एउटा यस्तो प्रेम गर, मरेर पनि बाँचिरहू
मानवताको लागि भनी अमृत केही साँचिरहू
समय बग्छ नदीझैं अज्ञात-अनन्त सागर छुन
तिमी अरूका सम्झनाभरि आस्था बनेर नाचिरहू ।
०००
प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख
प्रेमभन्दा मूल्यवान केही अरू हुँदैन ठानिराख
सभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाए
प्रेमको इतिहास चोखो लेखिनु पर्छ मानिराख ।
०००
प्रेम कस्तो हुन्छ, एउटा नमर्ने गीतझैं
दिनरात साथ नछोड्ने मनको प्रिय मीतझैं
हृदयको धड्कनलाई सोधे बुझिन्छ प्रेम
हारेर पनि जितिने एउटा महान जितझैं ।
०००
प्रेम गरेर केही भागूँ, म भिखारी बन्न चाहन्नँ
सत्य भन्छु, म जीवनलाई यति तुच्छ भन्न चाहन्नँ
समर्पणको जीवनमा समर्पण नै गर्न देऊ है
विश्वासलाई चोट पारी आफ्नै दिल खन्न चाहन्न ।
०००
प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन
ठूलोसानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन
ए ! नसाले बेहोस बनी प्रेमको कुरा गर्नेहरू !
म सत्य भन्छु, प्रेममा प्रभात हुन्छ कहिल्यै रात हुँदैन ।
०००
प्रेम पवित्र हुन्छ, हिमाली मूलको पानीझैं
चरित्रले बेदाग मानौं सुनकेशरी रानीझैं
शब्दकोशबाट बुझिन्न, आफैंबाट बुझी हेर
प्रेम तिमीलाई लाग्नेछ, हृदयको अक्षय खानीझैं ।
०००
प्रेम अनायास हुन्छ, गर्छु भनेर गर्न सकिन्न
मनभित्र विशाल सागर भर्छु भनेर भर्न सकिन्न
ए ! नक्कली प्रेमको कुरा गरी आफैंलाई भुलाउनेहरू
बिना आस्था कसैका लागि मर्छु भनेर मर्न सकिन्न ।
०००
कसैलाई माया गरी म धर्तीलाई माया गरिरहन्छु
तनभरि र मनभरि म विश्वासहरू भरिरहन्छु
चाहे प्रेमी भन वा पागल भन, मेरो केही भन्नु छैन
म हर्दम प्रेमपत्र सम्झी सिर्जनाहरू छरिरहन्छु
०००
प्रेम तपस्या हो स्व: परीक्षामा बस्नुपर्छ
कमजोरीहरू आए भने हृदय जम्मै कस्नुपर्छ
घृणाको यो दुनियाँमा प्रेम गर्छु भनी ठान्छौ भने
अरूका लागि हाँसीहाँसी नर्कमा पनि पस्नुपर्छ ।
०००
प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन्
ढुंगामाटो कणकणमा आत्मा बनी रहिरहन्छन्
चाहे दुनियाँले मानोस् वा मान्न इन्कार गरोस्
प्रेमीहरू नबोलिकन चरित्रले केही कहिरन्छन् ।
०००
यस्तो दिन आओस् यहाँ, मायैमायाको वास होस्
रिस, द्वेष, घृणाहरू सबै सबैको नाश होस्
मानवताको अंश भई म यस्तो सपना देखिरहेछु
मेरो सुन्दर धर्ती भोलि स्वर्गभन्दा पनि खास होस् ।
०००
मान्छेहरू मनभित्र प्रेमको खोला बगाई हेर
हृदयको चेतनाले आफैंलाई जगाई हेर
युगयुग सभ्यताका रातहरू कति आए
चुकजस्तो अन्धकारलाई अब पूरै भगाई हेर ।
०००
जब मनमा प्रेम हुन्छ प्रेमभन्दा ठूलो केही लाग्दैन
हरेक क्षण प्रेम गरिरहूँ भावना अरु केही जाग्दैन
घामछायाँ जिन्दगीका मूल्यहरू धेरै होलान्
साँचो भन्छु, प्रेमले यहाँ मूल्य भन्नु केही माग्दैन ।
०००
जब मनमा प्रेम आउँछ, विषालु कुनै वाण दाग्दैन
बसेपछि मनमा त्यसले सौम्यताको सीमा नाघ्दैन
जिन्दगीको प्रत्येक मोड ढुकढुकीहरूले भन्छन् यहाँ
प्रेम यस्तो बहार हो जुन आई फेरि कतै भाग्दैन ।
०००
प्रेम हुन्छ कसरी यहाँ ? प्रेमी मनले बोल्न सक्दैन
ढुकढुकीको भाखा मीठो, प्रेमी मनले खोल्न सक्दैन
हृदयको कुरालाई हृदयमै राख्नु जाती
प्रेम गरी जहर यहाँ, प्रेमी मनले घोल्न सक्दैन ।
०००
जब प्रेम हुन्छ मनमा, काँढाहरू पनि फुल्न थाल्छन्
मनमा बन्द आकाशहरू एकएक गरी खुल्न थाल्छन्
मान्छेको यो दुनियाँका रंगहरू धेरै होलान्
प्रेम गरे जिन्दगीका रंगहरू सबै खुल्न थाल्छन् ।
०००
बुझ्नु मान्छे राम्रो गरी हृदयमा प्रेमको राज छ
मधुर धुन बजिराख्ने एउटा यस्तो साज छ
जिन्दगीको मूल्य खोज्दै बाहिर किन भौंतारिनु
प्रेम भए आफैंभित्र दिव्य-अमोल ताज छ ।
०००
प्रेम नसा होइन प्रत्येक क्षण पिइरहन्छु
मनमा लागे हजार चोट प्रत्येक क्षण सिइरहन्छु
जिन्दगीको तपस्यामा दिव्य वर पाएपछि
मृत्युञ्जयी भई म प्रत्येक क्षण जिइरहन्छु ।
०००
साँचो प्रेम गर मातहरू सबै हटेर जान्छन्
जस्तो सखारपछि अँधेरी सबै कटेर जान्छन्
म सत्य भन्छु प्रेम यति पवित्र हुन्छ कि
यसको साथ पाए पापहरू आफैं घटेर जान्छन् ।
०००
भन्नेहरू भनिदिन्छन् प्रेम भावनाको भेल मात्रै
अनायासै बाँधिदिने हडतकडी र नेल मात्रै
साँचो प्रेम गर्नेहरू कहिले पनि मान्दैनन् यो
प्रेम भन्नु भोग्नुपर्ने अभिशापको जेल मात्रै ।
०००
घृणाले पागल हुनुभन्दा प्रेमले पागल हुनु जाती
हरेक क्षण ढुकढुकीमा प्रेमको दु:ख छुनु जाती
दु:खहरू छन् दुनियाँमा, बुद्धहरू यसै भन्छन्
बिर्सेर प्रेमले आफैंलाई अरुका लागि रुनु जाती ।
०००
प्रेम पवित्र पागलपन हो, म सद्देहरूलाई भन्दै हिँड्छु
तिनका नजरमा सायद कसिंगरजस्तो बन्दै हिँड्छु
समय साक्षी छ, प्रेमको नाममा बदनामीहरू कति हुन्छन्
तर मनले नहारी धर्तीमा असङ्ख्य आशा गन्दै हिँड्छु ।
०००
अर्ती-उपदेशहरू सुनेर मनमा प्रेम पलाउँदैन
समय आउँछ, समय जान्छ, कसैलाई छलाउँदैन
प्रेमपथमा लाग्ने भए समर्पणको बाटो चुन
हृदयलाई पत्थर पारे कुनै बाली फलाउँदैन ।
०००
जब प्रेम हुन्छ, मनको मनसित साइनो जोडिन्छ
जीउमा भए बन्धन कतै, एकएक गरी छोडिन्छ
ए ! रूपका बजारमा आफैंलाई बेची हिँड्नेहरू !
प्रेममा संक्रान्ति भई जीवनको बाटो मोडिन्छ ।
०००
प्रेम तनले तनलाई होइन मनले मनलाई गर्नुपर्छ
एकअर्काका अस्तित्वमा अस्तित्व पूरै भर्नुपर्छ
धर्तीमा जन्मेका महान् प्रेम-पथिकहरूलाई सोधी हेर
अदम्य भावमा लिई प्रेममा बाधाहरू सबै हर्नुपर्छ ।
०००
शरीर नासिन्छ तर प्रेम कहिले पनि नासिन्न
समयको भासमा परी प्रेम कहिले पनि भासिन्न
मान्छेहरू बुझिहेर जीवन क्षणिक भए पनि
अजम्बरी हुन्छ प्रेम कहिले पनि मासिन्न ।
०००
प्रेम कतै गहिरिन्छ, प्रेम कतै अग्लिन्छ
प्रेम कतै हिउँपानीको खोलीझैं सग्लिन्छ
उत्सर्ग र बलिदानको भाषामा भन्दा प्रेम
अरूलाई उज्यालो दिई आफू मोमबत्तीझैं पग्लिन्छ ।
०००
प्रेम प्रेम हो, यौनको अर्काे पाटो होइन
कुण्ठा, भडाँस अनि विकृतिको साटो होइन
कठमुल्लाहरू प्रेमको विरोधमा जे बोलून्
प्रेम सिर्जना हो, विध्वंसको कुनै बाटो होइन ।
०००
होसियार, प्रेमको नाममा ठगीहरू कति चल्दो छ
दुष्ट-कुटिल मनभित्र षड्यन्त्रहरू कति बल्दो छ
कहिलेकाहीँ पवित्र प्रेममा चोटपटक लाग्यो भने
नसम्झनु घोर निराशामा, प्रेमको युग यहाँ ढल्दो छ ।
०००
माया गर्नुभन्दा धेरै मान्छेहरू मायाको बात मारिरहन्छन्
ठूलाठूला पर्खाल ठड्याएर मान्छेहरू मायालाई बारिरहन्छन्
मानवताको इतिहासको यो सबैभन्दा ठूलो
दुर्भाग्य हो कि
हृदयले निर्धन भई मान्छेहरू, आफंैसित हारिरहन्छन् ।
०००
प्रेम पूजा हो, आराधना हो, प्रेमभन्दा ठूलो प्राप्ति छैन
महानता र विशालतामा प्रेमभन्दा ठूलो व्याप्ति छैन
नश्वरताका नियमहरू दुनियाँमा धेरै होलान् तर
प्रेम यस्तो सत्व हो, जसको जन्म छ कुनै समाप्ति छैन ।
०००
प्रकाशित: फाल्गुन १, २०७१
(स्रोत : Kantipur – Saptahik)