यो माटोमा खसेको आदिम बीउ हुँ म
यसैमा बनेको हुँ बिरुवा
यहींको हावामा सास फेरेर हुर्किएको हुँ
यहींको पानीले तृप्त भएर अघाएको हुँ
यहीं गडेका छन् मेरा जरा
यसैमाथि फैलिएका छन् मेरा हाँगा
यही माटोले बनेको हुँ म
यसैमा उभिएको रुख हुँ
ऋतुहरू फेरिँदा
यहीं झरेको हुँ र फेरि पलाएको हुँ
भोगेको हुँ यहीं
हिउँदको ठिही र वर्षाको झरी
यही धरतीको शारदीय छटामा
मिसाएको हुँ आफ्नो बैंसको लालीमा
कालान्तरदेखि
उसैगरी बाँचिरहेको छु यहीँ
पचाएको छु हावा र पानी
हात्तीका सुँडमा बेरिँदै
गैंडाका पाइतालामुनि लछारिँदै
बाघ–भालुसँग लड्दै
रचेको छु यो श्रापित कालापानीमा
सुनको उपत्यका
यो माटो मेरी आमा हो
यसैले लेखेको आख्यान हुँ म
खाली छन् जमिन्दारको बहिखाताका धमिला पृष्ठ
त्यहाँ भेटिन्न कुनै हिसाब
कुन–कुन महाराजको सवारीमा
मैले मुटु फुट्नेगरी बाटो खनें
कति हल जोतें चौधरीको खेत
कति दिन फरुवा चलाएँ
एक धरो लगौंटीले कति वर्ष–महिना र दिनको लाज ढाकें
तर राखेको छु मैले एक–एक हिसाब
न पटवारीलाई थाहा छ
न चौतरियालाई थाहा छ
तर थाहा छ मलाई
कहाँ–कहाँ चुकाएको छु मैले
सास फेरेको मूल्य
यो माटोको विकल्पमा मेरो कोही छैन सहोदर
कुनै इष्टमित्र, कुनै प्रियजन
यो माटोबेगर कोही छैन मेरो आफन्त
यसैमा पुरिएका छन्
महामारीले मासिएका मेरा पुर्खाहरुका हस्तिहाड
औलोले निलेका मेरा दौंतरीहरुका करङ
हैजाले सोहोरेका मेरा केटाकेटीका कलिला खप्पर
म तिनै अवशेषको साक्षी भएर बसेको छु
नबिराई कुनै हरफ
म तिनै त्रासदीको कथा भन्न उभिएको छु ।
(स्रोत : Esamata)