आदि देखि
अनादित्व बोकेर
अनन्त बिद्यमान
अटल अक्षुण सास्वत
बज्र सत्य
मृत्यु
स्वर सप्तकमा तरंगीत हुँदै
प्रत्येक श्वाशप्रश्वाशमा
अजपा मन्त्र झैं
अलापीत भईरहन्छ
शव्दमा भय
बिभत्स कठोर
मृत्यु
चंचल, आल्हादित, स्निग्ध
जीवन सविताका लहरहरुमा
डुब्दै, तैरंदै
लामो यात्रा तय गरेर
बिश्रामको लागि लालायीत
रुग्ण पथिकलाई
बाहु फैलाएर स्वागत गर्छ
उदार काखमा सुताएर
लोरी सुनाउँछ
जिन्दगीले झै दुराग्रह नराखी
समताले समाहित गर्छ
सस्मित मृत्यु
मानिस
सत्यको खोजिमा भौंतारी रहन्छ
तथापी
सत्यसंग सदा डराउँछ
सत्यसंग भाग्दछ
मृत्यु देखि भाग्दछ
प्रतेक पदचापमा
यस्को आव्हान नसुने झैं गरी
लत्याएर, बङ्ग्याएर
पिछलग्गु छायाँ
निस्सानामेट गर्ने
भागिरथ प्रयासरत्
जिजिविषाका खटनबाट
उछार बिहिन जीवनलाई
पारितोषीक दिन्छ
मृत्यु
अतितको अन्त्य गर्दै
रिक्त स्थानमा
मृत्यु
प्रतिस्थापित गर्छ
वर्तमानलाई
ब्रम्हतः
मृत्यु समता हो
मृत्यु ममता हो
मृत्यु एक कविता हो ||
August 31, 2012
(स्रोत : SamaShree’s Blog )