सुक्दै गयो सागर र पो के हो बगर थाहा भयो ।
के खोजियो के भेटियो आफ्नो रहर थाहा भयो ।।
प्रत्येक दिन मन्दिर पुगी ढुङ्गो पुजेँ भाकल गरेँ ।
ढोकै अघि माग्ने जुलुश देखेँ असर थाहा भयो ।।
सारा जगत भत्काउँदा कहिलै कुनै लागेन डर ।
जुन दिन अटल मन भत्कियो के रैछ डर थाहा भयो ।।
जस्ले दिए जस्तै गरी लुट्दै थियो निर्मम बनी,
आत्मीयता, मायालु मन, प्रेमी नजर थाहा भयो ।।
सब मौन छन् मुर्दासरी बोल्दैन क्वै आवाज खै ?
काट्ने कुरा क्यै छैन रे, नौलो खबर थाहा भयो ।।
रजज
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )