सँधै झैं सखारै ब्युँझेर
धरहरा झैँ सपाट र ठाडो बाँच्न
जिवनका धून बजाउँदै
लाखौं जिन्दगी निस्कियो सडकमा ,
कतै प्रेमी प्रेमिकाको मिलनमा
प्रेमिकाको ओठ थरथराए त
कतै फोहोरको थुप्रोमा खानेकुरा भेटेर
केही बालकहरु रमाए ,
हो आखिर जिन्दगी पो त
त्यसैले त सडकपेटीमा पनि
जिन्दगी जिन्दाबाद हुन्छ ,
आलिशान महलमा पनि
जिन्दगी जिन्दाबाद हुन्छ ,
नगरका कोठिमा पनि
जिन्दगी जिन्दाबाद हुन्छ ,
कबिका गजलमा पनि
जिन्दगी जिन्दाबाद हुन्छ ,
जिन्दगी जिन्दाबाद थियो ,छ र हुनेछ ।
जिन्दगीका गीत र नाराहरु
सायद कसैलाई मन परेन
केवल ४० सेकेन्डको मृत्यू गीत बजाएर
कसैले आफुलाई अब्बल देखाउन खोज्यो ,
कोहि थियो जो
चीत्कार र आर्तनादको धून भरेर
मृत्यूको गीत बजाउन चाहन्थ्यो ,
हो उस्ले भयानक दुन्दुभि बजायो
शक्तीसाली रहेछ धरा नै कपायो ,
सारा धराबासीको चीत्कार र आर्तनाद समेटेर
मृत्यूको गीत गायो ।
हो अब केही जिन्दगी सपाट छैनन
केही प्रेमी र प्रेमिकाको मिलन टुंगियो
केही फोहोरका थुप्रोमा लासहरु गन्हाए
केही महलका भग्नावसेषले केही जिन्दगी पुरे ,
तर अन्त्य भएको छैन
अर्को बिहानी आईसक्यो
चराहरुको चिरबिर फर्किसक्यो
केही दिनमै चट्टान फोरेर
पक्कै पिपल उम्रनेछ ,
धरहरा फेरी सपाट र ठाडो बाँच्नेछ
शोक शक्ति र भोक बाँच्ने अभिप्सा बन्नेछ
पाखुरी र पसिनाको तोडले
मृत्यूको गीत बन्द गर्नेछ ,
जिन्दगी फेरी पहाडको छाती बोकेर बाँच्नेछ
फेरी पनि जिन्दगी लालिगुँरास भएर फुल्नेछ ,
किनकी
जिन्दगी जिन्दाबाद थियो,छ र हुनेछ ।।।
मीरा मन थापा
माईधार झापा
(स्रोत : Nareedarpan )