शिरमाथि सगरमाथा, हत्केलामा सुनाखरी
ओठभरि लालीगुराँस पाखाभरि प्याउली फुली
जब देशले बोलाउँछ, निद्रामा नि ब्युँझिदिन्छु
लालुपाते फूल टिपी सिउँदोभरि सिउरिदिन्छु ।
लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु
यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू ।
मेचीदेखि कालीसम्म, मधेसदेखि भोटसम्म
उत्साह र उमङ्गका ज्योतिहरु बालिदिन्छु
काँडा फुल्ने पहाड बढे खनीखोस्री ढालिदिन्छु
अबेरै होस्, हत्याहिंसा आतङ्कलाई फालिदिन्छु ।
लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु
यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू ।
मादलुको घिन्ताङमा, खैंजडी र मुजुरामा
सिर्जनाका नयाँनयाँ गीतहरु गाइदिन्छु
हिमालको छोरो म त हिउँजस्तै हाँसिदिन्छु
चन्द्रसूर्यजस्तो अमर मायाप्रीति गाँसिदिन्छु ।
लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु
यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू ।
मित्र आई झुक्यो भने सम्मानले उठाउँछु
शत्रु आई लुक्यो भने दैलैबाट भगाउँछु
पहरामा पनि जल–धारा बनी रसाउँछु
थोत्राफोस्रा नियम च्याती, नयाँ युग बसाउँछु ।
लेखिदिन्छु फूलफूल, पातपात नाउँहरू
यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू।
(सम्मोहन साहित्यिक पत्रिकाबाट प्रकाशोन्मुख कवि उदासीको कवितासङ्ग्रह ‘हिउँ फुल्ने गाउँहरू’बाट)