कथा : घर,डेरा र छोरो

~श्रीधर पौडेल~Shridhar Paudel

‘बाबा, नाई ! हाम्मै घल दाउँ !’ छारोको ढिपी बढ्दो छ । के के गरेर फकायो ! पाँच सात मिनेट पछि फेरी कोकोहोलो मच्चाउँछ, ‘नाई ! यो घल हाम्मो हैन, हामी हाम्मै घल दाउँ ।’ म कसरी सम्झाउँ उसलाई, त्यो घरमा पनि हामी भाडामै बसेका थियौँ भनेर ! म उसलाई बुझाउन पनि खोज्छु, बुझाउन पनि सक्दिन !
………………
जन्मेको भोलिपल्टको सानो चिचिलोेलाई अस्पतालबाट निकालेपछि भित्र्याएको त्यहि घर हो । त्यहि घरमा उसले आफ्नो नाम पायो । त्यहि घरको छतबाट उसले आकाश देख्यो । त्यहि घरको छतमा उसले हावाको झोक्का महशुस गर्‍यो । मेरो छोरोको तोते बोली र ताते हिँडाई त्यहि घरमा शुरु भयो ।

त्यहि घरको छतबाट उसले पल्लो घरका दावँलीलाई साथी बनायो । उसले पहिलो पटक अक्षर चिनेको घर पनि त्यहि हो । म कतै जाँदा त्यहि घरको छतबाट उसले सँयौँ पल्ट वाई ! गर्‍यो । म फर्कदाँ त्यहि घरको छतबाट उ थोते गिजाँ देखाउँदै सयौँ पल्ट मुस्कायो । अहिले त्यो थोते गिजाँमा टमक्क दाँत भरिएको छ । तर उसको मन रित्तो रित्तो ! र, त उ कर गरिरहेको छ ‘बाबा, नाई ! हाम्मै घल दाउँ !’
……………
बसोवासका हिसावमा अहिले सम्म ११ वटा घर भोगिसकेको रै छु । बसाई सराई र विविध कारणले वुवाले अहिले सम्म ८ वटा घर बनाईसक्नु भो । ती मध्ये ४ घरमा मेरो पनि बास भो । आफ्नै बलबुताले

गरीखान घरबाट निस्केको झण्डै डेढ दशकमा मेरो बास डेरावालका रुपमा थप ७ ठाउँमा भए । हेटौँडा, काठमाण्डु हुँदै ललितपुर सम्म बदलिएको बासमा यस अघि डेरा बदल्दा कहिल्यै आई नपरेको समस्याले यस पटक भने मनै कुँड्याएको छ । अनी म सम्झदैँ छु घर सँग जोडिएका मेरा स्मृति : जन्मेर ९ बर्षसम्म हुर्केको घर, तराई तिर बसाई सरे पछि बाले बेच्दिनु भो । त्यो घरको फोटो सम्म खिच्ने मन थियो, अहिले त किन्नेले भत्काई सकेछ !

बसाई सरेपछि शुरु भएको घरको छाना हावाले उडाईदिएर आकाशको तारा हेर्दै रात विताईयो ! घर उडाउँदा बा सँगै हुनुहुन्थेन, बा भैदिएको भए उडाउँथेन की ! उतिखेर मन भक्कानिन्थ्यो । पढ्नका लागि सदरमुकाम बस्दा ताका पुरानो घरको छत चुहिएर रातभरी रातभरी बाल्टि पनि थापियो ! भोगाई भिन्ना भिन्नै भए पनि ति घरसँग जोडिएका मेरा स्मृतिका सूचि निकै छोटो पो रैछ !
………..
डेरा बदलेको दिन छोरोले ज्वरै निकाल्यो । यसो झकाउँछ, तर सासले पनि ‘बाबा, नाई ! हाम्मै घल दाउँ !’ भन्छ । छोरोले पुरानै घरलाई आफ्नो दावी गरिरहँदा म निरुत्तर छु, मौन छु, अनी भित्र भित्रै बाफिदैँ छु ।

भाडाको बसाई कहिले आफूँलाई चित्त बुझ्दैन, कहिले साहुजीलाई ! अनी बदल्नुको विकल्प पनि त छैन ! म कसरी बुझाउँ की हामी बस्ने घर हाम्रो हैन । यो पनि कति दिनको हो ठेगान छैन । अहिलेको चिन्ता यो घरमा कति बस्ने भन्ने भन्दा पनि, छारोलाई कसरी भिजाउने भन्ने मै केन्द्रित छ ।
…………….
भोली पल्ट विहानै बुढा बुढी मिलेर छोरोलाई पुरानो डेरा पुर्‍यायौँ । पुरानो डेरा तिर छिर्ने बाटोमा पुग्ना साथ उ खुसीले उफ्रिन पो थाल्यो ! रातभरीको ज्वरो कता हरायो कता ! ऊ उत्पात खुसी भयो । भाडामा बस्नेका कुरा घर हुनेहरुलाई के हेक्का ! बच्चाको कारण ‘डिस्टर्भ फिल’ गरेका घरबेटि त्यहिँ थिए ।

छोरो विरामी नभएको भए म एका विहानै त्यसको धुन्धुकारी मुख हेर्न किन जान्थेँ र ! तै पनि औपचारिकता निभाईयो । छुटेको गमला लिन गएको बहाना बनाईयो । चौविस घण्टा पछि छोरो खुसी भएको देख्दा आफू पनि खुसी भईयो । सँसार सन्तानकै लागि त रैछ !

तर यहि सँसारमा कति सन्तान आमा वाऊका लागि हुँदैनन्, त कति आमा वाऊ सन्तानका लागि । यस्ता थुर्पै घटना देखेको- भोगेको पनि त छु ! यस्तैलाई त भन्ने होला सँसारको रीत ! चाहे जे भए पनि छोरो खुसी भएपछि म त्यसै चँगा । यो खुसी नयाँ डेरा सम्म कसरी पु¥याउने ? सबै भन्दा ठूलो चुनौति अघिल्तिर थियो ।

अकस्मात कोठाको भित्तामा लागेका दागमा मेरा आँखा ठोक्किए ।आफूले पहिलो पाईला चालेको त्यहि छतमा उर्फन पाउँदा दँग परेको छोरोलाई च्याप्प समातेर देखाएँ – ‘वावु हेर त ! छि : कस्तो फोहर है यो घर ?’ खुसीको सुरमा छोरोले मलाई सहि थाप्यो – ‘थि  कत्तो फोअल है वावा यो घल !’ उसको समर्थनको यो बाक्यसँगै फर्कियौँ हामी नयाँ डेरा तिर ।
………..
सबै सम्भावना र अवसर राजधानि केन्द्रित ! आफ्नो पेशासँग जोडिएको यहि बाध्यताले मलाई यो खाल्डोमा धकेल्यो ।

राजधानीले  मेरो क्षमता बढायो, जीवन बाँच्ने हिम्मत दियो, समग्रमा राजधानीले मेरो संसार सृजनामा सघायो । यहि राजधानीमा अभावका निकै लामा सूचि पनि भोगेको छु । शुद्ध खान्कि मुखमा नपरेको दशकै विते पनि संघर्ष र जीवनको बोध गराएको यही राजधानी बसाईले हो ।

यो मृत शहरको धिपधिपे जीवनमा आईपरेका संकट छिचोल्न सक्ने भरोसा पनि यँहीबाट बटुलेको छु । आँखै अघिल्तिर आएका काला संकट एक्लै निखन्न सक्ने पनि बनायो यो राजधानीले ! अनी लौ सकियो जीवन भन्ने टुङ्गोमा पुग्दा चार हात खुट्टा टेकेर थिग्रीने आँट पनि यहि राजधानीले दिएको हो मलाई ।

राजधानीले मलाई जीवनको तत्व ज्ञान पनि सिकाएको छ । घर हुनु र नहुनुबाटै मान्छेको मापन गर्ने मान्छे पनि हुँदा रैछन् भन्ने बोध राजधानी बसाईले नै गराएको हो मलाई । आफ्नै घरमा बास बसेकाहरुले डेरामा बस्नेहरुलाई गर्ने ब्यवहार र यसैबाट हैसियत मापनको आधार बन्दो रैछ भन्ने पनि मैलै राजधानीमै आएर बुझेँ ।

मेरा धेरै आफन्त र साथी भाईले उनीहरुको नजरमा म राजधानीको सुख सयलमा बसेको मात्रै देखेका छन्, डेरा जीवन भोगेका छैनन् । उनीहरुलाई शायदै थाह छ राजधानीमा मान्छे मान्छे विच विभेद छ – घर भएकाहरु र डेरावाल !
……
पुरानो र नयाँ डेराको विचमा पर्ने बाटो भरी मनमा यस्तै कुरा खेलिरहे । साथमा चिन्ता पनि उत्तिकै थियो – नयाँ डेरा पुगेपछि छोरोले फेरी ‘बाबा, नाई ! हाम्मै घल दाउँ !’ भन्यो भने ? एउटा उपाय त अजमाई सकेको छु नी, फेरी पनि भित्तामा लागेको त्यहि दाग सम्झाएर भन्छु – ‘बाबु छि : कस्तो फोहर है त्यो घर !’ दिन वित्यो – छोरो खुसी छ, राती पनि राम्रै सँग सुत्यो, विहान पनि छोरो खुसी छ ! अव छोरोले पुरानो डेरा विस्र्यो – म आश्वस्त भएँ । अनी के भन्दो रैछ भन्दै एक पटक सोध्ने आँट गरेँ – ‘वावु हाम्रो घर कुन हो ?’ छोरोले मेरो चिन्ता बुझ्यो शायद, भन्यो – ‘थि : कत्तो फोअल है वावा त्यो घल ? हाम्मो घल यहि हो !’

प्रकाशित मिति: शनिबार, आश्विन ९, २०७२ ०७:०३:२१

(स्रोत : Setopati )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.