~प्रतिमा के सी~
युद्ध र आन्दोलनले गलेको वेला
भूकम्पको व्यथामा ढलिरहंदा
राष्ट्रियता र स्वाभिमानको
संजीवनी पिएर
कतै सवल कतै दुर्बल
वैशाखीहरुको साहारामा
उठ्न खोज्दै छ
तंग्रिन खोज्दै छ देश
दक्षिणबाट बग्ने वेमौसमी हावा
हिमालमा ठोकिइ
पहाड बगेर
तराइ डुवाउंदा
रमितेहरुको अगाडि
कत्ति पनि घुंडा टेक्नु हुंदैन भन्दै
शिर छामेर
पाउ थामेर
उत्रिन खोज्दै छ देश
महामानवको खोजिमा हिंडिरहेछ
दशकौं दशकसम्म लडिरहेछ
फलामे चिउरा चपाउनु,पचाउनु र
कौरव पान्डवको पासा अनि
सीताको अग्निपरीक्षा जस्तै छ समय
हो यही विषम परिस्थितिमा
देश अल्झिएको बेला दशैं आउंदा
मनको क्यानभास रंगहीन छ
रोकिंदै रोकिन्न ऊ आउंछ आउंछ
मीठो खाना,राम्रो नाना,आशीर्वाद र
दान दक्षिणा पुनर्मिलन मात्र हैन
एक थुन्से दुख,दर्द र अभाव वोकेर
मृगतृष्णारुपी सपना देखाउंदै
हुनेहरुको लागी दशैं र
नहुनेहरुको लागी दशा भएर
वल्झिन्छ अल्झिन्छ दशैं
हत्या,हिंसा र वलत्कारी मैसासुरहरु छेदन गरी
दानवको राजबाट मानवको वस्ती वचाउन
दुर्गा माताको पाउ छुने शक्तिका पुजारीहरु हो
नारीको सुरक्षाकवज मात्र नभइ
उस्का भावना, इमान्दारीता र वहादुरीको
सम्मान र साक्षातकार गर्नु गराउनु
एक जिम्मेवारी पनि त हो
कुरीति र कुसंकारका
वनमाराहरु मास्दै मास्दै
हिंसात्मक पशुवलिको सट्टा
काम,क्रोध,लोभ,मोह र अहंकारको
पन्चवलि पर्खिरहेछन
दशैं कोटहरु
छताछुल्ल छरिएका
युगौं दुख्ने भुकम्पका घाउहरु
चहराइरहेका मधेशका आला पीडाहरु
घर आगनमा भित्रिएको दशैं
छुटेका आफन्त र बाल्यकाल
अनि सम्झनाका धुमिल तस्वीर मात्र
यही बाध्यता र विचलित मनको पिंगमा
यो प्रवासी मुटु नतमस्तक छ
रोग र शोकलाई थांती राखेर
मनका रिक्तता र तिक्तताको समावेसी गर्दै
निधारमा टिका कपालमा जमरा उनेर
विजयीको प्रदर्शन गर्नु पर्ने छ
मनका दुस्भावहरुको वलि चढाइ
दुर्गा माताको अगाडी शिर निहुराएर
शक्तिको झोलि थाप्दै
अझै झुक्नुपर्ने छ,दुख्नु पर्ने छ
किन कि
यो वेला
मनको राज्य
देश र दशैंले
कव्जा गरिसकेको छ
प्रतिमा के सी
रुपन्देही
हाल वेलायत
(स्रोत : Nepalpati)