यात्रा संस्मरण : ज्यामरुङको तीतोमीठो

~कञ्चन अर्याल~Kanchan Aryal

स्थानीय विकास मन्त्रालयको एउटा कार्यक्रममा सहभागी हुन गत हप्ता धादिङ जाने अवसर मिल्यो। टोलीमा काठमाडौंबाट राष्ट्रिय समाचार समितिका भीष्म ओझा, सेतोपाटीका प्रकाश ढुंगाना र म थियौं। करिब ११ बजे धादिङ पुग्यौं। ज्यामरुङसम्म पुग्ने योजना थियो। जिल्ला विकास समितिले गाडीको प्रबन्ध गरेको थियो।

गोलाभन्ज्याङसम्म गाडीमा गयौं। बाटो खराब थियो। बाटो यति बिग्रिएको थियो कि कति ठाउँमा जीवनको अन्तिम दिन आजै हो जस्तो लाग्थ्यो। ड्राइभर दाइ निकै अनुभवी रहेछन्। २०४२ सालदेखि गाडी चलाउन थालेका रे। म भन्दा दाइको ड्राइभिङ अनुभव जेठो रैछ, मैले सुनाएँ।दाई खिस्स हाँसे। गफिदै जाँदा थाहा भयो, दाइको घर र मेरो पहाड घर एउटै गाविसमा रैछ। अघिल्लो सिटमा भीष्म दाइ हुनुहुन्थ्यो, ड्राइभर दाइको चाहिनेभन्दा बढी प्रसंसा गर्दै हुनुहुन्थ्यो, बुढा मख्ख। जोसिएर ड्राइभिङ अनुभव सुनाउँदै थिए।

प्रकाशले अर्यालकी छोरी बिहे गरेका रैछन्। म पनि अर्याल हुँदा धादिङसम्म पुग्दा मैले उनलाई ज्वाईं सम्बोधन गर्न भ्याइसकेको थिएँ। भीष्म दाई ड्राइभरलाई उचाल्दै हुनुहुन्थ्यो, अलिक बढी नै भएपछि ज्वार्इं साब मलाई चिमोट्थे। गोलाभन्ज्याङ गएर गाडी रोकियो। गाडी त्योभन्दा माथि जान सक्दैन थियो। पुग्नुपर्ने ज्यामरुङ गाविस भवन थियो। गोलाभन्ज्याङमा गाडीको ब्रेक लाग्यो, नजिकै भट्टी पसल रैछ। दिउँसै तीनपाने लगाएका दुई मित्र ६ हजारको खसी किनेर दारु खाने सल्लाह गर्दै रैछन्, मदिराको तालमा।
गाविस भवन कति टाढा छ? भीष्म दाईले सोध्नुभयो।

‘२० मिनेट’, नसाको सुरमा उताबाट जबाफ आयो। हिँड्ने निर्णय भयो, उकालो लाग्यौं। बाटोमा भेटिने सबैलाई हामी सबैको एउटै प्रश्न हुन्थ्यो, कति समय लाग्ला?सबैको जवाफ २० मिनेट हुन्थ्यो। तर गाविस भवनसम्म पुग्न करिब एक घण्टा लाग्यो।

काम थियो, स्थानीय विकास मन्त्रालयले सञ्चालन गरेको कार्यक्रम अनुगमन गर्ने। गाविस भवन पुग्दा हाम्रो ध्यान अन्तै मोडियो। भूकम्प पीडितलाई गाविस भवनबाट १५ हजार रुपैयाँप्रतिपरिवार बाँडिदै रहेछ। गाविस भरीका अधिकांस स्थानीय गाविस भवनमा जम्मा भएका थिए। १५ हजार थाप्नेको लाइन थियो। हामी पुगेको दिन मात्रै करिब एक करोड रुपैयाँस्थानीयलाई बाँड्ने योजना गाविसको रहेछ।

भर्खर बैंकबाट निकालिएको कटकट गर्ने हजारका नोट लोभलाग्दो थियो। पैसा १५ हजार भए पनि काम चैं एकलाखको भन्दा बढी गर्छन् जस्तो लाग्थ्यो, नयाँकटकटिएको नोट हेर्दा। पैसा नपाउने लाइनमा थिए, पैसा पाउने चाहिँनजिकैको पसलतर्फ लाग्थे। पैसा बुझ्ने अधिकांश नजिकैको पसलतिर गएको देख्दा के रहेछ भन्दै हामी पनि त्यतै लाग्यौं।

बाहिरबाट हेर्दा किराना पसल जस्तो देखिन्थ्यो। तर कुरा त अर्कै रैछ। बाहिर किराना पसल भित्र दारु पसल।

गाविस भवनबाट १५ हजार बुझ्नेहरुको त्यो पसलप्रति किन यति धेरै मोह बल्ल मैले बुझें। भित्र निकै भीड थियो। कोही मुढामा थिए, कोही उठेरै दिइरहेका थिए। सबै मदिराको नसामा लठ्ठ थिए। साहुनीलाई भ्याइनभ्याइ थियो। साउनीको सहयोगी मात्रै ५ जना थिए। बेर्फुसदिली साउनीसँग एकछिन गफ गर्ने प्रयास गरेँ। साउनी रक्सी बाँड्दै थिइन। मैले सोधेको प्रश्नको जबाफ झर्किँदै फर्काउँदै पनि थिइन्।

हिजो मात्र ७५ हजारको रक्सीको व्यापार भयो रे। आज अझै बढी हुन्छ कि?

‘कति रक्सी बेच्नुभयो?’ मेरो प्रश्नको उनले ठाडो जबाफ दिइन् साहुनीले।

सदरमुकामबाट मात्र २५ किलोमिटर टाढा छ, साहुनीको पसल। सबै प्रकारका मदिरा उनको पसलमा उपलब्ध छ। १५ हजार बुझ्ने साहुनीका ग्राहकहरु बोत्तल सिध्याउँदै थिए। उनी गिलास भर्दै थिइन्। एक युवकले यो बियर त जति खाए पनि लाग्दैन? पिसाब फेरेपछि सक्किहाल्छ भन्दै थिए।

‘हिजोसम्म लोकल खान्थिस्, आज बियर खाइस् अनि कसरी लाग्छ त?’, साहुनीले कडा जवाफ फर्काइन्।

‘पैसा भाको बेलामा खानी त हो नि’, केटो पनि के कम?

मनमनै सोचेँ,केटोले रातको पैसा सबै सिलप्याकमा सक्नी भयो।

साहुनीलाई सोधेँ, ‘लोकल रक्सी बिक्री भएन साउनीआज?’

पुरानै शैलीमा जवाफ फर्काइन, ‘एक गिलास पनि छैन, अस्तिसम्म १० ग्यालिनभन्दा बढी लोकल जान्थ्यो, हिजो र आज त सिलप्याक मात्रै गाछ।’

भूकम्पले रक्सी खाने स्तर बढाएछ, एक दुई दिन भए पनि, मनमनै सोचेँ।

मदिरा पिउनेको भीडमा टाठाबाठा जस्तो देखिने एक अधवैंशे पनि थिए। उनी अलि अप्ठ्यारो मान्दै बयर पिउँदै थिए। साहुनीको र मेरो सबाल जबाफ निकै ध्यानपूर्वक सुन्दै थिए। म उनलाई पहिलेदेखि नै ‘नोट’ गरेको थिएँ। सायद, गाउँका मास्टर होलान, म सोच्दै थिएँ।

करिब १० मिनेटपछि उनले ‘साहुनीलाई कति प्रश्न सोध्नुहुन्छ पत्रकार ज्यू?’ भनेपछि म झसङ्ग भएँ।

मैले त मेरो परिचय दिएको थिइन।

‘कसरी चिन्नुभयो?’, मैले सोधेँ।

मेरो अड्कल अनुसार उनी ज्यामरुङकै एउटा स्कुलमा पढाउँदा रहेछन्। धेरै खुलाएनन् बरु मेरो नामसहित मेरो टेलिभिजन कार्यक्रमको नाम भने। सबैको ध्यान मतिर केन्द्रित भयो।

मदिराले लठ्ठ भएका एक वृद्ध जुरुक्क उठेर भने, ‘सरकाले हामीलाई केही दिएन, फलनो, ढिस्कानो संस्थाले यति जस्ता बाँड्यो, उति जस्ता बाँड्यो। तर सरकार एक माना चामल दिँदैन।’

१५ हजार बुझेर रक्सीले मातेका उनको कुरा सुन्दा ‘कुन्नी के गर्नेलाई भन्दा देख्नीलाई लाज’ भन्ने नेपाली उखान याद आयो।

भट्टी पसलबाट फर्किएँ। गाविस सचिसँग केही छिन भलाकुसारी भयो। ‘१५ हजारलाई जनताले के गर्लान सचिव ज्यू?’, प्रश्न गरेँ। करिब ९० प्रतिशतले रक्सीमा सक्छन्, सचिव ज्यू खिस्स हाँसे। रक्सी पिएर राहत पाइन भन्दै उल्टै पिट्न आउने गरेको पनि उनले सुनाए।

भूकम्प आउनुअघि करिब १८ सयघरधुरी थियो रे, ज्यामरुङमा। तर, भूकम्प आएपछि रातारात २ सय घर बढेर २ हजार पुग्यो, सचिव गुनासो गर्दै थिए।

करिब दुई घण्टाको बसाईपछि हामी फेरि गोलाभन्ज्याङतर्फ फर्कियौं। स्थानीय निकायको काम पनि गर्नुपर्ने थियो। बाटोमा फर्किंदा भीष्म दाइ, प्रकाशर म रक्सी र १५ हजारको विषयमा तर्कवितर्क गर्दै आयौं।

मोटामोटी हिसाब गर्दा करिब ३ करोड रुपैयाँज्यामरुङ गाविसमा बाँडिदो रहेछ। तीन करोड रुपैयाँलगानी गरेको भए गोलढुंगासम्म पुग्ने बाटो राम्रो हुन्थ्यो होला वा ज्यामरुङ नमुना गाविस बन्थ्यो होला, मनमनै सोचेँ।

गोलाभन्ज्याङ फर्किने क्रममा १५ हजारबाट दारु खाँदै गरेका दाइ भेटिए। लर्बराउँदै उनले भने, ‘सर जान लाग्नुभयो, काठमाडौ गएर सरकारलाई भन्दिनुस है, ज्यामरुङमा सरकारले एक गेडो पनि चामल बेचेको छैन।’

उनले सकिनसकि हात मिलाए। हामीले टाउको हल्लायौं।

(स्रोत : Pahilopost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.