~ताराकिरण कुँवर ‘अविरल अविश्रान्त’~
फेरि चरचर चर्किरहेछ आकास
वर्षा हुने हो कि अनिष्टको
या फसफसाउँदो हिउँले
स्वात्त पार्ने हो कि कलिला मुनाहरु
चटपटाउँदो असिनाले छियाछिया पार्दै
सुलुत्त निल्ने हो कि
ती अमिलो रस भरिन थालेका काफलहरु
या भीरमा चचहुइ गर्दै
पहेंलो मुहार पार्न तम्तयार ऐंसेलुहरु
त्यो पाखो
जहाँ गुँरासहरु रोधी बस्थे
छहराहरु मुस्कुराउँदै, आनन्द लिँदै
अगाडि बढ्थे
लट्ठ पर्दै सुन्दरतामा चिरचिर तिरतिरमा फस्दा फस्दै
हाम फाल्थे मैदानमा
तर अजंगको डढेलोले
जलाइँदै छ आज
तेजाव र मेटासिडले मूर्छित हुँदै
कोही छैन काँध थाप्ने कोइलीहरुको
लास नै मसानघाट पुर्याउने
खटिया भएका छन्
प्याकप्याक गर्दै बचेराहरु
गुँडबाट तप्प तप्प हुत्याइएको छ
त्यो डरलाग्दो रातो पानी
बाकुर बाकुर गर्ने मालुवाहरु
कात्रो बिना छरिरहेछन् बास्ना
लामबद्ध रुखहरु, अर्धमूर्छित झाङहरु
एकाएक ढल्न थाल्छन्
चिच्याहट आइपुग्छ ढोल बजाउँदै
शंख फुक्दै ऐया र आत्थाको
बाजहरु बेग हान्दै
मट्याङ्ग्राहरु फाल्छन् चटचट गर्दै
मर्याकमुरुक डुम्म
फेरि हुरी चल्छ
वर्षा हुन्छ ‘इथाइल अल्कोहल’ को
सोत्तर हुन्छन् लामबद्ध पोथ्राहरु
विछिप्त झाडीहरु
छटपट छट्पटाउँदै पानी मागिरहेछ झरना
तर जहाँ तेजाव मात्र गलहत्याइन्छ
रगत मात्र बमन गराइन्छ
तब मेरो कलमले खबरदारी गर्छ
सावधान
पानी नबगाई नदी कहलाइएका डङ्गुरहरु
रगतले सिंचित हुँदै
बमको लागि उर्वरा कहलाइएका बगानहरु
योगीको भेष गर्दै
परेवालाई धँनुकाण हान्ने बाजहरु
सावधान
बस्ती बस्तीमा ढुक्दै र भुक्दै हिँड्ने
लुते भुस्याहा कुकुरहरु
गरिब निमुखा चुस्ने चुस्याहाहरु
ढाल्ने छ तिमीलाई
त्यही कङ्कालले नै
अनि बनाउने छ
सुन्दर, शान्त नेपाल
दागबिनाको सफा हिमाल
सावधान नरभक्षिहरु हो !
सावधान !
मेरो कलमले आत्महत्या गर्न नपरोस्।
कविता संग्रह ‘क्षितिजबाट चियाउँदा’ बाट।
(स्रोत : Pahilopost)