अहिलेसम्म सजाएको छैन मलाई कुनै पनि फ्रेमले
नसजाए पनि म पटक–पटक उभ्याइन्छु फ्रेमको नजिकमा
जवान भएपछि मिल्काउँछ बच्चा छँदा आफ्नो घाँटीमा बेरेको जन्तर हिजोको कलिलो केटोले
बाघ मरेपछि मर्छ जङगलमा तैयार भएको जन्तर पनि
डालोमा बोकेर नयाँ बाली लगाउन आफू लताफूल बीज निस्कन्छ जब फ्रेमबाट सूर्य
लगाउनेले लगाउँछन मेरो निधारमा फ्रेमभित्र रहनेहरूले लगाएको टीको
त्यो टीको खामभित्र रहेको चिठीमा
सरोकारवालाले बाहेक अरूले खोल्लान भनेर
लाहा पगालेर खाममा लगाएको लाहाछाप जस्तै हुन्छ त्यसले पर्न थाल्छ स्वतन्त्रतामा स्याउँ स्याउँती
किर्ना र बतास पर्छ कुनै कारामा कुनै प्रदेशको भएर
चाहन्छन† धेरै राजाहरू राजकाजमा मनग्गे बूढो हुन
घचाडछन् तिनीहरूले राजकाज सुम्पिने कलालाई सकेसम्म पर
चल्छ तिनको राजाज्ञा जोडले चल्ने आँधीभन्दा दोब्बर मापनमा
आएरै छोड्ने मृत्युलाई हेर्दै च्याप्दैनन् केही मानिसहरूले कमार्तन
र चोप्दैनन् प्वाँखे कलमलाई मसीमा प्रशस्तिका लागि
मुकुट तुरून्त लगाउँने लालसा लिएर निद्रामा बग्ने गरेको युवराजको
-याँल जस्तै बग्न थाल्छ जताततै परिणामको खोला
नाच्छ आङमा र गोडामा केही मानिसका लागि रबरका पाइपहरु
त्यो हुन्न ब्याले हेर्दा उभिएको कार्निबल जस्तो
मेक्सलिनको इन्जेक्सन भएर चढ्छ यातना नसा–नसामा
आधा झरेको दाँतमा अड्केको पुष्टकारी भएर
यातना हरपल टाँस्सिन्छ च्यापुका कुना–कुनामा ।
अहिलेसम्म छालहरूभन्दा माथि उठ्न सकेको छैन
कोही कसैसँग पनि शव्दकोशमा रहेको मित्रता नामक शव्द ती कहिल्यै बनेनन्
जलजला जस्ता
वा ढक्कीमा रहेका गोदाबरी फूल जस्ता
खोजेर चट्टानरूपी मित्रता झण्डै–झण्डै
त्रिशूल बोकेको मूर्तिको अगाडि देखाउनै नहुने केतुकी भएको छु ।
-यालको व्यायामशालामा हुन्छ पसिनाको अर्थ परिवर्तन
झिँगाको अखडामा खोज्दा मानिसकै आँखा
पट्के हुन पुग्छ सास्ती र पीडाको पुनर्जन्म भइरहन्छ
अहिलेसम्म आइपुगेको छैन फ्याँकिने जन्तरको निम्ति घाम
जसले फ्याँक्यो उसको घाँटीको निम्ति भने
घाम दयालु छ कुनै पौराणिक पात्र जस्तो ।
खतरनाक मोडमा उभिएको समयमा धेरैले बटुल्छन्
कपडाका टुक्रा र धुपको धूँवा पस्किंदै जन्तर बनाएर लगाउँछन्
देखिन्छ जब शासकीय आँगनमा आफ†नो छायाँ घुम्ने गरेको
फाल्छन† जन्तरलाई आफ्नो घाँटीबाट
यो अहिलेसम्म लागेको घाममा सुक्दै नसुकेको परम्परा हो ।
(स्रोत : मधुपर्क २०७० असोज)