गए साता ईश्वर पदचाप बिना नै,
मेरो तन्द्रामा कानेखुशी गर्दै, बिरहको गीत गाउन पुगेछन्,
“नरुनु अश्रुका धारा , दुख्ने पीडा छ तैपनि
बुनेको जालमा मेरो, हेर बाधिन्छु मै पनि”
अनि ईश्वर भएर बिरह गाउने ?
मेरा प्रश्नका प्रत्युत्तरमा,
ईश्वरले मलाई दृष्टिक्षीण भएको आरोप लगाए,
उ आफ्नो कर्तव्य पालन गर्न आएको बताए,
“म त लीजान्छु प्राणीको श्वाश र चेत दूरमा,
प्रेमकोजाल यो बन्धन्, छोडी नश्वर शरिरमा,
तिमी जुन भक्तिले मेरो वाणी गाएर जोडले,
म रुन्छु वेदना तिम्रो, दुख्छु गढेर चोटले,”
सिरानीको छेउवाट रुमाल दिंदै,
मैले ईश्वरलाई आँशु पुछ्न आग्रह गरें,
म धन्य छु, मेरो पीडामा रुने ईश्वर्,
गएसाता ईश्वर सिरानीछेउ, प्रेमले मेरो निधार छोएछन,
गए साता भगवान म सँगै, मेरो पिडामा रोएछन,
उ मलाई सुम्सुम्याएर झ्यालको बाटो बाहिर गयो,
मेरो सर्वप्रीय प्राण उसैको साथमा बाहिरिएको देखिन्थ्यो
मैले शरिर र प्राण अलग भएको महशूश गरें,
चेतना शुन्य यथार्थको अनुभव गरे,
अर्धचेतमा आन्दोलित मन ब्युझेछ,
छेउमा फोनको घण्टी बज्दैछ, समवेदनाका लस्करहरु छन्
आफन्ता, आँशु, रोदन सुस्केरा, घर दैला आँगन मझेरी तिर छरपष्ट छन
झसंग भएर ब्युझिएं, भिखारीले भिखमा,
गए साता ईश्वरले मेरै पुत्र मागेछन्,
गए साता ईश्वरले सुटुक्क, मेरो सिरानिमा अश्रु थपेछन्
गए सात ईश्वरले चुपचाप वरदानमा,
पुजाको अमोघ फल दिदै
आफ्नो नीर्णयको स्पष्टिकरणमा वेदका मन्त्रोच्चारण गर्दै
पुत्रशोक नै मेरो प्रारव्धको उपलव्धी भनेछन
गए साता ईश्वरले , पन्चगव्य र पन्चामृतको झोल फालेर्,
आफैं जुठो बनांउदै, आफै चोख्याउने नाटक गरेछन्,
गए साता ईश्वर आफै रोएछन , गए साता ईश्वर आफै हांसेछन,
पूजाको लोभमा अझै लालयीत्, किंमकर्तव्यबिमूढ ईश्वर देखेर
मैले उस्को अस्तित्व कायम गर्ने बाचा गरे,
अझै पूजा गरिरहने प्रण गरे,
शशि-दीवाकर र नीरव सँग दृष्टि-प्रकाश बदले पनि,
मेरो दृष्टि नबदलिने अठोट गरे,
तर पनि गए साता ईश्वर्, मेरो सामु स्तब्ध भएछन्,
गए साता ईश्वर्, मेरो सिरानीमा रोएछन । ।
मार्च १३, २०१५
बिलोल पोखरेल,
ह्युस्टन टेक्सास
(स्रोत : रचनाकारको फसबुकबाट सभार )