युगैपिच्छे तिमीलाई प्रेम गर्नै जन्मिएकी म ।
तिमीले खसालेका छायाहरु मन पराउँछु
तिमीले छोडेको स्वास पिउँछु
तिम्रो धोद्रो ध्वनी छोएर
तिम्रा आँखाभित्र डुल्दैडुल्दै अमर गीत गाउँछु ।
तिम्रा आँखीभौँमा उभिएको देख्छु पुरानो सभ्यता
म भिज्दा, तिम्रा छातीका रौँहरुमा घरको छानो देख्छु
तिम्रा दाह्रीजुंगामा म यस्तो जादुको हतियार देख्छु
जस्ले आकासलाई पनि दुइ फ्याक बनाइदिनसक्छ
त्यहि चिराबाट म आफूलाई सिँगो उभ्याएर
ए पुरुष ! तिमीलाई साँच्चै प्रेम गर्छु ।
पैतालाले चेपेर तिम्रा संवेदनाहरु किचिनँ
तिम्रो जिन्दगी टेक्तैटेक्तै हिँडिनँ कहिल्यै
धुवाँ उठाएर तिम्रो बाटो छेकिनँ कतै
तिमी मान्छे हुँदा म इश्वर बनिनँ
तिम्रा देउताहरुसँग पनि, कस्सम बोलेकी छैन ।
तिम्रो हात समाएर नदीको किनारैकिनार
प्रेमगीत गाउदै हिँड्ने तृष्णा अझै बाँकी छ
तिम्रो बलियो सौन्दर्य मेरा परेलामा उनेर
माला बनाउने रहर गुटमुटीरहेकै छ ।
नमार मलाई, यो सृष्टिको भ्रुण म
तिम्रा रगतका थोपैपिच्छे बगेकी छु
तिम्रो शरीरभित्रको हड्डि भएर उभ्याइदिएकी छु तिमीलाई
मेरो निरक्षर शरीरलाई कलम बनाएर तिमीलाई लेखिइरहेकी छु ।
नदीले इन्द्रेणीलाई नुहाएझैँ
तिमीलाई प्रेमले रंगीन नुहाइदिन्छु
अनेकौँ प्रेमावतारको एक अवतारी म
प्रेमको खातिर, सिर्फ एकपटक
मैले जन्मनुछ तिम्रो पुरुष गर्भबाट ।
मलाई माटो बनाउ या ढुंगा
पानी बनाउ या हावा
बोक्सी बनाउ या देवी
म स्त्री अर्थात आइमाइ
सदियौँदेखि तिमीलाई प्रेम गरीरहेकै छु ।
(स्रोत : Pallawa )