पुग्नुपर्ने ठामको नाम कोरेर,
कागजको एक पाना समातेर
उभिएका छौं हामी
समयको दोबाटामा
पुर्याइदिने अरू कोही छैनन्,
– हामी आफै र हाम्रा आफ्नै।
पेट्रोल पम्पहरू रित्तिएर
बल्ल ब्यूँझेका हामीसँग
मनग्गे तेल थियो
दिपावली गर्न
तराई रगताम्य हुँदा,
हामी जत्तिकै नेपाली हुन खोज्दा,
– हाम्रा आफ्नै।
खैः कुन स्वरले फलाकौं
घोक्दै आएको कोरा राष्ट्रवाद,
खैः कुन काँधमा बोकौं
यति गर्हौं स्वाभिमान?
आमाहरू नै नअट्ने,
साथीहरू नै नसमेटिने
मेरो देशको संविधान!
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )