हरेक बिहान म मन्दिर जान्छु
शायद त्यहाँ म भगवानको पूजा गर्छु
दुई तीन फूलहरुसँगै
मेरो आस्थाहरु त्यहाँ चढाउँछु
अनि प्रसाद टिपेर अनेकौ सपना सगाल्छु
कहिले काहीं तिर्थ यात्रा गर्छु
शरीरलाई भावनासँग दाँज्छु
अनि त्यहाँ पुगेर
फेरी आस्थाहरु चढाउँछु
प्रसाद टिपेर
फेरि अनेकौ सपना सगाल्छु
कहिले पवित्र कुण्डमा नुहाउँछु
त्यहाँ म सबै पाप पखाल्छु
अनि पापमुक्त सम्झेर फेरि
रगत चपाउन थाल्छु
रगत चपाउन नपाए
रगत खान थाल्छु
खान पाईन भने रगत चुस्न थाल्छु
चुस्न पनि नपाए
फेरि तिर्थ धाउँछु
तर तिमी भन्छौ
भगवान मुर्ती हो
मुर्ती ढुङ्गा हो
तिमी त आस्थाको पूजारी
तिमी त भावनाको पूजारी
तिमी त समानताको पूजारी
तिमी त कर्मको पूजारी
त्यसैले त तिमी नास्तिक
हो, तिमी नास्तिक
तर म त आस्तिक
केवल म मात्र आस्तिक ।
(स्रोत : Satakosahitya)