~भुपेन्द्र वीर विक्रम लामा~
आलिसान महलको छेउमा
एउटा झुपडी
नियाली रहेको छ वर्षौ देखि
उसको काला कर्तुतहरु
तर बोल्न सकिरहेको छैन
उसको रवैयाहरुको बिरोधमा
किनकी झुपडीको बच्चाहरु
थापिरहेका छन तिनै वर्षौ देखि
उसले भोगचलन गरिसकेका
जडौरी उपहारहरु।
महल चाहान्छ
झुपडी सधैं उसैको उपहारको
आसामा बाँची रहोस
कहिले कहिँ बहाना बनाएर
उपहारको निकासा नगर्दा
तड्पिरहोस
बजार सम्मको निकास छेकी दिँदा
बौलाओस
अनि आओस
उसको चरण स्पर्श गर्न
रुईकराई निकास र उपहारको निम्ति बिलौन गर्न
आफ्नो भोको बच्चाहरुको पेट भर्नको खातिर
साटोस उपहारसंग सार्बभौमसत्ता ।
महल सोच्दछ
हरहिसाबले झुपडी
ऊ प्रती नै आश्रित बनोस
नअङ्कुराओस स्वाबलम्बनको बिजहरु
झुपडीको दिमागमा
ऊ कहलाउनु खोज्दछ आफैंलाई
झुपडीको अन्नदाता
एक हिसाबले महल सोच्दछ
झुपडी उसैको एउटा अङ्ग हो
झुपडीको हर क्रियामा उसको इसाराले काम गरोस
उसलाई के मतलब
झुपडीको बच्चाहरु मरुन या बाँचुन
मतलब त उसलाई केवल
झुपडी भित्र लुकेको साधन र श्रोतहरुमा छ
केही भोगी बच्चाहरुलाई
थुप्रै उपहारको प्रलोभन देखाई
पालेर, पोसेर
झुपडीको शासन गर्नु छ।
उसले नसोचेको एउटा पाटो
उसको इसाराको बेवास्ता गर्दै
संचारित हुँदैछ झुपडीको एउटा कुना देखि अर्को कुना सम्म
झुपडी भित्र पनि पैदा भइसके
आत्मसम्मान चाहाने बच्चाहरु
उसैको नाकमुनी
तरवार र खुकुरीहरु सान लाग्दै छन
उसको गिद्धे आँखा फोर्न
भालाहरु तिखारिदै छन
उसको काला कर्तुतहरुको पर्दाफास गर्न
टुकिहरु सल्किदै छन
उसको राक्षेसी हातहरु भस्म पार्न
मसालहरु बल्दै छन।
यादहोस महललाई
अब निकट भविष्यमा नै
झुपडी आफ्नो कुपुत्रहरु तहलगाएर
सुपुत्रहरुको बलमा
भङ्ग गर्नेछ
महलको हैकमहरु
पछार्नेछ उसको उपहार र आशीर्वादहरु शिरबाट
बाँच्नेछ स्वाबलम्बी भै
आत्मसम्मान बोकेर
रमाउनेछ झुपडी
आफ्नो सार्बभौमसत्ताको आभुषण
शिरमा सजाएर।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )