संस्मरण : किन्न पनि गाह्रो छ, एउटैलाई पाँच रुपैयाँ पर्छ

~सङ्गीतस्रोता~Sangeet Srota

जीवन सधैं सोझो-सोझो बाटो नहिँड्दो रहेछ । कहिले यताको खाल्डो, कहिले उताको पहरो । त्यसै-त्यसै क्षणिक भएर जाँदारहेछन् सुखद् अनुभूतिहरू ! मन दुखाउने चोटहरू भने घरीघरी बल्झन्छन् । ठाडा-घुमाउरा उकालामा पनि कठिन-कठिन गौंडाहरू जोडिन आउँछन् । कहिलेकाहीँ यस्तो हुन्छ, जीवन जति-जति संघर्षपूर्ण हुँदै जान्छ, खुसी खोस्ने आँधीले हृदय त्यति-त्यति बिथोल्दै जान्छ । तैपनि, दुई-चार घुम्तीमा सुस्ताउँदैन साहित्यकार घनश्याम ढकालको ज्यान । न कुनै लोभ, लाभ वा स्वार्थले नै डोर्‍याउँने आँट गर्छ उनको ध्यान । असजिला अक्करहरूमा पनि अनवरत जागिरहने आस्था बोकेर उनी निस्केका हुन् जीवन-यात्रामा । तर, प्रगतिशील साहित्यकार ढकालको जीवनका दोबाटा-चौबाटामा ‘विछोड’ हात मिलाउन आइरह्यो । हुन त, उनले व्यक्तिगत जीवनका दुःख मात्रै होइन, वर्गीय दुःखका हाँगाबिँगा पनि छिमल्ने कसम खाएका छन् । र, त्यो कसम अहिलेसम्म तोडेका पनि छैनन् । तर, संयोगले हो या परिस्थितिले, बा-आमाको प्यार पनि उनीबाट खोसेर लग्यो, सन्तानमाथि देखेको सपनामा पनि आघात पुर्‍यायो । फरक यत्ति हो, स्मृतिले बारम्बार विचलित बनाउन खोज्दा पनि उनी सम्हालिएकै छन् । परिस्थितिका पहाडले थिचिरहे पनि जनताको ‘मुक्ति-संघर्ष’को सांस्कृतिक नेतृत्व गर्न उनी तम्तयार नै छन् ।

दुईबीसे सोह्र हिउँदअघिको एक हिउँद । स्याङ्जा पुतलीबजारमा सायद माघमासे चिसो स्याँठ चलिरहेको हुँदो हो । हिउँदे खेतीका लागि बाँझो बारी खनजोत गर्ने वेलामा एउटा गरिब किसान परिवारमा उनी च्याँच्याँ गर्दै आएका थिए । त्यो सालको शिशिर ऋतुले घनश्याम ढकालको जीवनलाई संघर्षको मैदानमा छाडेर गयो । यी बालखालाई ताते सिकाउने र तोते बोलाउने बाले त्यतिवेलै संसार छाडे, जतिवेला उनी सात वर्ष पनि नाघिसकेका थिएनन् । ‘टुहरै भएर हुर्केँ म,’ बालाई सम्झँदै उनले भने । तर, छोरालाई टुहुरो पारेर जानुअघि नै बाले उनलाई क ख सिकाएका थिए । क ख सिकाउने बा प्रभाकरको सपना कस्तो थियो ? घनश्यामलाई कसैले भनेन, न उनी त्यस्तो सोध्न सक्ने उमेरका थिए । छोराको हात समातेर क ख पढाउने बाको धोको पक्कै पनि ‘धेरै पढाउने र ठूलो बनाउने’ थियो होला । यही निष्कर्ष निकालेर घनश्याम ‘दायाँबायाँ’ नगरी पढ्न थाले ।

‘सपना त के थियो कुन्नि,’ आमाको इच्छा सम्झँदै उनले भने, ‘तर, आमाले पढ्नुपर्छ भनेर बारम्बार प्रोत्साहन गर्नुहुन्थ्यो । मेरी आमालाई छोराले धेरै पढोस् भन्ने चाहना थियो ।’ विडम्बनाको कुरा त्यही भयो, घनश्यामले मिहिनेत गरेर पढेको र नाम चलेको क्याम्पसमा प्राध्यापन गरेको थाहा नपाउँदै आमा कौशल्याले पनि उनलाई छाडेर गइन् । ‘आमा बित्नुहुँदा म १९ वर्षको मात्रै थिएँ,’ अहिलेको पाको अनुहार मलीन बनाउँदै उनले आमालाई श्रद्धापूर्वक सम्झे ।

पुस्तक हुँदै प्रलेस
बा-आमा बाँचिराखेका भए छोराले पढेको र प्रगति गरेको देख्थे, खुसीले दुःखी मुहार पक्कै उज्यालो पार्थे । तीन छोरीपछिको यो एक्लो छोरो साहित्यकार बनेको, सांस्कृतिक आन्दोलनको नेतृत्वमा पुगेको र सबैले चिनेजानेको एउटा असल मान्छे बनेको थाहा पाएर सायद गमक्क पर्थे । तर, ती सुखद् दिनले घनश्यामलाई निठुरी पारामा उहिल्यै छाडेर गए । त्यसपछि घनश्याम नयाँ समयको हात समातेर पुरानो दुःख बिर्संदै आए । आउँदै गर्दा उनले ‘अत्यन्तै मिहिनेत’ गरेर तथ्यांक शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन सकाए । त्यसपछि पृथ्वीनारायण क्याम्पस, पोखरामा प्राध्यापन गरे, २२ वर्षसम्म । ‘पढ्ने वेला अरूतिर कमै ध्यान गयो,’ उनले भने, ‘छनलाई म ०३० सालतिरै अनेरास्ववियुको सदस्य थिएँ, कम्युनिस्ट पार्टीको सदस्यता पनि ०३६ सालमा लिएको हुँ । तर, पढाइ नसकुन्जेल म संगठनमा भन्दा पढाइमा नै सक्रिय भएँ । मलाई त्यतिवेला ‘मेरो पहिलो काम पढ्नु हो’ भन्ने नै लाग्थ्यो ।’ बाल्यकालदेखि नै कविता लेख्न थालेका भए पनि उनी अध्ययनको वेला साहित्यमा पनि उति साह्रो सक्रिय भएनन् । माक्र्सवादी चिन्तनसँग सम्बन्धित पुस्तक भने आइएस्सी पढ्ने वेलामै फेला पारिसकेका थिए घनश्यामले । त्यस्ता पुस्तक पढ्नुअघि उनी नेपाली कांग्रेसका समर्थक थिए । नौ कक्षामा पढ्दा-पढ्दै शिक्षकहरू दीनबन्धु अर्याल र शेषकान्त अर्यालको प्रभाव र प्रशिक्षणमा उनी स्याङ्जा जिल्लाको तरुण दलमा सक्रिय भइसकेका थिए । अहिले निख्खर कम्युनिस्ट विचारधारामा आस्था राख्ने यी लेखक क्याम्पसमा पनि सुरुमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघको सदस्य थिए ।

ऊ वेलाका कांग्रेस घनश्यामलाई कम्युनिस्ट बनाएको ‘माक्र्सवादी चिन्तन’का पुस्तकहरूले हो । जब उनले त्यस्ता पुस्तक फेला पारे, अनि आफूले अँगालेको कांग्रेसी विचारसँग तुलना गरेर अध्ययन गर्न थाले । ‘म त्यसपछि नै कम्युनिस्ट विचारप्रति आकषिर्त हुन थालेँ,’ अलि जोड दिँदै उनले भने, ‘तर, मूलतः मलाई मेरो जीवनको यथार्थले नै वामपन्थी राजनीति र प्रगतिशील साहित्यमा लाग्न अभिप्रेरित गर्‍यो ।’ नत्र उनी स्याङ्जाको मातृभूमि माध्यमिक विद्यालयको पुस्तकालयमा प्राप्त कथा, उपन्यास पढेको आधारमा मात्रै प्रगतिवादी आन्दोलनमा कहाँ आउँथे होला र ? बालादिनका पाना पल्टाउँदै उनले भने, ‘गाउँमा पढालेखा मान्छे कोही थिएन, मैले स्याङ्जा, पर्वत र पोखराका विभिन्न स्कुल चहारेँ र एसएलसीचाहिँ मातृभूमि स्कुलबाटै उत्तीर्ण गरेँ ।’ घनश्यामले पहिलोपल्ट पढेका किताब ‘रामायण’ र ‘महाभारत’ थिए । अहिले आख्यान-लेखनमा बढी जमेका भए पनि उनले पहिलोपटक नौ कक्षा पढ्दा-पढ्दै कवितै लेखेका थिए । तर, अहिले समालोचना र माक्र्सवादी सौन्दर्यशास्त्रमा पनि उनले आफ्नो खुबीको पुष्टि गरिसकेका छन् ।

साहित्य-सिर्जनामा उनको लगाव विद्यार्थीकालपछिको अवधिमा बढेको हो । भर्खरै उनको पाँचौं कथासंग्रह प्रकाशित भयो, ‘सहिदको सालिक’ । लगत्तै उनले अर्को लघु कथासंग्रह प्रकाशनको तयारी गर्दै छन् । छिट्टै तयार पार्ने सोचसहित नयाँ उपन्यास पनि लेख्न सुरु गरिसकेका छन्, जुन उनको तेस्रो उपन्यास हुनेछ । उनलाई लागेको छ, सौन्दर्यशास्त्रसम्बन्धी दोस्रो पुस्तक पनि तयार पार्नुछ । यसअघि नै उनका कथा, कविता, निबन्ध, उपन्यास, समालोचना गरी एक दर्जनभन्दा बेसी मौलिक कृतिहरू ‘बजार’मा आइसकेका छन् । चार वर्षअघि ‘यथार्थवादी नेपाली समालोचना’ नामक बृहद् समालोचना ग्रन्थको सम्पादन गरेका उनले अघिल्लो वर्ष ‘पोखरेली समालोचना’ को पनि सम्पादन गरेका थिए । आफ्नो निरन्तर सक्रियतालाई संकेत गर्दै उनले भने, ‘सिर्जनासम्बन्धी मेरा अरू योजनाहरू पनि छन्, तर सबैभन्दा पहिले एउटा समालोचना ग्रन्थमाथि काम गरिरहेको छु, त्यसमा जनयुद्धकालीन सेरोफेरोका रचनाहरूको समालोचना समावेश गरिनेछन् ।’

प्रगतिवादी साहित्यमा उनको मुख्य परिचय आख्यानकारकै हो । त्यो आख्यान लेखनलाई उनले ‘मुक्तिआन्दोलनकै अभिन्न अंग’का रूपमा लिन्छन् । आख्यानमा पनि उनी जनजीवनका दुःखसुख र संघर्षका तिनै पाटाहरूको अभिलेखीकरण गर्छन् । आइतबार बिहान कीर्तिपुरको डेरामा भेटिँदा घनश्याम खाटमाथि बसेर कागजमा खत्राकखुत्रुक लेखिरहेकै थिए । त्यो एकाबिहानैको लेखन सायद उनको सक्रिय-जीवनको छनक थियो (हुन त, लेखन-सिर्जनसम्बन्धी उनको यो सक्रियता अहिलेको मात्रै होइन) । घनश्यामको परिवार, छरछिमेक, नातागोतामा कोही पनि साहित्यकार थिएन । गाउँकै स्कुलको पुस्तकालयमा पाइएका साहित्यिक पुस्तक पढेर उनी यो बाटोतिर सोझिए । र, जीवनका कठिन-कठिन घडीमा पनि उनले साहित्य-सिर्जनामा ठेस पुग्न दिएनन् । ‘कठोर परिश्रम’ गर्दै क्याम्पस पढ्ने वेलादेखि जनयुद्धको अभियानमा भूमिगत हुने अवस्थासम्म उनी साहित्यिक-सांस्कृतिक क्षेत्रमा खटिइरहे । त्यो यात्रा अहिले वामपन्थी साहित्यकारहरूको साझा संस्था प्रगतिशील लेखक संघको नेतृत्व-मैदानमा आइसकेको छ । २०६६ जेठ २३ र २४ गते सम्पन्न संघको आठौं राष्ट्रिय सम्मेलनले सर्वसम्मत उनलाई अध्यक्षको जिम्मेवारी सुम्प्यो । यसअघि नै संघको महासचिव र उपाध्यक्षमा रहिसकेका ढकालले ५५ वर्षे इतिहास बोकेको संस्थालाई नयाँ परिस्थितिअनुसार हाँक्ने हिम्मत गरेका छन् ।

उनी एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघअन्तर्गतको अखिल नेपाल लेखक संघमा पनि अध्यक्ष छन् । उस्तै प्रकृतिका दुई संस्था कसरी हाँक्ने हुन् उनले ? ‘म एउटालाई गौण ठान्ने र अर्कोलाई प्राथमिकता दिने गर्दिनँ,’ उनले भने, ‘तैपनि आफू प्रतिबद्ध र संगठित व्यक्ति भएकाले मातृसंस्था (अखिल नेपाल लेखक संघ) को निर्देशनअनुसार चल्ने कुरा हुने भयो ।’ प्रलेसलाई परम्परागतभन्दा बेग्लै ढंगले लैजाने, सिर्जनासम्बन्धी कार्यशाला गोष्ठी गर्ने, सौन्दर्यशास्त्रीय छलफलहरू चलाउने, विचारधारात्मक संघर्ष चलाउने, प्रकाशनलाई निरन्तरता दिनेलगायतका नयाँ योजनाहरू छन् उनीसँग । साझा संस्था भएका कारण कसैले पनि यसलाई मूलथलो नबनाउनाले समस्या र चुनौती पनि उत्तिकै देखेका छन् उनले । छिट्टै बैठक बसेर कार्यक्रमहरू तय गर्ने सुरमा छन् उनी ।

विजय-वियोग
असमयमा बा-आमा गुमाउनुपर्दाको पीडाले घनश्याम ढकाललाई केटाकेटीदेखि नै थप अन्तर्मुखी बनाएको थियो । तर, त्यसभन्दा कयौंगुना बेसी उनको छाती छिया-छिया पार्‍यो छोरो गुमाउनुपर्दाको पीडाले । उनकै प्रेरणाले जनयुद्धमा सामेल भएका छोरा विजय ढकाल गण्डकी क्षेत्रका परिचित युवा राजनीतिकर्मी थिए । पर्वत, स्याङ्जा, रूपन्देही, नवलपरासी, कास्कीलगायतका जिल्लामा विजय ढकाल एउटा लोकपि्रय नाम थियो । युवा विद्यार्थीबीच स्थापित विजय पिता घनश्यामको सपनाका प्रतीक थिए । त्यो समयमा घनश्याम पनि भूमिगत थिए, छोरा विजय पनि भूमिगत । छोराको प्रभावकारी नेतृत्व विकास र विशिष्ट प्रतिभाले घनश्यामलाई भविष्यमाथि थप विश्वस्त बनाएको थियो ।

संघर्ष हो जीवन
जीवन संघर्ष हो

रामेश-रायनको यही गीतजस्तो संघर्षको क्रममा घनश्यामले पनि घर छाडे । भूमिगत अवस्थामा बा अन्त कतै । पार्टीकै काममा छोरा अन्त कतै । घरमा रहेकी श्रीमती पारु र छोरीहरू सिर्जना-बन्दनाले पनि राज्यका अनेका यातना-ताडना बेहोरिरहे । निरन्तरको खानतलासी, निरन्तरको धरपकड, निरन्तरको धम्की । ‘विजय एकातिर थियो, म अर्कोतिर,’ छोरी र श्रीमतीलाई देखाउँदै उनले भने, ‘यिनीहरू एकातिर दुःख खपिरहेका थिए ।’ उनको जीवनको सबैभन्दा रमाइलो र खुसीको क्षण भन्नु दोस्रो युद्धविराममा सबै परिवार एकै ठाउँ भएर बसेको क्षण हो । । त्यसपछि विजय कहिल्यै नभेट्ने गरी गए, न बा-आमासित, न अरू हितैसीसित । ‘त्यो दिनको झल्को अझै आइरहन्छ,’ गहभरि आँसु बनाए उनले । छोराको सम्झना हुँदासाथ उनी अहिले पनि सम्हालिन सक्दैनन्, मन बिथोलिन्छ, गला अबरुद्ध हुन्छ । जीवनमा घरीघरी मन विचलित बनाउने कुनै घटना छ भने त्यो छोराको सहादतकै घटना हो । यी सरल, शिष्ट र मृदुभाषी साहित्यकारका छोरा पनि उस्तै सरल, लगनशील र इमानदार थिए । तर, ०६१ सालको पुस २९ गते कास्की निर्मलपोखरीको साम्मी मैदानमा सरकारी फौजले विजयको निर्ममतापूर्वक हत्या गर्‍यो । कमरेड विजयको जीवन आगोको रातो कोइलोजस्तो भर्भराउँदो थियो । तर, २८ वर्षे जवानको त्यो सम्भावनायुक्त जीवन त्यत्तिकैमा निमोठियो ।

बच्चैदेखि टुहुरे जीवन बाँचेका घनश्यामलाई जीवनका चोटहरूले थप संघर्ष गर्न प्रेरित गर्‍यो । जस्तासुकै घात-प्रतिघातमा पनि उनी हतोत्साही र निराश भएनन् । पुत्र-वियोगको पीडा समन गर्ने उनको उपाय साहित्य-सिर्जनामा थप सक्रिय हुनु थियो । समयले खोसेका खुसी प्राप्त गर्ने उनको उपचारविधि थप बलिदान गर्न अघि सर्नु थियो । उनले त्यसै गरे । विजयको सहादतलाई उनले लेखनको ऊर्जामा रूपान्तरित गरेका छन् । ‘जनयुद्धमा सँगै बसउठ भएका र लामो समय संगत गरेका थुप्रै साथीहरू गुमाउनुपर्‍यो,’ ढकालका आँखा रसाए, ‘सेनजी (कृष्ण सेन इच्छुक) को सहादत हुँदा पनि मेरो जीवनमा ठूलो चोट लागेको थियो । त्यतिवेला अखिल नेपाल जनसांस्कृतिक संघको उहाँ अध्यक्ष हुनुहुन्थ्यो, म उपाध्यक्ष ।’

जीवन अझै विद्यार्थी जीवन
राजनीति र साहित्यको अभिन्न सम्बन्ध हुन्छ भन्ने विश्वासमा बाँचेका ढकालले आफ्नो जीवनको कुनै मूल्यांकन गरेका छैनन् । ‘कति सफल भएँ, कति असफल- मैले केही सोचेकै छैन,’ ढकालले भने, ‘बढी त असन्तुष्टि नै छ, केही गर्न सकिएन भन्ने नै लागिरहेको छ ।’ फुच्चे हुँदा पनि कुनै रहर वा सपना पालेका थिएनन् उनले । ‘मेरो भविष्यमा के बन्ने भन्ने कुनै मेसो नै थिएन, राम्ररी पढ्नुपर्छ भन्ने मात्रै थियो । त्यही भएर संघर्ष गरेर पढियो,’ उनले भने । जीवनमा धेरैलाई विश्वास गरे उनले । र, धेरैबाट धोका पनि पाए । कसकसले के-कस्तो धोका दिए नभने पनि उनलाई आफ्नो कमजोर पक्षचाहिँ त्यही थियो भन्ने लागेको छ- अरूलाई छिट्टै विश्वास गर्ने । ‘जसलाई विश्वास गरेँ, उसैबाट ममाथि उल्टो प्रहार भएको छ,’ पश्चातापको स्वरमा ढकालले भने, ‘अहिले त्यसो नगर्न पर्ने रहेछ भन्ने लागेको छ ।’ आफ्ना जीवनका बलिया पक्षको मूल्यांकनचाहिँ अरूले नै गरिदिऊन् भन्ने चाहना छ उनको ।

साहित्यिक-सांस्कृतिक अभियानमा पूर्णकालीन भएर जनताको मुक्ति आन्दोलन सफल पार्ने ध्याउन्नमा उनी अहिले घर छाडेर कीर्तिपुरको सानो कोठामा डेरावाल जीवन बाँचिरहेका छन् । श्रीमती र कान्छी छोरी बन्दनासँगै बसेका उनले अखिल नेपाल लेखक संघ र प्रगतिशील लेखक संघका कार्यक्रम कीर्तिपुरबाटै भ्याइराखेका छन् । काठमाडौंको जीवन यसै पनि कष्टकर छ । दैनिक पत्रिका हेर्न, पुस्तक खरिद गर्न वा अन्य अध्ययन सामग्री किन्न पनि समस्या छ उनलाई । ‘म त यस्तो विद्यार्थीको जस्तो जीवन पो बाँचेको छु,’ आफ्नै कोठा औंल्याउँदै उनले भने, ‘पत्रिका किन्न पनि गाह्रो छ, एउटैलाई पाँच रुपैयाँ पर्छ ।’ तैपनि बाँच्नका लागि उनी हतियारविहीन छैनन् । भर्खरै प्रकाशित कथासंग्रहमा उनले भनेका छन्, ‘म आस्था, विचार र संघर्षले बाँचेको मान्छे हुँ ।’

(स्रोत : PraLeSh – Dang)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.