धमिलिएको आँखाले ऊ
जलतरङ्ग चल्मलाउँदा
ज्वारभाटा छचल्किँदा
पानी धमिलिएको दृष्य
आँखाभरि सजाउँदै
माछा मार्ने दुःस्वप्न टोलाइरहन्छ ।
सङ्लो पानी त देख्नै सक्दैन ऊ
कञ्चन दह त कल्पना गर्नै सक्दैन ऊ
कुदृष्टिको भ्यागुता
हाम्फालेर स्वयम्
धमिल्याउँछ निर्मल जलाशय
र
माछा मार्ने दुःस्वप्न निदाउँछ ।
उज्यालो उसको सपना हैन
आरोहण उसको चाहना हैन
घामको उज्यालो छेक्छ
जून, ताराको उज्यालो छेक्छ
मान्छेको आँखाको नानीभित्रको
चमक पनि देखिसहँदैन ऊ
ऊ हरेकपटक
‘ब्ल्याक आउट’को प्रतीक्षामा
बस्ती हुँडल्छ अङ्कुशेले
र
अन्धकारको चस्मा भिरेर
तस्करी नाच्छ दिनदहडै
बस्ती–बस्तीमा ।
जब रेटिन्छ
उसको धमिलो सपनाको घाँटी
सङ्लो करौंतीको धारले,
जब उडाइन्छ
उज्यालो बारुदले
उसको अन्धकारभित्रको
अङ्कुशे चाहना
ऊ
खस्छ तस्करीक ाझरनाहरूबाट
रगतका छिर्काहरूसँगै,
तब
उसकै निर्मम हत्याको अभिलाषामा
सारा दुःस्वप्नहरू
निर्मम–निर्मम आत्महत्या गर्छन्
उज्यालो चट्याङ्सँगै ।
समिभञ्ज्याङ्–५, लमजुङ
हालः अध्यक्ष, गजल सन्ध्या, पोखरा
rupindrakatu@gmail.com
(स्रोत : Satakosahitya)