निबन्ध : बेराग पात्रहरु

~रमेश सायन~Ramesh Sayaan

यी हरेक पात्रहरुसँग आ—आफ्नो कथा छ ।

जसको बजारमा माग छैन । पाठक छैनन् र अब दोस्रो संस्करण निस्कनेछैन । बाँच्ने शैली बेरागात्मक छ । विगत सम्झने उत्ति साह्रो फुर्सद छैन । मानांै, ती पात्रहरु हावाले उडाउँदै गरेको कपासको छायाँ हुन् जो अब दोहोरिएर आफै बाँचेको बाटो फर्कनेछैनन् ।

तथापि एकाध पात्रहरुले कतै न कतै मलाई पछ्याइरहेका छन् । जीवनसँग कतै न कतै आएर ठोक्किइरहेका छन् र तिनै पात्रहरुलाई कहिलेकाहीँ Çल्यास ब्याकमा उभ्याएर उनीहरुसँगै उनीहरुकै शैलीमा बेराग बगिरहन्छु ।

दुई वर्षपहिले जीवनसँग थाकेका, प्रगतिमा ओरालो खस्कँदै गरेका एकजना मित्र पूजा पाठ गर्न र देवालय भाकल गर्न थालेका रहेछन् जसले मलाई उनले चिनेका एक ज्योतिषकहाँ साथीको नाताले लिएर गएका थिए । ती मित्रलाई ज्योतिषले “शनिको दसा छ, ग्रहदशाको पाठपूजा गर्नू, शनिबार वरपीपलमा पानी चढाउनू” भनेको थियो । मलाई चाहिँ “जीवन सामान्य छ । कुनै मोडमा तँ जोगी हुन्छस्” भनेको थियो ।

उसै दिनदेखि आजसम्म मेरो जीवन उही गतिमा धकेलिरहेको छ । कतै सङ्गीतको रागजस्तो शैली मिलेको तरङ्ग छैन । भविष्यसँग चिन्ता छैन । आशा गर्ने सपना पनि छैन त्यसैले ज्योतिषले जे भने पनि मेरो जीवनको कुनै कुनामा चिन्ताको दल सरेन । रु.पचास ज्याला तिरेपछि म उसको दैलोबाट बलेंसीमा झरेको थिएँ ।

तीन दिनअगाडि पशुपति जान मन लाग्यो । कारण केही थिएन । मंसिर महिनाको घाम, पशुपतिको भिडभाडमा कसैलाई भाग नलगाई सिङ्गैै तापिरहें जसरी तापिरहेका थिए, स्वर्ग जाने बाटो खोज्न आएका सन्यासी योगीहरु ।

पैतालासम्म खसेको लट्टे दारी । उस्तै आकारको कपाल । पूरै खरानी दलेको खाइलाग्दो ज्यान । योभन्दा अगाडि त्यत्तिको बलियो योगी कहिल्यै देखेको थिइनँ जसले आफ्नो छोप्नुपर्ने एक अंश मात्र छोपेको थियो ।

उसैको छेउमा उभिएँ, नाम र घर सोधँे । योगीहरुसँग सपना हँुदैन । सपना र रहर नभएको मान्छे रिसाउँदैन भन्ने लागेको थियो तर त्यो योगीले मलाई रिसाएर भन्यो, “योगीको नाम, घर, थर, र जात सोध्ने तँ को होस् ।” म उठेर हिँड्न खोजँे । उति नै खेर कुनै विदेशीलाई ‘टेक वीथ मि पिक्चर, वान पिक्चर टु हन्ड्रेड’ भनिरहेको थियो ।

सम्झँे, भरे उसकी स्वस्नीले उसको खल्तिबाट सन्ध्याकालीन आय विवरण खोज्नेछे वा दिनभरि खैरेसँग फोटो खिचाउँदा थाकेको शरीर ठमेलको कुनै मसाज सेन्टरको गेटमा बिसाउनेछ ।

उसको बाँच्ने शैली हो, जसरी बाँचोस् । म अलि पर सरें र रमितेहरुमा थपिएँ ।

पारि लासहरुको लाइन छ । प्रायः आधा डढिसकेका छन् । लासहरुको उमेर फरक छ । नरबहादुरको सेकुवा पसलबाट आउने गन्ध र लासहरुबाट आउने गन्ध एक समानान्तर रेखाजस्तो लाग्छ ।

सबै लासहरुबाट उडेको धुवाँ र फैलिएको गन्ध एकै रङ, उस्तै आकार र गतिमा हावाले बोकेर दगुरिरहेको छ ।

मेरो आँखामा धुवाँको कालो रङ, नाकमा लासको गन्ध र मेरो मथिङ्लमा मभन्दा पचहत्तर वर्ष जेठी र बीस वर्षपहिलेको भोल्टी सर्किनीको अनुहार पौडिरहेको छ । मेरो आँखामा उनका भिराला खेतका गह्राजस्ता गाला र तुषारोको बिहानजस्तो कपाल तैरिरहेको छ जसलाई मेरा बा र हजुरबाले कहिल्यै हाम्रो मझेरीको रङ उनको आँखाको नानीमा पर्न दिएनन् । घरको दलिन उनका औँलाका चक्रले छाम्न दिएनन् । उनी मलाई कान्छा बाजे भन्थिन् । म उनलाई “भोल्टी र तिमी” सम्म भनेर सम्बोधन गर्थंे । जस्तो मलाई सिकाइएको थियो ।

हाम्रो बेंसीमा उनी असार रोपिन्थिन् र मंसिरमा बिस्कुन सुक्थिन् । हरेक साँझ उनी आफ्नो अगेनोमा बल्थिन् कि बल्दिनथिन् मलाई राम्ररी थाहा भएन तर उनी जीवन बोकेर हाम्रो घरमा बेसाहा किन्न आउनेहरुलाई थाङ्ग्रोबाट मकैका झुत्ता ओरालेर कुनै रहर नबोकी बाँचेकी हुन्थिन् ।

मैले आँखाको बराबर बिन्दुमा मेरा हजुरबा र भोल्टी सर्किनीको लास जलिरहेको सम्झिएँ जो यिनै लासहरुभंmंै बराबर गनाइरहेका थिए । अन्तमा दुवै स्वादहीन खरानी भएर सुनकोसीमा बगेका थिए ।

म मेरो हजुरबाको मथिङ्लबाट उम्किएर डिलमा उभिएको छु जहाँ सबैले ओढेको क्षितिज एकै आयतनमा फैलिएको छ ।

धेरै बेरसम्म उनैलाई सम्झिरहें ।

घाट भित्रँदै गरेको एउटा नयाँ लासले ध्यान फेरि लासहरुको लाममा तान्यो । त्यो लासको उमेर मेरो बराबरको हुनुपर्छ । मलामीहरु मेरो एम. ए. कक्षाका सङ्ख्याजति छन् । सबै तन्नेरी छन् । लासको उमेर र मलामीको उमेर प्रायः मिल्छ । रुनेहरुको सङ्ख्य धेरै छैन । एकजना ठूलो स्वरमा धित मर्ने गरी रोइहेको छ । बुभ्mदा उसको बाबु रहेछ । टी.यु. मा एम.एस.सी. पढ्दापढ्दै साइनाइड खाएर आत्महत्या गरेछ ।

ठिक्कै छ । उसको मृत्यु उसको अधिकार, बाँच्न मन लागेन म¥यो । के भयो त ? कसैले कायर भनेर उसको जीवनको स्तर घट्ने छैन अब । आफ्नो जीवनयुद्धमा सहिद भयो । सकियो । आत्महत्या गर्नु कायर हैन बहादुरिता हो । मनले भन्यो ।

तर एक पल्ट मर्नु छ किन साइनाइड खाएछ ? मनमा उसको मृत्युको पछुतो फैैलियो । विचराले मर्नुको आनन्द लिन पाएन । मर्नैपर्ने भए बिस्तारै घाँटीमा ब्लेडले सानो नसा काटेर मृत्युको अनुभव लिईलिई मर्नु राम्रो हो ।

बाग्मती अल्छी मानीमानी बगेको छ । पानीको धर्म बग्नु हो । धर्म निभाइरहेको छ । आज नबग्नुपर्ने भए लेदो त छँदै थियो जमेर बस्ने थियो होला ।

आफ्नो मृत्यु सक्नुअघि घामले मेरो लामो छायाँ धमिलो पानीमा खसाल्यो । आफ्नै उमेर सम्झेँ, २७ वर्ष । कुनै रोग सम्झेँ, केही छैन । मेरो आयु सम्झँे र पारि लासका लाइन हेरें । अब सरासर बाँच्न पाएँ भने ३५ देखि ४० वर्ष । बीचमा आत्महत्या गर्ने योजना छैन तर मृत्युको रहर छ । भयानक पीडादायी मृत्यु जसले मलाई दुःखको जस्तै अनेक अनुभव दिइयोस् । चरम भोक र परकाष्ठा प्यासको पीडाजस्तो अनुभव । हिउँमा खाली खुट्टाको जस्तो पीडा या कसैले यातनास्वरुप बाघको खोरमा हालिदिने खबरजस्तो, जीवनको अनुभव ।

साँझ पर्न लागेको छ । जोगीहरु पातलिइसकेका छन् । बाँदरहरुको चहलपहल घटेको छैन । पशुपतिमा आरती सुरु भएको छ । एक किसिमको सङ्गीत हृदयमा गुन्जियो । यहाँ पनि जीवनको एक आनन्द छ । वैरागीहरुको एक झुन्ड ईश्वरको शरणमा आइपुगेको छ । जहाँ आन्नद छ त्यहाँ ईश्वर हुनुपर्छ । रागमा विलिन यो साँझमा मलाई आनन्द आयो ।

दुई किशोर केटाहरु पानीमा चुम्बकको डल्लो हालेर सिक्का पैसा तानिरहेका छन् । जीवन जसरी पनि बाँचेर सक्नु छ । बाचिरहेका छन् ।

एउटाले अनुहार उज्यालो पारेर खल्तीमा हात हाल्यो । लगातार एक दुईका सिक्का भेटेको हुनुपर्छ । रमाउने अनेक तरिका हुन्छन्, ऊ रमायो । मलाई आनन्द आयो । यी किशोरले कहिल्यै आत्महत्या गरेर जीवन सक्दैनन् । यीसँग ठूलो सपना छैन । जीवनमा स–सानो युद्ध गर्छ र जितिरहन्छ । अघि साइनाइड खाएको लास जलिसकेको छ । मैले जीवनको त्यो सहिदलाई मनमनै सलामी दिएँ ।

म अहिले घर फर्कन लागेको छु । यता टहलिने रहर पुगेको छैन तर घाम टाकुराबाट खसिसकेको छ ।

बाटामा फेरि सम्झँे, मलाई जोगी हुन्छस् भन्ने ज्योतिषीको भग्य कस्तो होला । उसको भविष्यमा कस्ता आरु बखडा फले र चिचिलामा झरे । कुन दिन धुरीमा काग करायो र दिनभरि अशुभको डरले कामिरह्यो होला । मलाई लाग्छ, त्यो ज्योतिषी पनि कहिल्यै आत्महत्या गर्दैन ।

ती मित्र जो जीवनसँग वैरागिएर ज्योतिषिकोमा भविष्य बोकेर पुगेका थिए । उनको जीवनप्रति दया लागेर आयो ।

मलाई गाली गर्ने योगीले दारी र कपालको व्यापार गरेकोमा आनन्द लागेको छ । कम्तिमा एकै जीवन दुई पाटाबाट अनुभव गर्र्न पाएको छ । ऊ जोगी र वेश्यालयको ग्राहक एकैपल्ट हुन सक्छ ।

भोल्टी सर्किनी उनको जीवनमा सधैं गहिरिएर बाँच्न खोजेको छु । आफ्नो जीवन हदैसम्म फिक्का र दिक्दार लाग्छ उनको जीवनको अगाडि ।

त्यो आत्महत्या गरेको लास जसले मलाई मृत्युमा पीडाको रहर जगाइरहेको छ ।

बाग्मतीमा पैसाका सिक्का खोज्ने किशोर जसले जीवनसँग स–साना युद्ध गरेकोमा मेरो जीवनसँग मिलेजस्तो लागिरहेको छ ।

म घर फर्कि रहेको छु । गौशाला चोकमा आइपुग्दा धेरै ठाउँमा चर्किए । जीवनसँग राग नमिलेका यी अनेक पात्रहरुसँग म पनि थपिएँः

भविष्यसँग कापिरहेको मित्र

त्यो ज्योतिषि

त्यो योगी

मेरा हजुरबा

भोल्टी सर्किनी

त्यो लास

ती केटाकेटी

पशुपतिमा बजेको आरतीको राग

मैले बाँचेको मेरो आफ्नै जीवन

एक झुण्ड एक बेराग सङ्गीत बदलियो

rashayan@hotmail.com

(स्रोत : सम्मोहन साहित्यिक पत्रिका)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.