त्यहीँनेर कैद छु म
जहाँबाट देखाइदिएको हुँ पहिलोचोटी देउतालाई
देउताथान
टा…ढाको देउराली
बताइदिएको हुँ आफैले खनेको मन्दिर पुग्ने बाटो
जहाँ पुग्न प्रतिबन्ध छ मलाई
आँखाको मूल फुटेर
आँखैमा तलाउ जम्छ
म आँशुले आफ्नै पीर धुन असमर्थ
एक भग्न सालिक
मेरो देहको फूलमा आँधी बस्छ
भेल–पहिरो
जो ऐठनबाट भाग्दै–भाग्दै
मेरो छायाँमाथि खस्छ
त्यहीँनेर कैद छु म
शिरमाथि परेड खेल्दै–खेल्दै घामले
घट–घट पिइरहेको मेरो रगत
गुहार माग्छ मलाई
मायाको सप्कोले बेर्दै–बेर्दै जूनले
ल्याप–ल्याप चाटिरहेको मेरो विपना
गुनासो गर्छ मलाई
म कुन त्यस्तो जात हुँ ?
जसको नाता ईश्वरसित छैन
एकान्त अँधेरीको कुटिल पृष्ठमा मेटाइएको
मैले मेरो नाम सच्याउन पाइनँ
मलाई मनपर्ने रातो फूल
मैले मेरै तातो यादलाई समर्पण गर्न सकिनँ
व्यथाका सहश्र झ्याल खोलेर
छाती पिट्दै रुन पाइनँ
आयुको बाँध भत्काउँदै बगिरहेको मृत्यु–समुद्र
तर्नु थियो मलाई
खै मेरो रगतको डुङ्गा ?
अस्पट्ट अग्लिएका पीडा–पहाडहरु
नाघ्नु थियो मलाई
खै मेरो गीतको टेकुवा ?
आँधी लखेट्दै हिँड्ने मानिस थिएँ
बतास पछ्याउनै नसक्ने भएछु
जहाँ भयो आगोको नृसंस हत्या
त्यहीँनेर कैद छु म
जब पर्छ रात
नौलाख सहिदहरु चिथोर्न थाल्छन् आकाश
बेपत्ता प्रेतात्माहरु
सोला हान्न आइपुग्छ मुटु
र सोला हान्दा–हान्दै आफै बनिदिन्छ खरानी
म कसरी जोगाऊँ त्यो खरानी फूल
बाहिर चलिरहन्छ हुरी
हो त्यहीँनेर कैद छु म
सरकार !
खोलिदेऊ तुरुन्त मेरो हतकडी
मेरो यो चहराइरहेको हृदयको घाउमा
लाउन देऊ मलाई
माडेर वनमाराको झोल…!
– चन्द्र रानोहोंछा
(स्रोत : साहित्य चौतारी )