मायाको भाषा हुँदैन
मायाको परिभाषा हुँदैन
आँखा प्रयुक्त भएर
सोचको आकार र रंगहरु
नाक प्रयुक्त भएर
तृष्णाको गन्ध र वासना
पृथक भाव पृथक सोच
पृथक बिम्ब मस्तिष्कमा
माया
खण्डिकृत गरिए पछि
सुविधा अनुसार परिभाषित भए पछि
बिस्तारलाई संकुचित मानसिकताको
पासोले नत्थ्याए पछि
कुहिन थाल्छ मायाफूल
तिमी
सुन्य चेष्टा अन्तरमुखी अस्तित्व
आफैलाई बुझ्न असमर्थ
डिङ्ग हाँक्छौ परिवोधको
अँध्यारो गुफा भित्र
आफ्नै परावर्त शव्दहरुको
पृथक गुञ्जनमा रुमल्लिर
स्व: प्रतिपालित व्याख्यामा
प्रसारीत प्रचारीत गर्दा
मेरो माया
अकंटक रहन सक्दैनथ्यो
तिम्रो सोचको बन्ध्याकरण
बिफल गराउँदै
प्रलयक श्रृजना शक्तिले गराएको छ
मेरो पुनर्जन्म
आत्म चेतनालाई जागृत गराएर
बर्षौंको प्रगाढ निन्द्राबाट
आज पुनर्जनम लिएको छु
दृश्य पहिला झैं सुन्दर छन्
नयन कंचन छन्
शव्द पहिला झैं मीठा छन्
वाणी मधुर छन्
मन जन्मजात झैं प्रशन्न छ
काला खोटहरु पलायन छन्
आवश्यकता थियो त
एक चुटकी कोशिसको
एक चिम्टी आत्मबिश्वासको
एक पसर हिम्मतको
सवै जुटा्एर
मैले केवल च्यातेको छु
आँखाका अँध्यारा पर्दाहरु
अतितका डायरीलाई कारावास दिंदै
जिन्दगी भीड मात्र भीड हुँदा
केन्द्रबाट बाटो खुल्दैन
छाँटिनु पर्छ होलिनुपर्छ
तव कतै
चेतनाले सास फेर्न पाउँछ
अन्धकार कहिल्यैजीवनको मार्गदर्शक बन्न सक्दैन
जुनकिरीको बोधक पीँध
बुद्धत्व दिन पर्याप्त छ
अज्ञानबाट प्रव्रजित पुनर्जन्म दिन
घुप्प अँध्यारो त अज्ञानता हो
जीवन ज्योतिर्मय छ
स्थिर, अलौकिक, शान्त
मन्दिरको सानो दियो
पत्थरको मुर्तिमा तेज प्रदायक
अहाः दर्शनिीय घडी, कठै ! सूर्य
बोध सलेदो ज्ञान दियो
जीवन बुझेपछि
अर्थपूर्ण लाग्छ
अन्तिम सत्य बनेको मृत्यु
जीवनले जन्मसंगै बोकेर ल्याउँछ
परजिवीको आफ्नो मृत्यु हुँदैन
अरुको मृत्युसंगै मर्दछ
म दृढ छु
यात्रा निरर्थक हुनेछैन
बिश्राममा मुस्कुराउने छु
उपलव्धी संगै
टुंग्याइमा हाँस्ने छु
ख्याती संगै
तिम्रो सुरहीन अलाप
तिम्रो स्वार्थी विलाप क्षणीक
गाँइगुँईमा मिसीनेछ
यो जिन्दगीको आफ्नै मृत्यु हुनेछ
निर्वाण, पुनःनिर्माण हुनेछ
पुनर्जन्मको लागि |
July 30, 2012
(स्रोत : SamaShree’s Blog )