्सेर
जननी मुस्कुराउँछे
एक जीवन पाएर धरती हाँस्दछे
हर्ख बढाँईलाई उचाल्ने
अवोध नवजात किल्कारी
आवाज नै त हो
आँखाहरू बाटैमा बिछिएका हुन्छन्
हृदयहरु मिलनका लिगि छट्पटिएका हुन्छन्
प्रतिक्षारत मायाहरु
मनमा उस्ताह भरिदिन्छ
व्याकुल मनहरू संघारतिर हुत्तिन्छन्
ती परिचत हाम्रा आफ्ना हुन्
ती आफ्ना हाम्रा परिचत हुन्
आत्मियता बोकेर आउँने परिचितहरुलाई
परिचय बोकेर आउने आत्मियहरुलाई
वयेली खेल्दै गरेका मधुर पवन
फूलका वल्ली हल्लाएर स्वागत गर्छ
घरको आँगनमा आएर पाहुन मुस्कुराइ दिँदा
स्वागतका लागि केही झुकिदिन्छौँ
आँखा जुधाएर प्रफुल्ल हृदयले स्वागत गर्छौ
सत्कारहरु पोखिन्छन्
कोशेलीसँगै मनहरू साटिन्छन्
मनहरुसँगै आदर र मानहरु साटिन्छन्
सुखदुखका वार्तालापमा
हाँसिन्छ रोईन्छ
कसैलाई सम्झिईन्छ कसैलाई याद गरिन्छ
विगत फर्काएर वर्तमान हेरिन्छ
वर्तमान जोडेर भविष्य बुनिन्छ
हृदय खोलेर निस्कने मधुर वाणी
आवाज नै त हो
यो आवाज नै त हो जीवन
यो आवाज नै त हो आत्मा
यो आवाज नै त हो ब्रम्हाण्ड
यो आवाज नै त हो ब्रम्ह
यो आवाज नै त हो सत्य
यो आवाज नै त हो सम्पूर्ण
ॐ नाद ब्रम्हणे नमः
(स्रोत : SamaShree’s Blog )