तिम्रो सौन्दर्यमा हराएँ ,
तिम्रो इतिहास सँग रमाएँ !
म तिमीलाई
तिमी भन्दा पनि अग्लो टाकुराको कथा सुनाउँछु ,
तिमी भन्दा पनि सुन्दर देशको ब्यथा सुनाउँछु !
अलास्का, तिमी त बेचिएछौ पनि
तर म तिमीलाई
युगौं देखि स्वतन्त्र एउटा पहाडको कथा सुनाउँछु ,
सधैं शीर ठाडो पार्ने एउटा हिमालको ब्यथा सुनाउँछु !
म रम्दैछु तिम्रो प्रकिर्ती सँग –
माछा खाने ति भालु सँग, करेबु अनि मुसहरु सँग
म तिमीलाई
कस्तुरी म्रिग, अनि जरायोको कथा सुनाउँछु ,
हिउँ चितुवा, याक अनि येतीको गाथा सुनाउँछु ,
हराउँदै गरेका बाघ अनि हात्तीको कथा सुनाउँछु ,
अनि
जिउँदै सिङ् उखालिने गैँडाको ब्यथा सुनाउँछु !
म रम्दैछु तिम्रा पंक्षिहरुको चिर्बिरी सँग
म तिमीलाई
डाँफे, मुनाल अनि कोइलीको गीत सुनाउँछु !
म रम्दैछु – तिम्रो छातीमा प्रशान्त महासागर देखी
हराउँदै छु – छाल, तरंग अनी ज्वारभाटा सँगै
म तिमीलाई नदीनाला अनि कन्दराको सुशेली सुनाउँछु,
गण्ढकी, महाकाली, अनी सप्तकोशीको ब्यथा सुनाउँछु ,
जल्स्रोतको अती धनी एउटा देशको कथा सुनाउँछु ,
सधैं अंधकारमा बाँच्ने एउटा देशको ब्यथा सुनाउँछु !
म दंगदास छु – तिम्रो गर्भमा हिरा, जवारातको खजाना देखी
सुन, कोइला अनि तेलको मुहान देखी
म तिमीलाई खानि भित्रै जक्डिएका,
कहिले उद्दार् हुन नसकेका
सुन, तामा, अनि फलामको ब्यथा सुनाउँछु !
म रम्दैछु तिम्रो सौन्दर्य सँग – फूल, घाँस, लता अनि जंगल सँग
म तिमीलाई लाली गुराँस, सुनगाभा अनि सिम्रिकको कथा सुनाउँछु ,
उत्तिस, बकाइनु, साल अनि सल्लोको गाथा सुनाउँछु ,
सित्तैमा निर्यात हुने जडिबुटीको ब्यथा सुनाउँछु !
म तिम्रो ब्यबस्थापन – विकासको आनन्द लिँदैछु
म तिमीलाई एउटा भद्रगोल देशको कथा सुनाउँछु
फगत सगरमाथा अनि बुद्धमा गर्व गर्ने
निमुखा प्रजाको ब्यथा सुनाउँछु
झूट, छल अनि बेइमनीमा प्रजा भुलाउने,
भाग-बन्डा अनि लुछाचुँडीमा
देशलाई बलत्कार गर्ने
स्याल, हुँडार, ब्वाँसा
अनि चितुवा शासकहरुको कथा सुनाउँछु ,
म तिमीलाई मेरो देशको कथा सुनाउँछु ,
म तिमीलाई मेरो देशको ब्यथा सुनाउँछु ।
ध्रुव कुमार सापकोटा – अलास्का, अमेरिका ! हाल – द नेदरल्यान्डस्
(मधुपर्क , फाल्गुन २०७१ मा प्रकाशित )
(स्रोत : रचनाकारको फसबुकबाट सभार )